सिक्लेस हाइड्रोपावर निर्माण कार्य ९० प्रतिशत पूरा

    1993

    sikles-hep

    २ अर्ब १५ करोडको लागतमा निर्माण सम्पन्न हुने

    पोखराः कास्कीको सिक्लेस हाइड्रोपावरको निर्माण कार्य करिब ९० प्रतिशत पूरा भएको छ । सिक्लेस हाइड्रोपावरका मुख्य लगानीकर्ता तथा उद्योगपति सूर्यबहादुर केसीले हाइड्रोपावरको निर्माण कार्य करिब ९० प्रतिशतले पूरा भएको बताएका छन् । करिब ३ वर्षअघि सुरु भएको हाइड्रोपावर गत वर्षको भूकम्प र भारतीय नाकाबन्दीका कारण ढिलाइ भएको थियो ।

    “गत चैतमा निर्माण सकिनुपर्ने हाइड्रोपावर भूकम्प र नाकाबन्दीको मारमा पर्दा काममा अवरोध आउँदा ढिलाइ भएको थियो,” केसीले भने, “निर्माणमा ढिलाइ हुँदा ठूलो आर्थिक भारसमेत परेको छ ।” आगामी पाँच महिनाभित्र निर्माण कार्य सकिने उनले बताए ।

    १३ मेगावाट क्षमताको हाइड्रोपावरमा ६० प्रतिशत केसी परिवार, बतास अर्गनाइजेसन, सेलवेज ग्रुप, केही एनआरएनए सदस्यलगायतको लगानी छ । ४९ जना सेयर सदस्य रहेको हाइड्रोपावर २ अर्ब १५ करोडको लागतमा सम्पन्न हुने केसीले बताए ।

    हाइड्रोपावर निर्माणका क्रममा केही समस्या आए पनि त्यसका बाबजुत आफूहरूले काम अघि बढाउँदै लगेको उनले बताए । सुरुमा १० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि आयोजना निर्माणका क्रममा थप ३ मेगावाट उत्पादन गर्न सकिने भएको छ ।

    हाइड्रोपावरबाट उत्पादित बिजुली लेखनाथको १३२ केभी स्टेसनको राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) र विजयबाबु मल्लको लगानी रहेको २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत् आयोजनाको उत्पादनसँगै जोडेर राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने भएको छ ।

    सिक्लेस हाइड्रोपावर केसी कन्स्ट्रक्सन कम्पनीले निर्माण गर्दैछ । करिब साढे ३ किलोमिटर पानीको स्रोत भएको क्षेत्रबाट आरसीसी बक्स प्यानलबाट विद्युत् गृहसम्म पानी ल्याइएको छ ।

    केसी परिवारको लगानीमा कास्कीमा हाल ३ वटा हाइड्रोपावर सञ्चालनमा आइसकेका छन् । ल्वाङघलेलको मर्दीखोलामा ४.८ मेगावाटको गण्डकी हाइड्रोपावर करिब ५ वर्षअघि सम्पन्न भएको छ । विजयपुरखोलामा निर्माण भएको १ मेगावाटको टाक्स हाइड्रोपावर ६ वर्षदेखि सञ्चालनमा आएको छ । विजयपुरखोलामा रहेको ४.५ मेगावाटको भगवती हाइड्रोपावर करिब साढे तीन वर्ष अघिदेखि सञ्चालनमा आएको छ ।

    स्रोत: कारोबार दैनिक