Chameliya Hydro still not resume

    1153

    इन्धन आपूर्ति सहज भइसक्दा पनि चमेलियाको निर्माण कार्य सुचारु सकेको छैन । भारतीय नाकाबन्दीले इन्धन अभावपछि आयोजनासम्म सामग्रीहरू ढुवानी गर्न नसक्दा निर्माण कार्य पूर्णतया प्रभावित भएको थियो ।

    जिल्लामा सञ्चालित ठूला आयोजना चमेलिया जलविद्युत् आयोजना, महाकाली नदी नियन्त्रण आयोजना र दार्चुला–तिंकर सडक योजनाको निर्माणकार्य नाकाबन्दीले प्रभावित भएको हो । नाकाबन्दीका कारण जिल्लाको अन्य विकास निर्माणको कार्य ठप्प छ ।

    गत पुस १२ मा व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत् आयोजनामा रोकिएको काम सुचारु गर्न निर्देशन दिएको पनि सुरुङको काम अगाडि बढाउने कुनै सुरसार देखिएको छैन । ०७१ असारदेखि रोकिएको निर्माण सुचारु गर्न आयोजना निर्माण स्थलमा कुनै लिखित आदेश नआउँदा सुरुङको निर्माण अगाडि बढ्ने कुनै सुरसार नदेखिएको आयोजनाका अधिकारीहरूले जनाए ।

    सरकारको लगानीमा निर्माण हुन लागेको उक्त आयोजनामा खुम्चिएको सुरुङ पुनर्निर्माणका क्रममा भ्रष्टाचार भएको ठहर गर्दै ठेकेदारलाई रकम भुक्तानी नदिन संसद्को सार्वजनिक लेखा समितिले डेढ वर्षपछि ऊर्जा मन्त्रालयलाई मूल्यांकनको जिम्मा दिएको थियो । रोकिएको काम सुरु गर्न आयोजनाले नेपाल विद्युत् प्राविधिकरणको सञ्चालक समितिमा प्रस्ताव पेस गरेको र बोर्ड बैठक बसेपछि निर्माण कार्य अगाडि बढाउने बाटो खुल्ने आयोजना प्रमुख राजेन्द्र मानन्धरले बताए ।

    ‘केही अघि मात्र सञ्चालक समितिमा आयोजनाको वर्तमान अवस्थासहितको प्रस्ताव पेस गरेका छौं,’ उनले भने, ‘सञ्चालक समितिको बैठक बस्छ, उसको निर्णयपछि मात्र प्रक्रिया अगाडि बढ्छ ।’ तर, तत्काल सञ्चालक समितिको बैठकसमेत बस्ने सुरसार छैन । बोर्ड निर्णयपछि आयोजना निर्माण कम्पनी र परामर्शदातासँग बसेपछि निर्माणको मिति तोकिने उनको भनाइ छ ।

    प्रकाशित: कान्तिपुर