सौर्यबाट ५० मेवा विद्युत् उत्पादन गरिँदै

    4373

    असोज २१, काठमाडौं ।

    solar panelsरिपुमर्दिनी पावर प्रालिले १२ अर्ब ५० करोड रुपैयाँको लागतमा सौर्यप्रणालीबाट विद्युत् उत्पादन गर्ने भएको छ । काभ्रेको कुशादेवी क्षेत्रमा निर्माण गर्न लागिएको सो सौर्यप्रणालीबाट ५० मेगावाट विद्युत् उत्पादन हुने कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अभियानलाई बताए । उनले भने, ‘आयोजनामा स्वदेशीका साथै विदेशी लगानी पनि रहनेछ ।’

    कम्पनीले कुशादेवी क्षेत्रमा सोलार प्यानल राख्ने र त्यसबाट उत्पादित विद्युत् १० किलोमिटर पश्चिममा पर्ने भक्तपुरको सबस्टेशनमा जोड्ने बताएको छ । कम्पनीका अनुसार सौर्यप्रणाली निर्माणका लागि १ हजार २ सय ५० रोपनी निजी तथा सार्वजनिक जग्गा लिजमा लिइने छ । उनले भने, ‘केही जग्गा लिजमा लिइसकिएको छ ।’ सौर्यप्रणाली निर्माणका लागि अमेरिकी, कोरियाली र चिनियाँ कम्पनी इच्छुक देखिएका छन् । उनले अमेरिकी एक कम्पनी र रिपुमर्दिनी कम्पनीबीच निर्माणका लागि एमओयु (मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ) भइसकेको छ ।’

    विद्युत् खरीद सम्झौता (पीपीए) भएको ३ महीनाभित्र विद्युत् उत्पादन गरिसकिने आचार्यले बताए । ‘उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई प्रतियुनिट १०/११ रुपैयाँमा खरीद गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘तर, प्राधिकरणले अनौपचारिक रूपमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसासम्ममा खरीद गर्न सकिने जानकारी दिएको छ ।’

    सौर्यप्रणालीबाट उत्पादित विद्युत् सरकारले के कति दरमा खरीद गर्ने भन्नेसम्बन्धमा स्पष्ट नीतिको अभाव रहेको विज्ञहरू बताउँछन् । यसअघि प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बीच सौर्यप्रणालीबाट उत्पादित विद्युत् प्रतियुनिट ५ रुपैयाँ १० पैसामा खरीद गर्ने सहमति भएको थियो । प्राधिकरण व्यापार विभागका निर्देशक शेरसिंह भाटका अनुसार ‘नेपालमा सौर्यप्रणालीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जडान गर्नका लागि खरीद सम्झौता भएको त्यो नै पहिलो हो ।’ केयूकेएलले निर्माण गरेको ललितपुरको सुन्दरीघाटमा रहेको सौर्यप्रणालीबाट ६ सय ८० दशमलव ४० किलोवाट विद्युत् उत्पादन हुँदै आएको छ ।

    निश्चित उद्देश्यका लागि केयूकेएलले सौर्यप्रणालीबाट विद्युत् उत्पादन गर्न थालेको थियो । केयूकेएलले काठमाडौं उपत्यकामा लोडशेडिङ भएको समयमा खानेपानी आपूर्ति गर्न सो सौर्यप्रणाली जडान गरेको हो । सो सौर्यप्रणालीबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

    कुशादेवीमा निर्माण हुने सो सौर्यप्रणालीबाट उत्पादित विद्युत् औद्योगिक क्षेत्रमा खपत गर्ने लक्ष्य राखिएको छ । ‘औद्योगिक क्षेत्रमा स्थापित उद्योगहरू प्रतियुनिट १४/१५ रुपैयाँमा खरीद गर्न मञ्जुर देखिएका छन्,’ उनले भने, ‘ती उद्योगलाई लक्षित गरेर विद्युत् उत्पादन गर्न लागिएको हो ।’ जेनेरेटरबाट उत्पादित विद्युत् महँगो पर्ने भएकाले पनि उद्योगीहरू सौर्यप्रणालीप्रति आकर्षित देखिएका छन् । ‘जेनेरेटरबाट उत्पादित विद्युत् प्रतियुनिट ३०/३१ रुपैयाँ पर्छ,’ एक उद्योगीले भने, ‘आधाभन्दा कम मूल्यमा विद्युत् उपयोग गर्न पाउनु खुशीको विषय हो ।’ अमेरिकाको सिकागो विमानस्थल वरिपरि सोलार प्यानल राखेर विद्युत् उत्पादन गरेको देखेर नेपालमा पनि त्यसको अनुसरण गर्न लागेको आचार्यले बताए ।

    Source : Abhiyan