विद्युतमा आन्तरिक उत्पादन थपिँदै

    1262

    संखुवासभा — धर्मदेवी र मादी नगरपालिकामा निजी क्षेत्रबाट १४ दशमलव ९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । मायाखोला हाइड्रो पावर कम्पनी लिमिटेडले २ अर्ब ५० करोडको लागतमा विद्युत् उत्पादन गर्ने गरी काम थालेको छ ।

    यो आयोजना सरकारले पहिचान गरी नेपालको लोडसेडिङको चाँडो अन्त्य गर्न देशभरबाट छानिएका सुपर सिक्स आयोजनामध्ये एक हो । ०७६ पुसबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरिएको आयोजना अध्यक्ष विजयमान शेरचनले बताए ।

    अबको १४ महिनाभित्र आयोजनाको काम सम्पन्न हुने दाबी उनले गरे । यो आयोजना ट्रिपल पी मोडलमा निर्माण हुने उनले जनाए । सुरुङ मार्गको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिल्यान्यास गरे । आयोजनाको पावर हाउस धर्मदेवी नगरपालिका ४ को पिलुवास्थित रिट्ठा बगरमा रहनेछ ।

    आयोजनाले सडकको ट्रयाक खोल्ने काम सकेको छ । २ हजार २ सय ४ मिटर लामो टनेलमार्फत पानी ल्याएर ९ सय ४९ मिटर पेनस्टक पाइपमार्फत टर्बाइनमा पानी पुर्‍याइनेछ । आयोजनाको पाइप लाइनको नेट हेड ४ सय १२ मिटर रहनेछ । पाइप लाइन बिछयाएपछि मुहान र टर्बाइन रहेको विन्दुबीचको भर्टिकल दूरीलाई हेड भनिन्छ । जति हेड बढी भयो त्यति धेरै पानीको बहाव हुन्छ । विद्युत् उत्पादनका लागि ७ दशमलव ४ मेगावाटका २ वटा जेनेरेटरको प्रयोग गरिने आयोजनाले जनाएको छ । आयोजनामा प्रवद्र्धकको ७५ करोड रुपैयाँ (३० प्रतिशत) र बैंक ऋणबाट १ अर्ब ७५ करोड रुपैयाँ (७० प्रतिशत) खर्चिनेछ ।

    जिल्लामा अहिले ११ दशमलव ८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ । सभाखोलाबाट ४ दशमलव ४, हेवाा खोलाबाट ३ दशमलव २, पिलुवा १ बाट ३, लोअर पिलुवाबाट १ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । त्यस्तै निगुरे पावर हाउसबाट २ सय ५० किलोवाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत् प्राधिकरणका प्रमुख ध्रुव अधिकारीले बताए । उनका अनुसार यो जिल्लामा दसभन्दा बढी साना खोलाहरूबाट ‘माइक्रो हाइड्रो’ सञ्चालन गरी स्थानीयले विद्युत् सेवा लिइरहेका छन् ।

    विद्युत् उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्यून छ । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका अनुसार साँझको समयमा ४ मेगावाट खपत भइरहेको छ । दिउँसो २ मेगावाट मात्र खपत हुन्छ । जिल्लामा उद्योग कलकारखना नभएकाले दिउँसो विद्युत्को प्रयोग कम भएको अधिकारीले बताए । यहाँ उत्पादित विद्युत् पिलुवा सबस्टेसनबाट धनकुटा, धरान हुँदै दुहबी केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ ।

    स्रोत:कान्तिपुर