२०३० मा विद्युत् माग १० हजार मेगावाट पुग्ने

    987

    नेपाल विद्युत् प्राधिकरणले परम्परित विद्युत् माग प्रक्षेपण गरिरहेका वेला योजना आयोग र लगानी बोर्डबाट आधुनिक विधिमार्फत प्रक्षेपण 
    नयाँ पत्रिका काठमाडौं, १८ साउन सन् २०३० मा विद्युत्को माग १० हजार मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय योजना आयोग र लगानी बोर्डले विद्युत् मागको संयुक्त अध्ययन गरेका थिए । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले तयार गरेको मोडलअनुरूप गरिएको अध्ययनमा सन् २०१४ लाई आधार वर्ष मानिएको छ । 

    लगानी बोर्डले माग प्रक्षेपण प्रतिवेदन पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ । सामाजिक–आर्थिक, प्रवधि र जनसंख्यालाई आधार मानी डिमान्ड प्रक्षेपण गरिएको छ । माग पूरा गर्न १० हजार ९२ मेगावाट जडित क्षमता आवश्यक पर्ने अध्ययनले देखाएको छ । ०३० मा प्रतिव्यक्ति ऊर्जा माग ९८ करोड युनिट पुग्ने प्रक्षेपण गरिएको छ ।

     सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन लक्ष्य राखी राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी आधारपत्र र कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । यद्यपि, कार्ययोजनाको प्रगति भने निराशाजनक छ।

     सन् २०१४ मा नेपालको जनसंख्या २ करोड ७६ लाख रहेको वार्षिक १ दशमलव ३५ प्रतिशतका दरले वृद्धि भई सन् २०३० मा ३ करोड ९० लाख पुग्ने अनुमान गरिएको छ । सहरी जनसंख्या ४० प्रतिशतबाट वृद्धि भई ४९ पुग्ने र ५४ लाख घरधुरी बढेर ७७ लाख पुग्ने अनुमान गरिएको छ । जानसांख्यिक बढ्दो प्रवृत्तिले प्रतिव्यक्ति ऊर्जा खपत उच्च हुने अध्ययनले देखाएको छ।

     नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) आधार वर्ष सन् २०१४ को तुलनामा ५ गुणा वृद्धि हुने अनुमान गरिएको छ । १० प्रतिशत औसत वृद्धि भई सन् २०३० मा जिडिपी ८३ अर्ब अमेरिकी डलर पुग्नेछ । उच्च आर्थिक वृद्धिसँगै विद्युत्/ऊर्जाको माग सोहीअनुसार बढ्नेछ । 

    सन् २०३० मा दाउरालगायतका परम्परागत ऊर्जाको हिस्सा २५ प्रतिशत, विद्युत्को २५ प्रतिशत, जैविक ऊर्जा १६ प्रतिशत, पेट्रोल डिजेल २७ प्रतिशत र अन्य ७ प्रतिशत पुग्नेछ, जुन अहिले क्रमश: ६५, ६, १४, ९ र ७ प्रतिशत छ । नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) सबैभन्दा बढी कृषिमा आश्रित छ । कृषिको जिडिपीमा रहेको ३० प्रतिशतको योगदान सन् २०३० सम्ममा २२ प्रतिशतमा झर्नेछ । कृषिको योगदानलाई खानी र उत्पादनमूलक क्षेत्रले विस्थापित गर्नेछन् ।

     खानी र उत्पादनमूलक क्षेत्रको जिडिपीमा अहिले रहको ७ प्रतिशत योगदान वृद्धि भई १२ प्रतिशत पुग्ने अध्ययनले प्रक्षेपण गरेको छ । यसैगरी, सेवा क्षेत्रको जिडिपीमा अहिलेको ५२ प्रतिशत योगदान सिमान्तीकृत रूपमा बढेर सन् २०३० मा ५४ प्रतिशत पुग्नेछ । परम्परागत ऊर्जालाई विद्युत्ले प्रतिस्थापन गर्नेछ । कृषिका लागि आवश्यक पर्ने सिाचाइमा पनि विद्युत्को प्रयोग गरिनेछ । यातायातमा पनि विद्युतीय सवारीसाधन प्रयोग हुनेछन् । सहरी क्षेत्रका बासिन्दाले खाना पकाउन विद्युत् प्रयोग गर्नेछन्, जसले एलपी ग्यासलाई विस्थापित गर्नेछ । 

    अहिले ३ प्रतिशतले मात्रै खाना पकाउन विद्युत्को प्रयोग गर्छन्, जुन सन् २०३० सम्ममा बढेर ५२ प्रतिशत पुग्नेछ । यसैगरी, ग्रामीण भेगमा पनि खाना पकाउन विद्युत्को प्रयोग बढ्नेछ । यसबाट विद्युत् उपभोग बढ्ने प्रतिवेदनले देखाएको छ । सन् २०३० सम्ममा कुल ऊर्जा मागमा विद्युत्को हिस्सा २३ प्रतिशत पुग्नेछ । सहरीकरण र उपभोक्ताको प्राथमिकताले गर्दा परम्परागत ऊर्जाका स्रोतको प्रयोग घट्नेछ ।

     प्राधिकरणको स्युचाटार सबस्टेसनमा आगलागी

     नेपाल विद्युत् प्राधिकरणको कलंकीमा रहेको सबस्टेसनमा आगलागी भएको छ । प्राधिकरणको स्युचाटारमा रहेको सबस्टेसनमा मंगलबार दिउँसो आगलागी भएको हो । एक घन्टा लागेको आगोले एक करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आगलागीका कारण मंगलबार दिउँसो २ घन्टा बत्ती अवरोध भएको थियो।

     आगलागीबाट १२ मेगाभोल्टको एउटा ट्रान्सफर्मर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । काठमाडौं तथा ललितपुरका दमकलले पानी प्रयोग नगरी आगो निभाएका थिए । आगलागीबाट अन्य उपकरणमा भने क्षति नभएको प्राधिकरण भार प्रेषण विभागले जनाएको छ । आगलागीका कारण काठमाडौं उपत्यकासहित हेटौँडादेखि कोहलपुरसम्मको विद्युत् आपूर्तिमा अवरोध आएको थियो । आगलागी नियन्त्रणपछि यी क्षेत्रमा विद्युत् आपूर्ति भएको थियो । स्युचाटारमा रहेका ३ वटा ट्रान्सफर्मरमध्ये एउटा जलेको र अहिले बाँकी २ वटाबाट काम चलाइएको प्राधिकरणले जनाएको छ ।

     विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आगलागीको छानबिन भइरहेको र केही दिनमा विस्तृत विवरण आउने जानकारी दिए । उनले आगलागीबाट केही सयम विद्युत् आपूर्तिमा अवरोध भए पनि अवस्था सामान्य भइसकेको बताए । 
    नयॉ पत्रिका