बूढीगण्डकी डुबान क्षेत्रमा चक्रपथ निर्माण प्रक्रिया सुरु

    1606

    गोरखा-बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माण प्रक्रिया सुरु भएको छ । आयोजनाले गोरखा र धादिङतर्फ एक/एक सय किमि सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्न लागेको हो ।

    १ सय किमि सडकको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार भइसकेको आयोजनाअन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले जानकारी दिए । उनले भने, “गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारदेखि बोर्लाङको महादेवटारसम्मको १ सय किमि सडकको डीपीआर बनाइएको छ । धादिङतर्फ पनि चालू आव त्यति नै लम्बाइको सडकको ट्रयाक खोल्ने तयारी छ । अब गोरखातर्फ ६० र धादिङतर्फ २५ किलोमिटर सडकको डीपीआर बनाउन बाँकी छ ।” प्रारम्भिक सर्भेको काम भइसकेको कार्कीले जानकारी दिए ।

    सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले १२ करोड रुपैयाँ छुट्याएको छ । दुवै जिल्लामा ६/६ करोड खर्चेर ट्रयाक निर्माण अघि बढाउने इकाई प्रमुख कार्कीले जानकारी दिए । “बूढीगण्डकी आयोजनाको जलाशय करिब ५४ किमि फराकिलो हुनेछ,” उनले भने, “जलाशयको माथि १५ मिटर फराकिलो सडक हुनेछ ।” करिब ३ सय किमि लम्बाइको रिङरोड निर्माणको ट्रयाक खन्ने काम पुस, माघ तिरमात्रै सुरु हुने इकाई प्रमुख कार्कीले जानकारी दिए । उनले भने, “मंसिरमा टेण्डर प्रक्रिया पूरा गरेर लगत्तै काम थाल्छौं । डुबानबाट जोगिने बस्ती र पुनःस्थापना गरिने बस्तीलाई समेत हुने गरी सडक बनाइने योजना छ ।” अहिले ट्रयाक बनाइने र पछि त्यसैलाई रिङरोडका रूपमा विकास गरिने इकाई प्रमुख कार्कीले जानकारी दिए । कतिपय ठाउँमा भने अहिले भएकै ट्रयाकलाई विस्तार गरे हुने देखिएको उनको भनाइ छ ।
    तर ट्रयाक निर्माणको क्रममा जंगल परेकाले त्यसको ब्यवस्थापन कसरी गर्ने भन्नेमा अन्योल देखिएको छ । जंगल क्षेत्रमा सडक निर्माण कसरी अघि बढाउने भन्नेबारे ऊर्जा मन्त्रालय, वन मन्त्रालयलगायतका उच्च अधिकारीहरूले छलफल थालेको आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले जानकारी दिए ।

    स्रोत : कारोबार