सिँगटी खोला जलविद्युत् आयोजनाको ४५ प्रतिशत काम पूरा

    1259

    ०७५ चैत मसान्तभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य –

    दोलखाको उत्तरी गाउँ लामिडाँडा र बाबरेमा निर्माणाधीन सिँगटी खोला जलविद्युत् आयोजनाले ४५ प्रतिशत निर्माणकार्य सम्पन्न गरेको छ । ०७३ को असारबाट निर्माणकार्य थालनी गरेको आयोजनाले ५ हजार ६ सय मिटर लामो टनेलमध्ये अहिलेसम्म २ हजार १ सय ५० मिटर टनेल खनेको आयोजना प्रमुख मनोहरि सापकोटाले जानकारी दिए ।

    उनले भने, ‘चार तहबाट टनेल निर्माणको काम भइरहेको छ । दैनिक १२ मिटर टनेल निर्माण हुन्छ ।’ त्यस्तै आयोजनाको बाँध निर्माणको काम भने ८० प्रतिशत सम्पन्न भइसकेको छ । बाबरेको सोरुङखोला दोभानमा निर्माण भइरहेको बाँधसँगै डिसेन्डिङ बेसिनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ छ ।

    त्यस्तै पावरहाउस निर्माणको काम २० प्रतिशत सम्पन्न भइसकेको छ । आयोजनाको पेनस्टकको काम भने २४ प्रतिशत पूरा भइसकेको छ । डिसेन्डिङ बेसिनमा भने गत असारमा आएको बाढीले सामान्य क्षति गरेको थियो । अहिले हाइड्रोमेकानिकलतर्फको कामसमेत अगाडि बढिरहेको छ । क्रिम हाइडिल प्रालि बुटवलले जिम्मेवारी पाएको हाइड्रोमेकानिकलका केही सामग्रीहरू आयोजना स्थलमा आइसकेका छन् । केही भने नेपाल–भारतको सिमानामा ल्याइसकिएको सापकोटाले जानकारी दिए ।

    त्यस्तै इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अघि बढिरहेको आयोजनाले जनाएको छ । इलेक्ट्रोमेकानिकलको काम चाइनिज कम्पनी नान एलान वार्ड प्लान्टमार्फत अघि बढिरहेको आयोजना निर्देशक काजी लामाले बताए । आवश्यक प्रक्रिया पूरा भइसकेकाले उक्त कम्पनीले तुरुन्तै काम सुरु गर्ने उनको भनाइ छ । छोटो समयमा विद्युत् उत्पादन गर्न सक्ने विद्युत् आयोजनाहरूअन्तर्गत यो आयोजनालाई राखिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणसँग बढाबढ मूल्य प्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ‘सुपर सिक्स’ आयोजनाअन्तर्गत पनि यो आयोजना पर्छ । सिँगटी खोलाले ०७५ चैत मसान्तभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखेको आयोजनाका निर्देशक लामाले जानकारी दिए । एउटै मितिमा सम्झौता भएर निर्माण थालनी गरेका अन्य ५ वटा जलविद्युत् आयोजनाको तुलनामा सिँगटी नमुना भएको प्राधिकरणका अधिकारीहरूले बताएका छन् ।

    सुरुमा १६ मेगावाट मात्र विद्युत् उत्पादन गर्ने भनिएको यो आयोजनाले थप सम्भाव्यता अध्ययन गरेपछि २५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको हो । आयोजनाको वित्तीय व्यवस्थापन भने सिभिल बैंकको अगुवाइमा ११ वटा बैंकहरूले गरिरहेका छन् । आयोजनाको ग्रेस हेड २ सय ६८ मिटर रहेको छ । ४ अर्ब ४० करोड रुपैयाँ कुल लागत रहेको आयोजनाले हेडबक्स, रेडरेस सुरुङ र त्यहाँ पुग्न अडिट सुरुङ निर्माण गरिरहेको छ ।

    स्रोत:नयाँपत्रीका