मोदीखोलामा अर्को जलविद्युत्

    1766

    मोदी खोलामा अर्को जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसअघि तल्लो मोदी खोलाबाट १० मेगावाटको उत्पादन सुरु भइसकेको छ ।

    निजी क्षेत्रको कम्पनी युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी खोला २ आयोजना निर्माणका लागि अन्तिम सर्भे सकेको छ । चार वर्ष अघिदेखि १० मेगावाटको उत्पादन दिइरहेको कम्पनीले सोही आयोजनादेखि पावरहाउस रहने गरी साढे १० मेगावाटको लक्ष्यसहित आयोजन सुरु गर्न लागेको हो ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, भौगोलिक अध्ययन लगायतका प्राविधिक काम सकिएको छ । सर्वसाधारणमा सेयर खुला गर्न लागेको कम्पनीका स्थानीय निर्देशक उपेन्द्र गौतमले बताए । ‘सर्वेको अन्तिम चरणमा छौं,’ उनले भने, ‘भदौको अन्तिम वा असोजको पहिलो सातादेखि सेयर खुला गर्ने छौं ।’ युनाइटेड मोदी हाइड्रोपावरकै नाममा साढे ११ करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको उनले बताए । त्यसका लागि कम्पनीले एनआईबीएल बैंकलाई पत्राचार गरिसकेको छ ।

    ०६९ असोजदेखि उत्पादन सुरु गरेको युनाइटेड मोदीले सोही आयोजना नजिकै अर्को सुरु गर्न लागेको हो । आयोजनाको ड्याम सदरमुकाम नजिकैको चुवा र पावर हाउस मोदीबेनीस्थित कालीगण्डकीको दोभानमा रहने छ ।

    योसहित मोदी खोलामा मात्रै पाँचवटा जलविद्युत् हुनेभएका छन् । अहिले युनाइटेड मोदीकै तल्लो मोदी १ र नेपाल विद्युत् प्राधिकरणको मोदी खोला जलविद्युत् आयोजनाले उत्पादन दिइरहेका छन् । तल्लो मोदी १० र मोदी खोला १४ मेगावाटका हुन् । मनाङ ट्रेड लिंकले निर्माण गरिरहेको २० मेगावाटको तल्लो मोदी आयोजनाले यसै वर्षभित्र उत्पादन दिने गरी काम गरिरहेको छ । त्यस्तै चौधरी ग्रुपले १५ मेगावाटको मध्यमोदी आयोजना पनि डेढ वर्षदेखि निर्माण गरिरहेको छ । सुपर मोदी र अपर मोदी आयोजना गरी अरू दुई आयोजना पनि निर्माणको तयारीमा रहेको निर्माणाधीन मध्य मोदी आयोजनाका लेखा अधिकृत कृष्ण रिमालले बताए । सबै आयोजना बन्दा मोदीको पर्वत क्षेत्रमा पर्ने १७ किलोमिटर दूरीमा सात वटा जलविद्युत् निर्माण हुने छन् ।

    स्रोत : कान्तिपुर