कुलमान घिसिङले औंल्याए हाइड्रो उपकरणका समस्या

    1702

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाइड्रोपावर निर्माण कार्यको क्रममा देखिने उपकरणहरुका महत्वपूर्ण समस्यालाई आैंल्याएका छन् । बुधबार काठमाडौंमा एन्ड्रीज हाइड्रो नेपालले आयोजना गरेको कार्यक्रममा उनले नेपाल हाइड्रोपावरको लागि ठूलो बजार रहेको बताए ।an

    उनले नेपालमा हाइड्रोपावर निर्माण तथा सोसम्बन्धी परियोजना सञ्चालन गरिरहँदा हाइड्रो पावरका उपकरणहरुमा ‘आफ्टर सेल्स सर्भिस’ भरपर्दो नहुने र मूल्य बढी हुने गरेको समस्या औंल्याएका थिए । “नेपालमा हाइड्रोपावरको बजार ठूलो छ,” उनले भने, “हालससम्म क्षमताको करिब १ प्रतिशत मात्र विद्युत उत्पादन भएको छ । हजारौं मेगावाट विद्युत उत्पादन गर्न बाँकी नै छ ।”

    उनले मुलुकमा दर्जनांै विद्युत उत्पादन परियोजनाहरु सञ्चालनमा रहेको र सञ्चालन गर्ने योजनामा रहेको बताए । त्यसका लागि टर्बाइन, जेनेरेटर लगायतका सानादेखि ठूला विद्युत उपकरणहरुको आवश्यकता छ । हाल त्यस्ता उपकरणहरु नेपालले विभिन्न मुलुकबाट ल्याउने गरेको छ । हाइड्रो सप्लायर्स तथा उत्पादक कम्पनीहरुले आफ्टर सेल्स सर्भिसलाई प्रभावकारी बनाउन, उपकरणको उचित मूल्य राख्न तथा गुणस्तरीय बनाउन उनले सुझाव दिए ।

    सहरी विकास मन्त्री दिलनाथ गिरीले नेपाल विश्वको ठूलो जलस्रोतको भण्डार मध्ये एक भए पनि यसको सदुपयोग हुन नसकेको बताए ।

    कार्यक्रमका एन्ड्रीज भारतका सीइओ जोसेफ एम उल्लमरले व्यापारिक सम्बन्धको लागि नेपाल महत्वपूर्ण रहेको बताए । सम्बन्धलाई प्रगाढ बनाउन नेपालमा समेत आफ्नो शाखा कम्पनी खोलिसकेको उनले जानकारी दिए ।

    कम्पनीले नेपालमा दुई दशक अघिदेखि आफ्ना हाइड्रोका उपकरणहरु बिक्री गरिरहेको बताएको छ ।

    स्रोत:बाह्रखरी