ठूला आयोजना कम्पनी मोडेलमा

    1011

    काठमाडौः नेपाल विद्युत् प्राधिकरणले कम्पनी मोडेलमा जलविद्युत् आयोजनाहरूको निर्माण कार्य अघि बढाएको छ ।

    सर्वसाधारणको समेत सहभागितामा चिलिमे जलविद्युत् आयोजना सफल भएपछि यही मोडेललाई नमूना रूपमा लिएर प्राधिकरणले आठ कम्पनी गठन गरी आयोजना निर्माणको काम अघि बढाएको हो ।

    चिलिमे मोडेल स्थापित गर्न प्रमुख भूमिका खेलेकामध्ये एक कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि उनले २ हजार ६४ मेगावाटका आठ जलविद्युत् आयोजना कम्पनी मोडेलमा अघि बढाएका हुन् ।

    प्राधिकरणले ती आठ आयोजना निर्माणका लागि कम्पनी रजिष्ट्रार कार्यालयमा सबै कम्पनीहरू दर्ता गरिसकेको जनाएको छ । प्राधिकरण आफंैले निर्माण अघि बढाएका ६० मेगावाटका त्रिशुली ३ ए, ३० मेगावाटको चमेलिया, १४ मेगावाटको कुलेखानी तेस्रोको लागत र समय दोब्बरभन्दा बढी लागेर समस्या भोगिरहेको बेला दु्रतगतिमा निर्णय र निर्माण हुनसक्ने कारण प्राधिकरणले कम्पनी मोडेलमा ठूला आयोजनाहरूसमेत अघि बढाउन लागेको छ । “ठूला आयोजनाहरू विद्युत् प्राधिकरणले अघि बढाउन लागेको छ, लोडसेडिडलाई घटाएसँगै प्राधिकरणको ध्यान उत्पादनतिर केन्द्रित भएको छ,” घिसिङले भने ।

    प्राधिकरणका अनुसार ३३५ मेगावाटको माथिल्लो अरुण अघि बढाउनका लागि अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी दर्ता भएको छ । यस्तै, ४० मेगावाटको राहुघाट अघि बढाउन रघुगंगा, ७७२ मेगावाटको तमोरका लागि तमोर, ३०० मेगावाटको लागि उत्तरगंगा र ३०० मेगावाटकै दूधकोसी अघि बढाउन दूधकोसी हाइड्रोइलेक्ट्रिक कम्पनी दर्ता गरिएको छ ।

    यस्तै, १८० मेगावाटको आँधीखोला, ८७ मेगावाटको तामाकोसी पाँचांै अघि बढाउन तामाकोसी तथा ४२ र १८ मेगावाटका दुई मोदी जलविद्युत् आयोजना अघि बढाउन मोदी हाइड्रो इलेक्ट्रिक कम्पनी दर्ता गरिएको छ ।

    दर्ता गरिएकामध्ये अधिकांश प्राधिकरणको अध्ययन चरणमा छन् । तमोरको क्षमता ७६२ मेगावाट भएपनि विद्युत् विकास विभागले २ सय मेगावाटको मात्र अनुमतिपत्र दिएको छ ।

    कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका ती कम्पनीहरूमा सञ्चालक समिति नियुक्तिका साथै प्रमुख कार्यकारी अधिकृत वा महाप्रवन्धक नियुक्ति गरेर आयोजना निर्माणको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ ।

    स्रोत:कारोबार