हेटौँडा–भरतपुर प्रसारण लाइन – रुखकटान नहुँदा प्रसारणलाइनको काम रोकियो

    2640

    हेटौँडा, २७ मंसिर – नेपाल विद्युत् प्राधिकरणको पावर पुलका रूपमा लिइएको हेटौँडा–भरतपुर प्रसारण लाइनको काममा अलमल भएको छ । प्रसारण लाइन क्षेत्रमा रहेका जग्गाको मुआब्जा वितरण र सामुदायिक वनका रहेको रुख कटानको काम हुन नसक्दा प्रसारणलाइनको काममा अलमल भएको हो ।
    प्रसारण लाइन विस्तार क्षेत्रमा पर्ने २० वटा सामुदायिक वनको रूख कटानको काम कानुनी अड्चनका कारण जेठदेखि नै अघि बढ्न सकेको छैन । वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार असारदेखि असोजसम्म चार महिनाका लागि वन क्षेत्रमा कटानको अनुमति बन्द गरिएको थियोे । तर प्रसारण लाइन क्षेत्रका सामुदायिक वनले विभिन्न माग राखेका कारण कटान अहिलेसम्म पनि सुरु हुन सकेको छैन । उनीहरूले आयोजनासम्बन्धी सम्झौताको कागजात आफूहरूलाई पनि उपलब्ध हुनुपर्ने, रूख कटान भएपछि हुने भू–क्षय जोखिम न्यूनीकरणको उपायबारे स्पष्ट गरिनुपर्ने, कटान भएका रूखहरूको शतप्रतिशत काठ दाउरा सामुदायिक वनले नै बिक्री वितरण गर्न पाउनुपर्ने लगायतका माग राखेका छन् । जिल्ला वन कार्यालयले भने २५ प्रतिशत काठ दाउरा आपूर्ति समितिलाई उपलब्ध गराउनुपर्ने सर्त राखेको छ । सामुदायिक वन उपभोक्ता महासंघकी जिल्ला अध्यक्ष पञ्चमाया स्याङ्तानका अनुसार आयोजना सम्झौताबारे अनविज्ञ रहेकाले सामुदायिक वन पदाधिकारी सशंकित छन् । “आयोजनासम्बन्धी सम्झौताको कागजात उपलब्ध गराएर सामुदायिक वनको अधिकारबारे स्पष्ट गर्नु जरुरी छ,”उनले भनिन् ।
    लोथर सामुदायिक वनका अध्यक्ष निरशंकर लामाका अनुसार वन समूहका माग बेवास्ता गर्दै ठेकेदारले रूख कटान गर्न थालेको भन्दै माग पूरा नभए काम हुन नदिने बताए । “कटान आदेशको पत्र बुधबार पाएका छौं,” उनले भने, “ठेकेदारले हामीलाई जानकारी नदिई रूख कटानको काम थाले पनि हामीले काम अघि बढाउन दिएका छैनौं ।” आफूहरूले ठेकेदारको एकपक्षीय गतिविधिका बारेमा इलाका वन कार्यालय मनहरीमा जानकारी गराएको बताए । जिल्ला वन कार्यलयले भने काठ कटानको अनुमति दिइसकेको छ । “मंसिर १५ गतेदेखि रूख कटानका लागि आदेश दिइएको छ,” जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत थिरबहादुर कार्कीले भने, “अब रूख कटानको काम अघि बढ्छ ।”
    मकवानपुरमा २० वटा सामुदायिक वनको २४ हजार ४ सय  रूख कटानबाट ३ लाख क्युफिट काठ र ७ सय चट्टा दाउरा उत्पादन हुने जनाइएको छ । अहिलेसम्म तीनवटा सामुदायिक वनको २० हजार क्युफिट काठ कटान भएको छ । आयोजनाले निर्माण गर्ने २ सय २६ वटा टावरमध्ये १ सय ९० वटा टावर सामुदायिक वन क्षेत्रमा पर्छ ।
    विश्व बैंकको सहयोग तथा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा २८ करोड ६० लाखरुपैयाँको लागतमा प्रसारणलाइन निर्माण थालिएको हो । प्रसारणलाइन क्षेत्रमा भइरहेको अवरोधले काम समयमै सकिनेमा शंका उब्जिएको छ ।

    प्रस्तुति: कारोबार