४२ मेवाको जलविद्युत्मा एनआरएनको लगानी

    2406

    एनआरएन कोषमा १ अर्ब

    माघ २९, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) सङ्घले ४२ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । हाल सो परियोजनाको लगानी छलफलको अन्तिम चरणमा रहेको र निकट भविष्यमै त्यसको विवरण सार्वजनिक गरिने एनआरएन बेलायतका अध्यक्ष कुल आचार्यले जानकारी दिए । सोमवार राजधानीमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थसंवादमा बोल्दै आचार्यले सो जानकारी दिएका हुन् । मुलुकले चरम लोडशेडिङ भोग्दै आइरहेका बेला जलविद्युत्को विकासमा एनआरएनको पनि उत्तिकै चासो रहेको उनले बताए । परियोजना छनोटका लागि आफुहरूले नेपाल उद्योग वाणिज्य महासङ्घसँग सहकार्य गरिरहेको आचार्यको भनाइ थियो ।

    त्यसैगरी गतवर्ष काठमाडौंमा सम्पन्न एनआरएनहरूको विश्व सम्मेलनले स्थापना गर्ने घोषणा गरेको एनआरएन इन्भेष्टमेण्ट कम्पनीमा हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी जम्मा भइसकेको उनले जानकारी दिए । ‘अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको सो कम्पनी नेपालमा दर्ता भइसकेको छ भने त्यसमा माघ महीनासम्ममा ७ सय ५३ जनाले लगानी गरिसकेका छन्,’ उनले भने । एनआरएनले सञ्चालन गर्ने भनेको सामूहिक लगानी कोष भने कुरा नमिलेर दर्ता प्रक्रियामै अल्झिएको छ । यी दुवै परियोजना एनआरएनका पहिलो प्रयास हुन् । बैङ्किङ र जलविद्युत् सँगसँगै एनआरएनहरूले अहिले पूर्वाधारमा लगानी गर्न चाहेको आचार्यको भनाइ थियो । ‘त्यसैले धेरै एनआरएन काठमाडौं–हेटौंडा सुरुङमार्गमा लगानी गर्न इच्छुक छन्,’ उनले भने ।

    एनआरएनले लगानीभन्दा बढी सामाजिक सेवामा काम गरेको आचार्यका साथै एनआरएन बेलायतका सल्लाहकार पशुपति भण्डारी, एनआरएन जापानका राजु ढकाललगायतको भनाइ थियो । ‘३ करोड १६ लाख रुपैयाँ त एनआरएन सोसल वेल्फेयर खाताबाट गएको छ,’ आचार्यले भने ।

    पोखरास्थित सहारा एकेडेमीका लागि बेलायतबाट ठूलो सहयोग आएको उनको भनाइ थियो । त्यसैगरी गुल्मी र म्याग्दी जिल्लामा एम्बुलेन्स, अपाङ्गलाई सहयोग, जुम्लामा प्रसूतिगृह निर्माण आदिमा एनआरएनले लगानी गरेको उनले जानकारी दिए । खासगरी एनआरएनले आफ्नो गाउँठाउँ, आफुले पढेको विद्यालयलगायतलाई उल्लेखनीय सहयोग गरेको आचार्यले बताए । कार्यक्रम सेजन अध्यक्ष प्रदीप चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रस्तुति: अभियान