भारतबाट थप ८० मेगावाट बिजुली आयात गरिने – कुसाह-दुहबी प्रसारणलाइनको काम छ महिनामा सक्ने तयारी

    2599

    काठमाडौं, २० भदौ – नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप ८० मेगावाट बिजुली आयात गर्न कुसाहदेखि कटैयासम्म प्रसारणलाइन निर्माण काम थाल्ने भएको छ ।
    विद्युत् प्राधिकरणको बिहीबार बसेको सञ्चालक समिति बैठकले आगामी छ महिनामा कुसाहदेखि दुहबीको १२ किलोमिटर लामो १३२ केभी प्रसारणलाइन बनाइ विद्युत् आयातको योजना स्वीकृत गर्न र तत्काल बोलपत्रको प्रक्रिया थाल्न व्यवस्थापनलाई निर्देशन दिएको छ ।
    सञ्चालक समितिले निर्देशन दिएकाले विद्युत् प्राधिकरणले एक–दुई दिनभित्र यसका लागि बोलपत्र आह्वान गर्दैछ । यो प्रसारणलाइन बनाउन ३३ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । प्रसारणलाइनको काम तत्काल थाल्न प्रक्रिया अघि बढेको ऊर्जा सचिव हरिराम कोइरालाले बताए । नेपालस्थित भारतीय दुताबाससँग छलफल भइरहेको बताउँदै उनले भने, “एक–दुई दिनमा निर्णय हुनेछ ।” यो वर्ष भारतबाट थप बिजुली आयात गरी लोडसेडिङ कम गर्ने सरकारको योजना रहेको बताउँदै उनले यो प्रसारणलाइन समयमै सम्पन्न गरिने बताए ।
    बुधबार सचिव कोइराला र भारतीय दूतावासका इकोनोमिक कन्सुलर अन्जु रन्जनबीच प्रसारणलाइन बनाउने विषयमा छलफल भएको छ । भारतले यसमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
    बोलपत्र प्रक्रियाबाट ढिलाइ हुने स्थिति आए सीधै मन्त्रिपरिषद्बाट कम्पनीको छनोट निर्माण प्रक्रिया अघि बढाइने मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार भारतको पावर ग्रीड कर्पोरेसनले पनि दु्रतमार्गबाट छ महिनामा यो प्रसारणलाइन बनाउन सकिने जानकारी गराएको छ । सरकारका तर्फबाट जग्गा प्राप्ति र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन(आईइ) को काममा सहजीकरण गरे छ महिनाबाट बिजुली आयात गर्ने सकिने उनको भनाइ छ ।
    विद्युत् प्राधिकरण र पावर ट्रेडिङ अफ इन्डिया लिमिटेड(पीटीसी) बीच १ सय ५० मेगावाट बिजुली खरिद सम्झौता भइसकेकाले सो प्रसारणलाइन बने भारतबाट थप बिजुली आयात हुने ऊर्जाका अधिकारी बताउँछन् ।
    गत वर्ष नै यो प्रसारणलाइन बनाउन प्रस्ताव तयार गरी थप सहयोगका लागि नेपालस्थित भारतीय राजदूतावासमार्फत त्यहाँको ऊर्जा मन्त्रालयमा पेस भइसकेको थियो । त्यसबेला यसको सट्टा ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारणललाई जोड दिनुपर्ने कुरा उठेपछि स्थगन भएको थियो । यो वर्ष ऊर्जा संकट अझ बढ्ने संकेत पाएपछि नेपालले फेरि यो प्रसारणलाइन निर्माणको पहल थालेको हो ।
    विद्युत् प्राधिकरणले आगामी हिउँदमा दैनिक २१ घण्टासम्म लोडसेडिङ हुन सक्ने प्रक्षेपण गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराइले यसलाई लाई १२ घण्टामा कायम राख्न कार्ययोजना ल्याउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिइसकेका छन् । मन्त्रालयले कार्ययोजना समेत तयार गरिरहेको छ । कार्ययोजनाअनुसार लोडसेडिङ कम गर्न थप ८ अर्ब रुपैयाँ लगानी आवश्यक भएको बताइएको छ ।
    हाल भारतबाट ८० मेगावाट बिजुली आयात गरिरहेको छ । गत हिउँदमा विभिन्न नाकाहरूबाट १ सय ४५ मेगाबाटसम्म बिजुली आयात भएको छ । दुहवी–कटैयाँ १३२ केभी प्रसारणलाइनबाट ७५ मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।
    सरकारले भारतबाट थप बिजुली आयात, थर्मलप्लाट सञ्चालन र विद्युत् चुहावट घटाएर आगामी हिउँदमा लोडसेडिङ दैनिक १२ घण्टामा राख्ने तयारी गरेको छ । सरकारले भारतबाट १ सय मेगावाट थप बिजुली आयात गर्ने, विराटनगर र हेटौंडाको थर्मलप्लान्ट पूर्ण क्षमतामा सञ्चालन र ३ प्रतिशत चुहावट घटाएर लोडसेडिङ गत वर्षको हारहारीमा राख्ने लक्ष्य लिएको हो ।
    गत हिउँदमा विद्युत् प्राधिकरणले भारतबाट १ सय ४५ मेगावाटसम्म बिजुली आयात गरेको थियो । प्राधिकरणले यो वर्ष भारतबाट ३५ करोड युनिट बिजुली थप आयात गरेर १ अर्ब ५ करोड युनिट पु¥याउने तयारी गरेको छ ।
    बर्सेनि विद्युत्को माग ८० मेगावाटका दरले बढ्ने गरेको छ । राष्ट्रिय प्रसारण प्रणालीमा अघिल्लो वर्ष ४, गत वर्ष ८ मेगावाट मात्र विद्युत् थप भएको छ । यो वर्ष ४० मेगावाट विद्युत् थप हुने ऊर्जा मन्त्रालयले जनाएको छ । सरकारले हालसम्म १६ हजार ३ सय मेगावाट क्षमताको आयोजनाहरूको सर्वेक्षण लाइसेन्स जारी गरिसकेको छ । विद्युत् प्राधिकरणका अनुसार यो वर्ष बिजुलीको माग बढेर १ हजार १ सय ६३ मेगावाट पुग्नेछ ।

    प्रस्तुति:  कारोबार