पाँचथरमा बन्दै ठूला विद्युत् आयोजना

    1118

    जिल्लामा ठूलो लगानीमा हाल पाँच आयोजनामध्ये तीन आयोजना निर्माणका चरणमा छन् । हेवा ‘ए’ आयोजना परीक्षण उत्पादनको चरणमा पुगेको छ । त्यसबाहेक माउन्टेन हाइड्रो नेपालको लगानीमा हेवा ‘बी’ आयोजना, काबेली इनर्जीको लगानीमा काबेली ‘ए’ आयोजना, अरुण काबेली पावरको लगानीमा काबेली ‘बी’ एक आयोजना र हाल सञ्चालनमा रहेको खोरंगाखोला जलविद्युत् आयोजना पाँचथरका ठूला आयोजनामध्येका हुन् ।

    सबै आयोजना १५ मेगावाटभन्दा माथिका

    आयोजनामध्ये खोरंगाखोला जलविद्युत् आयोजनाबाहेक सबै १५ मेगावाट क्षमताभन्दा माथिका आयोजना हुन् । जिल्लामा सञ्चालनमा रहेका ठूला पाँच आयोजना पूरा हुँदा एक सय मेगावाट विद्युत् उत्पादन हुनेछ । यद्यपि निर्माण गरिएका आयोजना भने घाटामा सञ्चालन भइरहेको सञ्चालक बताउँछन् । काबेली खोलाका दुई आयोजना निर्माणकै चरणमा रहेकाले कति घाटा भएको छ, यकिन गर्न नसकिने उनीहरूको भनाइ छ । जिल्लाका दुई आयोजना करिब ४० करोड घाटामा रहेको अनुमान गरिएको छ ।

    निर्धारित समयमा नबनेपछि थप लागत

    निर्माणको अन्तिम चरणमा रहेको फिदिमस्थित हेवा ‘ए’ आयोजना १४ दशमल ९ मेगावाट क्षमताको हो । सानिमा बैंकको नेतृत्वमा ११ वटा बैंकले लगानी गरेको आयोजनाको कुल लागत २ अर्ब २४ करोड अनुमान गरिएको थियो । तर, निर्धारित समयमा सम्पन्न हुन नसक्दा लगानी थप भएको आयोजना प्रमुख पुष्पज्योति ढुंगानाले जानकारी दिए । ‘निर्धारित समयमै काम नभए पनि अहिले आयोजनाको ९९ प्रतिशत काम पूरा भएको छ,’ उनले भने, ‘सोही कारण आयोजनामा करिब २० करोड रकम थप भएको छ ।’ आयोजना पूरा हुँदासम्म व्यवस्थापनले करिब २० करोड घाटा हुने अनुमान गरेको छ ।

    भूकम्प र नाकाबन्दीले आयोजना प्रभावित

    गत वर्ष गएको भूकम्प, त्यसपछिको लामो समयसम्मको नाकाबन्दी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको अवरोधका कारण आयोजना घाटामा पुगेको हो । सोही खोलामा निर्माण चरणमा रहेको तल्लो हेवा खोला जलविद्युत आयोजना पनि घाटमा जाने देखिएको छ । आयोजनालाई पनि करिब २० करोड घाटा लागेको निर्माण कम्पनीले बताएको छ । आयोजना निर्माण कम्पनी माउन्टेन हाइड्रो प्रालि नेपालका अध्यक्ष सीताराम तिम्सिनाका अनुसार भूकम्प र त्यसपछिको सयौँ पराकम्पनका कारण आयोजनाको काम प्रभावित बनेको हो । आयोजनामा घाटा हुनुमा पेट्रोलियम संकट पनि मुख्य रहेको व्यवस्थापन पक्षको भनाइ छ ।

    आपूर्ति अवरुद्ध हुँदा निर्माण अवरुद्ध

    नाकाबन्दीले पेट्रोलियमसँगै अन्य आवश्यक सामग्री आपूर्ति अवरुद्ध भएपछि गत वर्षको भदौदेखि बन्द आयोजनाको काम फागुनदेखि मात्र सुचारु भएको थियो । विभिन्न माग राखी स्थानीयले गरेको अवरोधका कारण पनि करोडौँ घाटा व्यहोर्नुपरेको निर्माण कम्पनीको भनाइ छ । ०७१ मंसिरदेखि सुरु भएको आयोजनाको काम दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । हाल पाँच हजार तीन सय मिटर टनेलमध्ये चार हजार मिटर निर्माण भइसकेको छ । बाँध निर्माण ५० प्रतिशत सकिएको छ । अबको नौ महिनाभित्र पावर हाउस निर्माण सम्पन्न हुनेछ । काममा कुनै अवरोध नआए त्यसको दुई महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ । प्राइम बैंक र माउन्टेन हाइड्रोको ३ अर्ब ६६ करोड लगानीमा सुरु भएको आयोजना सम्पन्न भएपछि २१ मेगावट विद्युत् उत्पादन हुनेछ । तर, आयोजनाको लागत थप २० करोड बढ्ने भएको छ ।

    स्थानीयको अवरोध कायमै

    निर्माण कम्पनीले आयोजनामा घाटा भएको बताइरहेका वेला स्थानीयले भने आफ्ना माग राखिरहेका छन् । हेवा ‘ए’ जलविद्युत् आयोजनामा स्थानीयका लागि सेयर खुला गर्नुपर्ने माग कायमै छ । त्यस्तै हेवा ‘बी’ आयोजनाले स्थानीयलाई दिनुपर्ने जग्गाको मुआब्जा नदिएको विषय लामो समयसम्म मिल्न सकिरहेको छैन । लगातार हुने अवरोधका कारण आयोजनाको काम प्रभावित हुने गरेको छ ।

    करिडोर नबन्दा समस्या

    निर्माण सकिँदा पनि ठूला आयोजनाले विद्युत् बेच्ने माध्यम नहुँदा घाटा सहनुपर्ने अवस्था छ । निर्माणाधीन काबेली करिडोर ०७४ वैशाख दोस्रो सातासम्म बनिसक्ने बताइए पनि पटक–पटक म्याद थपिँदै आएकाले तोकिएको समयमा करिडोर निर्माण हुने अवस्था छैन ।

    @ नयाँ पत्रिका