सुपर दोर्दी ‘ख’ मा लगानी गर्न लमजुङवासीलाई आग्रह

    3399

    ” स्थानीय तहमा २४ करोडको सेयर दिइने “

    super-dordi-kholaलमजुङ, १३ चैत – पूर्वी लमजुङको ढोडेनी र फलेनी गाउँ विकास समितिमा निर्माणको तयारीमा रहेको ४९.६ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले लमजुङवासीलाई लगानी गर्न आग्रह गरेको छ ।
    आयोजनाले सदरमुकाम बेसीसहरमा स्थानीयवासीको सेयर लगानी विषयक अन्तरक्रिया कार्यक्रम गरी सबै लमजुङवासीहरूमा यस्तो आग्रह गरेको हो ।
    आयोजनाले कम्तीमा १० प्रतिशत रकम लमजुङवासीले सेयरमार्फत लगानी गर्न दिने जनाएको छ । जिल्लावासीले लगानी समेट्न इजनकुमार बरालको नेतृत्वमा सुपरदोर्दी इन्भेस्टमेन्ट कम्पनी स्थापना गरिएको छ । लमजुङका स्थानीयले कुनै पनि आयोजनाले २० प्रतिशतसम्म लगानी गर्न दिनुपर्ने प्रावधान रहे पनि यो आयोजनाले भने जिल्लावासीलाई १० प्रतिशत अर्थात् २४ करोडसम्म लगानी गर्न सक्ने व्यवस्था मिलाएको छ । आयोजनाले आयोजना स्थल ढोडेनी र फलेनीका नागरिकलाई कम्तीमा ३५ हजारसम्म र अन्य क्षेत्रका नागरिकलाई १ लाख देखि माथि लगानी गर्न सकिने व्यवस्था मिलाएको छ । स्थानीयले चार वर्षसम्ममा किस्ताबन्दी रूपमा लगानी गर्न पाउने व्यवस्था मिलाइएको सुपरदोर्दी इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष इजनकुमार बरालले जानकारी दिए ।
    आयोजना निर्माणपक्ष पिपुल्स हाइड्रोपावर कम्पनी अहिले पीपीएको तयारीमा छ । नेपाल विद्युत् प्राधिकरणले औसत ५ रुपैयाँ ३७ पैसा दिने भने पनि कम्पनीले ५ रुपैयाँ ७२ पैसामा गरिदिन दाबी गरेपछि पीपीएमा ढिलाइ भइरहेको छ ।
    आगामी असारमा पीपीए गर्ने गरी तयारी तीव्र भइरहेको निर्माण कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक केशरबहादुर रायमाझीले कारोबारलाई बताए ।
    रायमाझीले हालसम्म आयोजनाको फिजिबिलिटी रिपोर्ट, प्रारम्भिक वातावरणीय परिक्षण, प्राधिकरणसँग ग्रिड कनेक्सनमा सम्झौतालगायतका कामहरू भइसकेको बताए । उनले आगामी जेठदेखि निर्माणको काम सुरु गर्ने बताएका छन् ।
    आयोजना निर्माण सम्पन्न भएको ३ वर्ष विद्युत् उत्पादनको लक्ष्य छ ।  बाँधस्थल, विद्युतगृहलगायतका स्थानसम्म जान सडक निर्माण जग्गा खरिदलगायतका कार्यहरू भइहेको आयोजनाका अध्यक्ष उदय नेपाली श्रेष्ठले बताए । आयोजना २०७४ सालको कात्तिकमा सम्पन्न गरिसक्ने आयोजनाले दाबी गरेको छ ।
    पूर्वी लमजुङको ढोडेनी र फलेनी गाविसको बीचबाट बग्ने दोर्दी खोलाको पानीलाई प्रोमु खोलानजिकै बाँध बाँधेर झन्डै ४ हजार ८ सय मिटर लामो सुरुङमार्फत ताँजे गाउँको फेदीमा रहेको लोदो र दोर्दी खोलाको दोभानमा विद्युतगृह निर्माण गरिने जनाइएको छ ।
    रन अफ द रिभर प्रविधिको यो आयोजनाबाट वार्षिक २८ करोड ९४ लाख ६५ हजार युनिट विद्युत् उत्पादन हुनेछ ।
    झन्डै ७ अर्बको स्वदेशी लगानीमा निर्माण गरिन लागेको यो आयोजनाले विद्युत् उत्पादनपश्चात् दिने प्रतिफल सोचेअनुरूपको आकर्षक हुने प्रबन्ध सञ्चालक रायमाझीले बताएका छन् । आयोजनाले लमजुङका सर्वसाधारण, पेसाकर्मी, तथा उद्योगीलगायतलाई निडरका साथ लगानी गर्न समेत आग्रह गरेको छ ।
    आयोजनामा निर्माण कम्पनी पिपुल्स हाइड्रोपावरको ६० प्रतिशत, मर्चेन्ट इन्भेस्टमेन्ट कम्पनीको ३० प्रतिशत र स्थानीयवासी एवं जिल्लावासीको १० प्रतिशत सेयर रहनेछ । लमजुङमा स्थानीयवासीलाई ठूला जलविद्युत् आयोजनाहरूमा लगानी गर्न अवसर प्रदान गरेको यो पहिलो पटक हो ।

    प्रस्तुति: कारोबार