रसुवागढीद्वारा ६८ करोडको सेयर स्थानीयलाई

    2427

    नुवाकोट,२७ मंसिर – निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले स्थानीयवासीका लागि ६८ करोड बराबरको सेयर दिने भएको छ । आयोजनाले ६ अर्ब ८४ करोड पुँजीमध्ये १० प्रतिशत शेयर स्थानीयलाई दिन लागेको हो ।
    टिमुरे र थुमनको बीचमा बन्न लागेको आयोजनाले प्रभावित स्थानीयलाई विशेष प्राथमिकतामा राख्ने जनाएको छ ।
    स्वदेशी पुँजी र लगानीमा निर्माण हुन लागेको रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्जय कोषको ५० प्रतिशत ऋण लगानी गर्ने सम्झौता गरेको कम्पनीका प्रबन्धक निर्देशक माधवप्रसाद कोइरालाले बताए । “५० प्रतिशत ऋण र ५० प्रतिशत स्वपुँजी रहने गरी आयोजनाले वित्तीय व्यवस्थापन गरिसकेको छ,” प्रबन्धक कोइरालाले भने ।
    सन् २०१६ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको रसुवागढी जलविद्युत् आयोजनाले हाल ९० मिटर परीक्षण सुरुङ निर्माण गरेको आयोजनाले जनाएको छ । चिलिमे जलविद्युत्को मोडेलमा बन्न लागेको आयोजनाले हाल भूमिगत विद्युत्गृहको परीक्षण निर्माणको भौगोलिक अध्ययन गरिरहेको प्रबन्धक कोइरालाले बताए । कोइरालाको भने, “हाल परिक्षण टनेलको काम भइरहेको छ, भौगोलिक अध्ययनको नतिजा राम्रो आए सोही टनेल प्रयोग हुन सक्छ ।”
    उर्जा मन्त्रालयले रसुवागढी जलविद्युत् आयोजनासहित जिल्लामा ५५ कम्पनीलाई १ हजार ७ सय ७२ मेगावाट विद्युत् उत्पादनको अनुमतिसमेत दिइसकेको छ । चिलिमे जलविद्युत् आयोजनाको लगानीमा निर्माण हुन लागेको रसुवागढी जलविद्युत् आयोजनालाई ३५ वर्षसम्म विद्युत् उत्पादन लाइसेन्स दिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता पीपीएसमेत गरिसकेको आयोजनाले सिभिल र हाइड्रो मेकानिकलका लागि ठेकेदारहरुको पूर्व छनोट प्रक्रियासमेत अगाडि बढेको प्रबन्धक कोइरालाले बताए । चिलिमे जलविद्युत् कम्पनीले ३३ प्रतिशत, जिविस र गाविसले ३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणले १८ प्रतिशत लगानी गर्ने र बाँकी ऋण लगानीमा निर्माण गर्ने लक्ष्य लिइएको कोइरालाले बताए ।
    भोटेकोसी र लेन्देखोला साँधबाट हेडगेट निर्माणगरी रनअफ दि रिभरबाट ४.२ किलोमिटर डिसेन्डिङ शक ट्यांकमार्फत भूमिगत रुपमा टिमुरेको तातोपानीमा विद्युत्गृह निर्माण गरिनेछ ।
    परियोजना वि.सं. २०७३ सम्म निर्माण गर्ने लक्ष्य लिइएको छ । विद्यु्त् केन्द्रबाट उत्पादित बिजुली १३२ केभी प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । १२ अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त आयोजनाले वार्षिक ६१ करोड ६८ लाख युनिट बिजुली उत्पादन गर्नेछ । कम्पनीले आयोजनाको परामर्शदातामा अस्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेशन(स्नेक) लाई नियुक्ति गरेको छ । कम्पनी सिभिल निर्माणका लागि बोलपत्र आह्वानको तयारीमा रहेको आयोजना प्रमुख कोइरालाले बताए । चिलिमेले रसुवागढी जलविद्युत्का अतिरिक्त ४२.५ मेगावाटको साञ्जेन, १४.१ मेगावाटको माथिल्लो साञ्जेन, र सिन्धुपाल्चोकमा निर्माण हुन लागेको १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना बनाउँदैछ ।

    प्रस्तुति: कारोबार