राधी विद्युत् कम्पनी लिमिटेडद्वारा स्थानीयका लागि शेयर आह्वान

    1103

    १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजना निर्माण शुरू

     क्लिन इनर्जी डेभलपमेण्ट बैङ्कद्वारा प्रवर्द्धित सीईडीबी हाइड्रो फण्ड लिमिटेडको सहायक कम्पनी राधी विद्युत् कम्पनी लिमिटेडले लगानी गरेको १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाले निर्माण थालेको छ । यसअघि राधी विद्युत् कम्पनी लिमिटेडले राधी जलविद्युत् आयोजना (४.४ मेगावाट) निर्माण गरिसकेको छ । लमजुङमा अवस्थित सो आयोजनाको निर्माण लागत १३ करोड ७ लाख प्रतिमेगावाट रहेको छ । सो आयोजना निर्माण गर्न २० महीना लागेको बताइएको छ । आईसीआरए रेटिङमार्फत ३ ग्रेड पाएको सो आयोजनाले आयोजना प्रभावित बासिन्दाका लागि  शेयर आह्वान गरेको कम्पनीका अध्यक्ष विनयकुमार भण्डारीले जानकारी दिए ।

    निर्माणको क्रममा रहेको १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजनालाई लमजुङ विद्युत् विकास कम्पनी लिमिटेड र सीईडीबी हाइड्रो फण्ड लिमिटेडले प्रवद्र्धन गरेको छ । लमजुङको दोर्दी खोलामा अवस्थित सो आयोजनाले ऊर्जा मन्त्रालयबाट उत्पादन अनुमतिपत्र लिइसकेको छ । आयोजनाले प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृति पाइसकेको र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद सम्झौता (पीपीए) पनि गरिसकेको कम्पनीका अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार सुक्खायामका लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायामका लागि ४ रुपैयाँ ८० पैसा पाउने गरी सम्झौता भएको हो । आयोजनाको ३.५ किमी प्रसारण लाइन कीर्तिपुरको १३२ केभी सबस्टेशनमा लगेर जोडिने भएको छ ।

    यस आयोजनाका लागि सानिमा बैङ्क लि. को अगुवाइमा लक्ष्मी बैङ्क लि., कृषि विकास बैङ्क लि., कैलाश विकास बैङ्क लि. र यति विकास बैङ्क लि. सँग ऋण सम्झौता भइसकेको पनि अध्यक्ष भण्डारीले बताए । आयोजनाका लागि आवश्यक जग्गा खरीदका साथै आयोजना स्थलसम्मको लागि बाटो पुर्‍याइसकेको छ । आयोजनाले आवास गृहको निर्माण पनि गरिसकेको छ ।

    कम्पनीका अध्यक्ष भण्डारीका अनुसार निर्माण कार्यका लागि टेण्डर आह्वान भइसकेको छ र आयोजनाका लागि २.५ किमी सुरुङ र ६६५ मी. पाइप जडान गरिनेछ । सोही सुरुङबाट धेरै पानी प्रवाह गर्न सकिने हुँदा यो आयोजनाबाट २२ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । आयोजनाले आगामी असारदेखि सुरुङको कार्य शुरू गर्ने र २०७६ मङ्सिरसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    राधी विद्युत् कम्पनी लिमिटेड, लमजुङ विद्युत् विकास कम्पनी लि. र सीईडीबी हाइड्रो फण्डको लगानी रहेको दोर्दी–१ जलविद्युत् आयोजनाले हाल साना लगानीकर्ताहरूबाट पनि लगानी जुटाइरहेको छ । आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्तालाई लगानी गर्न खुल्ला रहेको भण्डारीले जानकारी दिए । कम्पनीले निर्माण अवधिमै प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने पनि उल्लेख गरेको छ ।

    स्रोत:अभियान