जिल्ला प्रशासन कार्यालय खोटाङले ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम थालेको छ। खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गामध्ये खोटाङको रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाभित्र पर्ने जग्गा प्राप्तिको प्रकृया सुरु गरेको हो ।
बहुचर्चित जलविद्युत आयोजनाबाट डुवानमा पर्ने रावाबेँसी गाउँपालिकाको ५ हजार ३०४ कित्ता र ऐसेलुखर्क गाउँपालिकाको ५२२ कित्ता जग्गा प्राप्तिका लागि प्रशासनले सूचना जारी गरेको छ। समुद्री सतहबाट ६५० मिटर उचाईसम्मका करिब १२ हजार रोपनी व्यक्तिगत र ११÷१२ सय रोपनी सरकारी जग्गा, गोठ, टहरा तथा रुखबिरुवा पूर्ण वा आंशिक प्राप्तीको प्रकृया थालिएको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका उपनिर्देशक सिताराम प्रखाछेँले बताए।
जिल्ला प्रशासन कार्यालयले दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको ५८६ कित्ता, रावाबेँसी गाउँपालिका–२ खार्पाको १ हजार ८९ कित्ता, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको १७४ कित्ता, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीको २ हजार ३३० कित्ता, रावाबेँसी गाउँपालिका–५ दुबेकोलको ३०४ कित्ता र रावाबेँसी गाउँपालिका–६ हौंचुरको ८२१ कित्ता जग्गा प्राप्तिका लागि सूचना जारी गरेको छ। यस्तै, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका ९९ कित्ता, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ८४ कित्ता र ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३३९ कित्ता जग्गा पूर्ण वा आंशिक प्राप्तिको प्रकृया अघि बढाइएको छ।
प्रशासनले जग्गा प्राप्तिको प्रकृया थालेसँगै असार २३ गतेदेखि प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनैपनि संरचना बनाउने वा थप्ने कार्य नगर्न/नगराउन भनेको छ। सो क्षेत्रको जग्गा रोक्काका लागि प्रशासनले जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरिसकेको दूधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाका उपनिर्देशक प्रखाछेँले बताए। प्राप्ति गरिने जग्गाको कित्ता नम्बर कित्ताकाट भएको वा उक्त कित्ताको जग्गाधनीको नाम फरक पर्न गएमा आफूसँग भएको जग्गाको प्रमाण पेश गरेको खण्डमा सोही बमोजिमको कित्ता जग्गा यकिन हुने प्रशासनले जनाएको छ। आयोजनाका लागि जग्गा रोक्का गरिएसँगै प्रमुख जिल्ला अधिकारी संयोजकत्वको मूल्यांकन समितिले जग्गा अधिग्रहणका लागि मूल्यांकन गर्ने, मूल्य निर्धारण गर्ने र मुआव्जा वितरणको काम गर्ने छ।
आयोजनाबाट प्रभावित हुने ओखलढुंगाको चिसंखुगढी गाउँपालिका र सोलुखुम्बुभित्रका जग्गा प्राप्तिको काम पनि क्रमशः हुने जनाइएको छ। बहुचर्चित जलविद्युत आयोजनाको बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ वर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ बर्ग मिटर र सोलुखुम्बुको १ लाख ७१ हजार ४ वर्ग मिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बुका १४ धुरी गरी कूल १ हजार १५० घर धुरी डुवानबाट प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिबेदनमा उल्लेख छ।
पूर्णप्रभावित १६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बुका २ घर पूर्ण रुपमा डुवानमा पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनाका लागि ड्याम बनाउदा दुधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने प्रतिवेदनमा भनिएको छ। तर, ईआइए प्रतिवेदनमा तीन जिल्लाका १ हजार १५० घर धुरी डुवानबाट प्रभावित हुने उल्लेख भएपनि आयोजनाबाट २४÷२५ सय घरधुरी प्रभावित हुने देखिएको आयोजनाले जनाएको छ।
लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढिरहेको छ। भ्याटसहित करिब २.२ विलियन यूएसडलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ। सन् १९८५ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाका रुपमा पहिचान गरेको तथा २०१३ सालमा जाईकाले नै दोश्रोपटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट बार्षिक तीन अर्व ४४ करोड ३० युनिट उर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ।
स्रोत:नागरिक दैनिक