लोडसेडिङ घट्यो

    2406

    काठमाडौं, १६ जेठ
    Loadsheddingयो वर्ष मौसम चाँडै सुरु भई खोलामा पानीको बहाव बढेपछि विद्युत््गृह पूर्ण क्षमतामा चल्न थालेका छन् । बिजुली उत्पादन बढेपछि विद्युत्् प्राधिकरणले गर्दै आएको दैनिक ८ घन्टाको लोडसेडिङ अघोषित रूपमा हटाएको छ ।
    उद्योगमा हुँदै आएको १२ घन्टे लोडसेडिङ घटाएर १० घन्टा कायम गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण र निजी क्षेत्रको स्वामित्वका सबै जलविद्युत्् केन्द्रले पूर्ण क्षमतामा विद्युत्् उत्पादन गरिरहेको प्रवक्ता शेरसिंह भाटले जानकारी दिए । ‘पानी पर्न सुरु भएसँगै प्राय: सबै विद्युत्् केन्द्र पूर्ण क्षमतामा चल्न थालेका छन्, अघोषित रूपमा लोडसेडिङ पनि घटाएका छौँ,’ भाटले भने ।
    ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना हुन् । अन्य सबै खोला पानीको बहावमा आधारित (रन अफ दी रिभर) आयोजना हुन् । हिउँद लागेपछि पानी सुकेसँगै विद्युत्् उत्पादन घट्ने गर्छ भने वर्षामा खोलामा पानी बढेपछि विद्युत्् उत्पादन पनि बढ्छ ।
    प्राधिकरणका ठूला विद्युत््गृह सञ्चालन तथा सम्भार विभागप्रमुख हितेन्द्रदेव शाक्यले १ सय ४४ मेगावाटको कालीगण्डकी ए, ७० मेगावाटको मध्यमस्र्याङ्दी, ७९ मेगावाटको मस्र्याङ्दीले पूर्ण क्षमतामा विद्युत्् उत्पादन गरिरहेको जानकारी दिए । यसैगरी निजी क्षेत्रका ६० मेगावाटको खिम्ती, ४५ मेगावाटको भोटेकोसी, प्राधिकरणको सहायक कम्पनी २२ मेगावाटको चिलिमेलगायत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वका अन्य मझौला तथा साना सबै विद्युत््गृह पूर्ण क्षमतामा सञ्चालनमा छन् ।
    ट्रान्सफर्मरमा आगलागीपछि ४ वैशाखदेखि बन्द रहेको कुलेखानी पहिलो र दोस्रो विद्युत््गृह पनि बिहीबारदेखि सञ्चालनमा आएका छन् । कुलेखानी दोस्रोको मकवानपुरको भैँसेस्थित विद्युत््गृहको ट्रान्सफर्मर र प्रसारण लाइन जोड्ने ‘बुसिङ’ पड्किएर ३ वटा ट्रान्सफर्मरमा आगलागी भएको थियो । गण्डक विद्युत्््गृहमा रहेको १० मेगावाटको क्षमताको ट्रान्सफर्मर ल्याई कुलेखानी दोस्रोमा अस्थायी रूपमा जडान गरिएको थियो ।
    ‘ट्रान्सफर्मर जडान सफलतापूर्वक सम्पन्न भएको छ, बिहीबार साढे १२ बजेदेखि कुलेखानी पहिलोबाट ८ र दोस्रोबाट ४ मेगावाट विद्युत्् उत्पादन भइरहेको छ, ट्रान्सफर्मर पुरानो भएकाले निरीक्षण गरिरहेका छौँ, शुक्रबाट कुलेखानी दोस्रोबाट अधिकतम ८ मेगावाट उत्पादन हुन्छ,’ शाक्यले भने ।
    कुलेखानी दोस्रोले अधिकतम ८ मेगावाट मात्रै विद्युत्् उत्पादन गर्ने भएपछि प्राधिकरणले पहिलोलाई १६ मेगावाटमा मात्रै सञ्चालन गर्नेछ । आगलागी भएको ट्रान्सफर्मर मर्मत गर्न करिब १ महिना लाग्ने कुलेखानी दोस्रोका प्रमुख कृष्णप्रसाद यादवले जानकारी दिए ।
    ‘आगलागी भएको ट्रान्सफर्मर मर्मत प्रक्रिया सुरु भइसकेको छ, करिब १ महिनामा मर्मत सकेर जडान भएपछि कुलेखानी दोस्रो पूर्ण क्षमतामा चल्छ,’ यादवले भने । जलाशययुक्त भएकाले दुवै विद्युत्् केन्द्र प्राय: विद्युत्् माग बढी हुने समय (पिक आवर)मा मात्रै सञ्चालन गरिन्छन् ।
    कुलेखानी जलाशयमा गत वर्षको तुलनामा यस वर्ष पानीको सतह बढिरहेको प्राधिकरणले जनाएको छ । कुलेखानी दोस्रोमा नयाँ ट्रान्सफर्मर आगामी मंसिरसम्ममा जडान भइसक्ने केन्द्रप्रमुख यादवले जानकारी दिए । विद्युत्् उत्पादन बढेपछि प्राधिकरणले हेटौँडामा रहेको डिजेल प्लान्ट
    चलाएको छैन ।
    @ नयाँ पत्रिका