नलसिंहगाडका कार्यकारी निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

    1242

    कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध अख्तियार विशेष अदालतमा
    नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग आयोगले आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । परामर्शदाता छनोटको प्रतिस्पर्धामा २७ करोड २४ लाख ५४ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

    प्रतिस्पर्धामा रहेका स्मेक इन्टरनेसनल प्रालि अस्ट्रेलियालाई जानीजानी १.२५ अंक धेरै दिएर परामर्शदता नियुक्त गरिएको अख्तियारको ठहर छ । छनोटका क्रममा अर्को प्रतिस्पर्धी एएफसी–एचसिइएनइएसएसलाई पाउनुपर्नेभन्दा १.५६७ अंक कम दिएको अख्तियारले उल्लेख गरेको छ । छनोट समितिले अन्तिम मूल्यांकन गर्दा स्मेकलाई धेरै अंक दिएको पनि अख्तियारले जनाएको छ ।

    अख्तियारले कुँवरसहित तत्कालीन सिनिएर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईं, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत् विकास विभागका तत्कालीन कानुन अधिकृत राजेकुमार थापा र स्मेकका आधिकारिक प्रतिनिधि उदीपलाल श्रेष्ठविरुद्ध १३ करोड ६२ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैदको मागदाबी गरेको छ ।

    नलसिंहगाडको परामर्शदाता छनोटमा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले पनि अनुसन्धान गरिरहेको छ । लेखा समितिले सांसद मीना पुनको संयोजकत्वमा छानबिन समति नै बनाएर त्यसको अध्ययन गरिरहेको हो ।

    चार सय १० मेगावाटको आयोजनाको डिपिआर तयार गर्न स्मेकले १ अर्ब १९ करोड रुपैयाँ प्रस्ताव गरेको थियो भने प्रतिस्पर्धी एएफसी–एचसिइएनइएसएसले ८६ करोड ६५ लाख रुपैयाँ प्रस्ताव गरेको थियो । ३३ करोड २५ लाख रुपैयाँ कम कबोल गर्ने कम्पनीको साटो धेरै रकम प्रस्ताव गर्नेलाई परामर्शतादा छनोट गरिएको भन्दै लेखाले अध्ययन अघि बढाएको हो ।

    स्रोत:नयाँपत्रीका