अप्पर नौगाडको जलविद्युत् राष्ट्रिय प्रणालीमा

    1228

    अर्थ संसार, काठमाडौं–  नेपालको जलविद्युत् क्षेत्रको पायनियर कम्पनीको रुमपा स्थापित अपि पावर कम्पनीले दार्चुलामा निर्माण गरिरहेको अप्पर नौगाड जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

    दुगर्म क्षेत्रमा गएर पनि नेपालको राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउने लक्ष्यका साथ अपि पावर कम्पनी दार्चुलामा आयोजना निर्माणका लागि पुगेको हो ।

    अपि पावर कम्पनीलाई नेपालको जलविद्युत् क्षेत्रमा एउटा नुमना संस्था र नमुना परियोजनाका रुपमा लिने गरिन्छ । किनकी दुगर्ममा आयोजना बनाउने आँट नभएका अरु प्रवद्र्धकलाई अपि पावर कम्पनीले एउटा नयाँ उदाहरण खडा गरेको छ ।

    छोटो समयमा नै आर्कषक आयोजना निर्माण गर्ने क्षमता समेत अपि पावरले राख्ने गरेको छ । व्यवसायिक दक्षतायुक्त व्यवस्थापन समूहको कारण पनि आयोजना निर्माणमा विशेष भूमिका अपि पावरले राख्दै आएको छ ।

    दार्चुलामा निर्माण भइरहेको कूल ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजनाले अबको ३ महिना भित्र विद्युत उत्पादन सुरु गर्ने गरी आवश्इक तयारी गरिएको छ ।

    दार्चुलाको शैल्यशिखर नगरपालिकाको देथलामा निर्माणाधीन आयोजनाले आगामी जेठबाट विद्युत उत्पादन गर्न लागेको आयोजनाका प्रमुख सञ्जिव न्यौपानेको भनाइ छ ।

     

    आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ, हामी आगामी तीन महिना भित्र निर्माण सम्पन्न गरेर उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्छौ, यो हाम्रो लागि अर्को एउटा महत्वपूर्ण र ऐतिहासिक सफलता हुन जान्छ, न्यौपानेले भन्नुभयो ।

    आयोजनाको बाँध, पेन स्टक पाइप जडान र विद्युतगृहको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    उक्त आयोजना २०७३ पुसबाट निर्माण सुरु भएको हो । निर्माण सुरु भएको डेढ वर्ष भन्दा कम समयमै आयोजना सम्पन्न हुन लागेको हो ।

    प्रमुख न्यौपानेका अनुसार बाँधको करिब ९२ प्रशित निर्माण पूरा भएको छ । बाँधदेखि विद्युतगृहसम्म पाइप बिछ्याउने काम पनि ९५ प्रतिशत सकिएको छ । हाल विद्युत्गृहमा उपकरण जडान कार्य भइरहेको छ ।

    विद्युतगृहमा ४/४ मेगावाट क्षमताका २ वटा टर्वाइन जडान गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत ७ किलोमिटर टाढा रहेको १३२ केभी क्षमताको  बलाँच सबस्टेसनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ ।

    विद्युतगृहदेखि बलाँच सबस्टेसनसम्म विद्युत् जोडनका लागि आवश्यक पर्ने प्रसारण लाइन अपि पावर कम्पनी आफैले निर्माण गरेको छ ।

    कूल एक अर्ब ४४ करोड लागतमा पूरा हुन लागेको आयोजनामा नेपाल एसबिआई बैंक र प्रभु बैंकले लगानी गरेका छन् । कुल लागतको १ अर्ब रुपैयाँ बैंकको ऋण र ४४ करोड स्वपुँजी लगानी हो । अपि पावरले यसअघि ८.५ मेगावाट क्षमताको आयोजना सम्पन्न गरेर राष्ट्रिय प्रणालीमा जोडिसकेको छ ।

    सो आयोजनाको निमाृण सकिए लगत्तै कम्पनीले माथिल्लो नौगाड सुरु गरेको हो । अब तेस्रो चरणमा माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

    हाल प्रयोग भइरहेका निर्माण उपकरण समेत माथिल्लो चमेलियामा प्रयोग गरिने र निर्माण सुरु गरिहाल्ने योजनामा अपि पावर रहेको छ ।

    स्रोत:अर्थसंसार