१४ सय ग्राहकको लाइन काटियो

    1414

    विद्युत् प्राधिकरणले बढी बक्यौता हुने १४ सय ग्राहकको लाइन काटेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले १ भदौमा बढी बक्यौता हुनेको लाइन काट्न निर्देशन दिएपछि प्राधिकरणले ११ करोड ९५ लाख ६६ हजार बक्यौता रहेका १४ सय १६ ग्राहकको बिजुली लाइन काटेको हो ।

    विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका अनुसार लाइन काटिएकामध्ये ३७८ ग्राहकले २ करोड ३२ लाख बक्यौता बुझाएर लाइनसमेत जोडिसकेका छन् । प्राधिकरणका अनुसार मंगलबार मात्र ३ करोड ३७ लाख बक्यौता तिर्न बाँकी रहेका ५३२ ग्राहकको लाइन काटिएको छ ।

    काठमाडौ क्षेत्रीय कार्यालयका ७२, विराटनगरका ११४, पोखराका ३४, हेटौंडामा ७६, अत्तरियाका ६३, बुटवलका ५७ र जनकपुरका ११६ ग्राहकको लाइन काटिएको हो ।

    चितवनमा सरकारी कार्यालयको पनि लाइन काटियो

    विद्युत् प्राधिकरण भरतपुर शाखाले पनि बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ । केन्द्रीय निर्देशनअनुसार बढी बक्यौता हुने ग्राहकको लाइन काट्न थालेको विद्युत् प्राधिकरण भरतपुरका इन्जिनियर राजेन्द्र पौडेलले बताए । विद्युत् बक्यौता नतिर्नेमा सरकारी कार्यालय पनि छन् ।

    २० हजार भन्दामाथि र समयका आधारमा तीन महिनादेखि नतिरेका ग्राहकको लाइन काट्न थालिएको हो । कुल २५ क्षेत्र रहेकोमा क्षेत्रगत रूपमा लाइन काट्न थालिएको हो । पहिलो चरणमा कुल ४४९ ग्राहकको नामावली लिएर प्राधिकरणका टोली लाइन काट्न खटिएका छन् ।

    महसुल नतिर्नेमा संघसंस्था, कार्यालयभन्दा पनि व्यक्ति बढी छन् । जिल्ला शिक्षा कार्यालय, सहकारी डिभिजन कार्यालयले पनि विद्युत् बक्यौता तिरेका छैनन् ।

    प्राधिकरणले लाइन काट्ने सूचना पठाएपछि पञ्चरत्न ह्याचरीले ५ लाख, सुलभ प्लास्टिक उद्योगले २ लाख र एसके इलेक्ट्रिक वर्कसपले २ लाख रुपैयाँ तिरेको वितरण कार्यालय भरतपुरका वीरबहादुर तामाङले जानकारी दिए ।

    मेघौलीमा रहेको बाराही रिर्सोटले ३ महिनादेखिको बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काट्ने जानकारी दिएपछि एक महिनाको रकम भुक्तान गरेको प्राधिकरणका कर्मचारीले जानकारी दिएका छन् ।

    @ कारोबार