मध्यमोदीमा सुल्झियो विवाद

1034

असार ७, २०७६

पर्वत — क्षतिपूर्ति विवादले करिब दुई महिनादेखि अवरुद्ध मध्यमोदी जलविद्युत् आयोजनाको काम पुन: सुरु भएको छ । मोदी २ देउपुरको मखबासीले सुरुङमा बम बिस्फोट गराउने क्रममा घर भत्किएको भन्दै आयोजनासँग क्षतिपूर्ति माग गर्दै काममा अवरोध गरेका थिए । प्राविधिकले गरेको मूल्यांकनमा २५ प्रतिशत रकम थपेर दिने सहमतिपछि बिहीबारदेखि आयोजनाको काम सुरु भएको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतिपूर्ति दिने सहमतिपछि आयोजनाको अवरोध हटेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । ‘धेरै समयदेखिको समस्या समाधान भएको छ,’ उनले भनिन्, ‘अब आयोजनाका सबै काम पूर्ण रूपमा सुचारु भएका छन् ।’

जिल्ला प्रशासनमा भएको दुई पक्षीय सहमतिमा जिल्ला समन्वय समिति प्रमुख मनोहर विश्वकर्मा पौडेल, मोदी गाउँपालिका उपाध्यक्ष सेती महत, मोदी २ का वडाध्यक्ष विकास तिमिल्सिना, प्रभावित बासिन्दा र आयोजनाका प्रतिनिधि सहभागी थिए ।

आयोजना पक्ष र प्रभावित बासिन्दाबीच दुईबुँदे सहमति भएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले बताए । उनका अनुसार गाउँपालिका, आयोजना र समन्वयका प्राविधिकले पेस गरेको रिपोर्टका आधारमा २५ प्रतिशत थपेर क्षतिपूर्ति दिन सहमति भएको छ ।

प्राविधिकले ३० घरका लागि २५ हजारदेखि ३ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने विवरण तयार पारेका छन् । आगामी दिनमा यस्तै समस्या दोहोरिएमा घरधनीले मर्मत गरेको प्रतिवेदन गाउँपालिकामा बुझाएमा मर्मत खर्च गाउँपालिकाको सिफारिसमा आयोजनाले व्यहोर्ने उनले आर्चायले बताए । ‘हाम्रा कारणले क्षति भएमा हामीले व्यहोर्ने कुरा भएको छ,’ आचार्यले भने, ‘अन्य प्राकृतिक कारणले भएको क्षतिको हामी जिम्मेवार हुने कुरा रहँदैन ।’ एक साताभित्र क्षतिपूर्ति रकम दिन आयोजना पक्ष सहमत भएपछि स्थानीयले बिहीबारदेखि नियमित काम गर्न सहमति दिएका हुन् ।
स्रोत:कान्तिपुर