स्थानीयलाई जलविद्युत्मा लगानीको अवसर

1098

फाल्गुन २१, २०७५
म्याग्दीम्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले स्थानीयलाई लगानीको अवसर सिर्जना गरेको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाइड्रो लिमिटेड कम्पनीले शनिबार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभागी सरोकारवालाले स्थानीयको लगानीले आयोजना भरपर्दो हुने बताएका हुन् ।

गण्डकी प्रदेशका सांसद विनोद केसीले आयोजनाले यस क्षेत्रका जनतालाई लगानी र रोजगारीको अवसर सिर्जना गरेको बताए । “गण्डकी प्रदेश सरकारले जलविद्युत् र पर्यटनलाई उच्च प्राथमिकता दिएको छ, आयोजनामा आइपर्ने समस्यालाई हल गर्न र प्रक्रियागत झण्झटलाई हटाउन निरन्तर ताकेता गरिरहेका छौँ,” सांसद केसीले भने । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीमा रहेका म्याग्दी, कालिगण्डकी र रघुगंगा करिडोरसँगै अन्य खोलानालाबाट विद्युत् उत्पादनको उच्च सम्भावना रहेको बताए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष विनोद कुँवरले विदेशमा रहेका म्याग्देली र नेपालीले आर्जन गरेको पुँजी र सीपलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले जलविद्युत् आयोजना निर्माण सुरु गरेको बताएका थिए ।
कम्पनीका प्रबन्ध निर्देशक हर्कमान घर्तीमगरले आगामी साढे ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको आयोजना निर्माणमा ५ अर्ब १५ करोड लागत अनुमान गरिएको जानकारी दिए । ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण गरिने तयारी छ ।

आयोजनामा सानिमा बैँकको अगुवाइमा प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी, मुक्तिनाथ र ओम डेभलपमेन्ट बैँकसँग वित्तीय व्यवस्थापनको लागि सम्झौता भइसकेको छ । आयोजनाले दरबाङको छेरछेरमा साइट कार्यालय निर्माण गरिरहेको छ ।

मालिका गाउँपालिका–७ बिम, वडा नम्बर ५ देवीस्थान र धौलागिरि गाउँपालिका–७ को धारापानीको सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने सो आयोजनाको साढे ५ किमि सुरुङमार्ग रहनेछ ।

 

स्रोत:कारोबार