प्रधानमन्त्री ओलीलाई ५ चैतमै जलविद्युतकाे सेयर

1116

ओलीले ३५ दिनभित्र सेयर किन्छु भनेका थिए, ३३ दिनमै पाउने भए

 २४ फाल्गुण,२०७५

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ बी (३७ मेगावाट)को पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ चैतमै दिने तयारी भएको छ । प्रधानमन्त्री ओलीले २ फागुनमा सो कार्यक्रमको घोषणा गर्दै ३५औँ दिनमा (७ चैत)मा आफूले कार्यक्रमअन्तर्गत अघि बढ्ने आयोजनाको पहिलो सेयर किन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, प्रधानमन्त्रीले घोषणा गरेभन्दा दुई दिनअगाडि नै सेयर किन्न पाउने भएका हुन् ।

ओलीको सो प्रतिबद्धता पूरा गराउन पनि कार्यक्रमको कार्यविधि चाँडो बनाइएको कार्यक्रम संयोजन समिति सदस्यसचिव हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । उनका अनुसार कार्यक्रमका लागि आवश्यक कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘कार्यविधि निर्माण अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गर्ने तयारी छ ।’ मन्त्री पुन १२ सदस्यीय कार्यक्रम संयोजन समितिको संयोजक हुन् ।

कार्यक्रम घोषणा भएको भोलिपल्टै (३ फागुनमा) संयोजन समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कानुन हेर्ने सहसचिव तोयानाथ अधिकारीको संयोजकत्वमा कार्यविधि निर्माण कार्यदल गठन गरेको थियो । समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेल, एचाइडिसिएलका सिइओ छविराज पोखरेल, नेपाल विद्युत् प्राधिकरणको कानुन विभागका निर्देशक बेलप्रसाद शर्मा सदस्य रहेका छन् ।

त्यस्तै, समितिले माथिल्लो त्रिशूली ३ बी आयोजनाको कार्ययोजना बनाउन ऊर्जा मन्त्रालयको नीति महाशाखाका सहसचिव (प्रवक्ता) प्रवीणराज अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलमा ऊर्जा मन्त्रालयका सहसचिव नवीनराज सिंह र विद्युत् उत्पादन कम्पनी लिमिटेडका कार्यकारी निर्देशक मोहनराज पन्त सदस्य छन् । तर, कार्यदल संयोजक अर्यालको कार्य व्यस्तताका कारण हाल सहसचिव सिंहको नेतृत्वमा त्रिशूली ३ बीको कार्ययोजना निर्माण अघि बढिरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ऊर्जा मन्त्रालयले आकर्षक देखिएका १९ वटा जलविद्युत् आयोजनामार्फत ३ हजार ४ सय ७९ मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्यक्रम अघि बढाएको हो ।

के छ बन्दै गरेको कार्यविधिमा ? 
एचआइडिसिएलका सिइओ छविराज पोखरेलका अनुसार जनताको जलविद्युत् कार्यक्रमको कार्यविधिले ५१ प्रतिशत सेयर सरकारी र ४९ प्रतिशत सेयर सर्वसाधारण रहने व्यवस्था गर्न लागेको छ । त्यस्तै, सर्वसाधारणले पाउने ४९ प्रतिशतमध्ये स्थानीय प्रभावितलाई १० प्रतिशत र बाँकी देशभरका सर्वसाधारणलाई ३९ प्रतिशत सेयर दिनेछ । आयोजना निर्माण सुरु भएपछि आफूले लिन चाहेको सेयरबापतको कुल रकममध्ये सुरुमा १० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि बाँकी ९० प्रतिशत रकम भुक्तानी गरी सेयर प्रमाणपत्र दिने व्यवस्था गरिएको छ । सेयर प्रमाणपत्र नपाउन्जेलसम्मको अग्रिम भुक्तानीको १० प्रतिशत रकमको ब्याज भुक्तानीसमेत सर्वसाधारणले पाउनेछन् । सर्वसाधारणले प्रतिकित्ता १०० अंकित दरका सेयर कम्तीमा १० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको किन्न पाउनेछन् ।

सेयर किन्न मिल्ने कार्यविधि तयार भइसकेको छ
छविराज पोखरेल, सदस्य सचिव, जनताको जलविद्युत् कार्यक्रम संयोजनन समिति

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत १९ आयोजना अघि बढाउनल लागिएको छ । आकर्षक देखिएका यी आयोजनामध्ये ३७ मेगावाटको माथिल्लो त्रिशूली ३बी पहिलो चरणमा अघि बढाउन लागिएको छ । कार्यक्रम अघि बढाउन आवश्यक कार्यविधिको मस्यौदा निर्माण भइसकेको छ । आइतबार ऊर्जामन्त्रीज्यूलाई बुझाउने कार्यक्रम छ । कार्यक्रमको उद्घाटन समारोहमा प्रधानमन्त्रीज्यूले ७ चैतमा पहिलो सेयर किन्ने प्रतिबद्धतासमेत जाहेर गरिसक्नुभएको छ । त्यसैअनुसार ५ चैतमै सेयर किन्न मिल्ने गरी कार्यविधि निर्माणलगायत आवश्यक तयारी अघि बढाइरहेका छौँ । सेयर खरिद गरेबापतको रकम दुई किस्तामा भुक्तानी गर्न पाइने र प्रमाणपत्र नपाउन्जेलसम्म सुरुमा गरिने १० प्रतिशत भुक्तानी रकमको ब्याजसमेत पाइने भएकाले यो कार्यक्रममा आमसर्वसाधारणले राम्रो सहभागिता जनाउनुहुन्छ भन्ने अपेक्षा छ ।

 

पुष्प कोइराला

स्रोत:नयाँपत्रीका