दोर्दी १ जलविद्युत् आयोजनाको ३० प्रतिशत निर्माण कार्य सम्पन्न

1389

माघ २१, २०७५

लमजुङ — दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजनाले एक वर्षभित्र निर्माण सक्ने दाबी कम्पनीले गरेको छ । आगामी मंसिर (२०७६) भित्र निर्माण सकेर विद्युत् उत्पादन थाल्ने आयोजनाले जनाएको छ । दोर्दी गाउँपालिका ६ ढोडेनीमा लमजुङ विद्युत् विकास कम्पनी लिमिटेड को प्रवद्र्धनमा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले उक्त आयोजना निर्माण गरिरहेको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर उज्ज्वल सिलवालका अनुसार आयोजनाको निर्माण कार्य करिब ३० प्रतिशत सकिएको छ । सुरु निर्माण कार्य २०७४ चैतबाट सुरु गरिएको थियो ।

कुल २ हजार ५ सय २० मिटर सुरुङमध्ये माघ १५ सम्ममा ९ सय २० मिटर सुरुङ खनिसकिएको छ । आयोजनामा ७ सय मिटर पेनस्टक पाइप प्रयोग हुनेछ ।

आयोजनाले गत चैतबाट हेडवकर््सअन्तर्गत डिस्यान्डर, बाँध र इन्टेकको निर्माण थालेको थियो । आयोजनाको उक्त सिभिल संरचना र सुरुङ निर्माण कार्य माउन्टेन इन्फ्रा कम्पनीले गरिरहेको छ । हाइड्रो मेकानिकलको काम मेगा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनी र इलेक्ट्रो मेकानिकलको काम बी फोर्सेस लिमिटेडले गरेको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर सरोज कोइरालाले हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलका लागि चाहिने सामग्रीको डिजाइन तथा निर्माण कार्य भइरहेको जानकारी दिए ।

आयोजनाको ग्रस हेड १ सय ३२ मिटर रहेको छ । दोर्दी खोलाको ११ दशमलव ३६ क्युसेक बहावलाई दोर्दी गाउँपालिका ६ ढोडेनीको काल्चेबेंसीमा बाँध बाँधेर मालेबगरमा निर्माण गरिने विद्युत् गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ ।

आयोजनामा ६/६ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् ३ दशमलव ५ किलोमिटरको प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ढोडेनीको कीर्तिपुरबेंसीसमा निर्माण हुने सबस्टेसनमा जोडिनेछ ।

पानीको बहावमा आधारित (रन अफ रिभर) प्रकृतिको उक्त आयोजना निर्माण गर्न २ अर्ब रुपैयाँ लाग्नेछ ।

सानिमा बैंक बैंकको मुख्य लगानी रहने उक्त आयोजनामा लक्ष्मी बैंक, महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक र कैलाश विकास बैंकले गरी ७५ प्रतिशत ऋण लगानी गर्नेछन् । प्रवद्र्धकले २५ प्रतिशत लगानी गर्नेछ । नेपाल विद्युत् प्राधिकरणसँग चलनचल्तीको दरअनुसार २०७१ कात्तिकमा वर्षायामको समय प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुक्खायाम (हिउँद) का लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको थियो ।


प्रसारण लाइनको चिन्ता

आयोजनाले एक वर्षभित्रै विद्युत् उत्पादन गर्ने प्रक्षेपण गरे पनि प्रसारण लाइनको चिन्ता छ । नेपाल विद्युत् प्राधिकरणले उदीपुर सबस्टेसनमा जोड्ने गरी ढोडेनीको कीर्तिपुरमा सबस्टेसन निर्माण थालेको छ । १३२ केभीको दोर्दी करिडोर प्रसारण लाइन निर्माण कार्य मन्द गतिमा भइरहेको भन्दै प्रवद्र्धकले चिन्ता व्यक्त गरेको छ ।

आयोजना आफैंले विद्युत् गृहदेखि पावर हाउससम्म १३२ केभीकै साढे ३ किलोमिटरको प्रसारण लाइन निर्माणको तयारी गरेको छ ।
आश गुरुङ
स्रोत:कान्तिपुर