सुनकोसी जलविद्युत् केन्द्रबाट उत्पादन बढ्यो

    1355

    भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत् केन्द्रबाट थप विद्युत् उत्पादन भएको छ ।

    बाढीले पुरिएको क्षतिग्रस्त २ नम्बर ढोकालाई सफा गरी पूरै बन्द हुने अवस्थामा पुगेपछि एउटा टर्वाइन चालु गरी ३.५ देखि ३.७ मेगावाटसम्म विद्युत् उत्पादन हुन थालेको केन्द्रका उत्पादन प्रमुख सुरज दाहालले बताए ।

    बाँधका छवटा ढोकामध्ये १ र २ नम्बर ढोका ठूलाठूला ढुङ्गा र गेगरले पुरिएकोमा त्यसलाई हटाएपछि २ नम्बर ढोकामा सफलता मिलेको हो ।

    १ नम्बर ढोकामा पनि ढुङ्गा पन्छाइ सफा गर्ने काम भइरहेको हुँदा एक साताभित्र अर्को टर्वाइन पनि सञ्चालनमा आइ थप विद्युत् उत्पादन हुने प्रमुख दाहालले बताए ।

    ढुङ्गा र गेगरले बाँधलाई क्षति पुर्याएपछि चुहावट भई नहरमा पूरा पानी पठाउन नसकेपछि दुई साताअघि २.५ मेगावाट मात्र विद्युत् उत्पादन हुँदै आएको थियो । हाल नदीमा पानी कम भएको हुँदा काम गर्न सहज भएकोले अर्को टर्वाइन पनि चाँडै सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणसँग भएको ठूलो क्षमताको एस्काभेटर डेढ दशक पुरानो भएकाले समय समयमा बिग्रिरहने हुँदा मर्मत गर्न दक्ष प्राविधिक उपलब्ध गराउन समस्या भएकाले काम गर्न ढिलाइ भएको प्रमुख दाहालले बताए ।

    गत असार २१ गते भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त सुनकोसी जलविद्युत् केन्द्रमा तीनवटा टर्वाइन जडान भएको छ ।

    प्राधिकरणको प्राविधिकको अथक प्रयासबाट भदौ १ गतेदेखि २.५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको सुनकोसी जलविद्युत् केन्द्रले जनाएको छ ।

    स्रोत : कारोबार