१६० मेगावाटको लप्चिखोला आयोजना निर्माण गर्दै एमभी दुगड ग्रुप, नेपाल बैङ्कको अगुवाइमा ऋण लगानी

1836

काठमाडौं । लिखुमा तीन ओटा जलविद्युत् आयोजना निर्माण गरिरहेको एमभी दुगड ग्रुपले १६० मेगावाटको लप्चिखोला जलविद्युत् आयोजना बनाउने भएको छ । लप्चिखोला आयोजनामा ऋण लगानी जुटाउने काम सुरु भएको छ ।

नेपाल बैङ्कको अगुवाइमा लप्चिखोलामा ऋण लगानी हुन लागेको हो । हाल बैङ्कहरुबीच ऋण लगानीका लागि छलफल सुरु भएको छ । नेपाल बैङ्कले राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, हिमालयन, एभरेस्ट बैङ्कलगायत कर्मचारी सञ्चय कोषसँग पनि छलफल थालेको छ ।

 

नेपाल विद्युत प्राधिकरण र आयोजनाबीच ९९ मेगावाटको मात्र विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । कम्पनीले आयोजनाको क्षमता बढाइ १६० मेगावाट पुर्याएको छ । अझै ६१ मेगावाटको पीपीए गर्न बाँकी छ ।

आफना केही प्रश्नको सम्बोधन भएमा आयोजनामा ४ अर्ब रुपैयाँसम्म ऋण लगानी गर्न सञ्चय कोष तयार रहेको स्रोतको भनाइ छ । आयोजना बनाउन २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसमा ७० प्रतिशत प्रवद्र्धको स्वपुँजी र बाँकी बैङ्कहरुले सहवित्तीयकरणमा ऋण लगानी गर्ने भएको छ । नेपाल बैङ्कको अगुवाइमा ऋण लगानी गर्ने विषयमा छलफल भइरहेको स्रोतले बतायो । एमभी दुगड ग्रुपले नासा हाइड्रोपावरमार्फत लप्ची आयोजना निर्माण गर्न लागेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७४ पुुसमा विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । लप्ची आयोजना माथिल्लो तामाकोसीभन्दा माथि नेपाल र चीन सीमानजिक छ । आर्थिक रुपमा आयोजना आकर्षक देखिएको छ । लामाबगरसम्म सडक पुगेको छ । त्यसपछि सडक निर्माण गर्नुपर्ने हुन्छ ।

यसअघि ग्रुपले सहायक कम्पनीमार्फत लिखु १, लिखु २ र लिखु ए १५७ मेगावाट क्षमताका ३ ओटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।पान हिमालय इनर्जी प्रालिले लिखु १, ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालिले लिखु २ र नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले लिखु ‘ए’ जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन् । एउटै लिखुखोलामा लिखु १, २ र ‘ए’ गरी कुल १५७ मेगावाट क्षमताका परियोजना एकैसाथ निर्माण अघि बढाइएको कम्पनीले जनाएको छ ।

निर्माणधिन तीनवटै आयोजनाको कुल लागत अनुमानित लागत २१ अर्ब रुपैयाँ छ । लक्ष्मी, सिद्धार्थ, सिटिजन बैङ्क र बैंक अफ काठमान्डूसँग ऋण सम्झौतासमेत भइसकेको छ ।

एमभी ग्रुप जलविद्युतमा लगानी विस्तार गर्न थालेको छ । ४ ओटा आयोजनाबाट ३१७ मेगावाट बिजुली उत्पादन हुनेछ । सबै आयोजना नदीका बहावमा आधारित (रन अफ दी रिभर) हुन् ।

 

-क्यापिटल नेपाल