सिक्लेस जलविद्युत् आयोजना सम्पन्न

    1541

    कार्तिक १६, २०७४-कास्कीको मादी गाउँपालिका सिक्लेसमा १३ मेगावाट क्षमताको सिक्लेस जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।

    आयोजनाले हाल विद्युत् उत्पादनपूर्व आवश्यक चार्जिङ र परीक्षणको काम गरिरहेको छ । आयोजना निर्देशक किरण केसीका अनुसार मडयु खोलाको पानीलाई डेढ किलोमिटर नहर र ८ सय मिटर पाइपबाट विद्युत् गृहसम्म पुर्‍याइएको छ । ‘निर्माण सकिएर र उपकरण जाँचको काम भइरहेको छ,’ केसीले भने, ‘यही कात्तिक २६ मा पानी हालेर विद्युत् उत्पादन परीक्षण गरिनेछ ।

    मंसिर पहिलो सातादेखि व्यावसायिक उत्पादन हुनेछ ।’ आयोजनाले बाँधस्थलदेखि विद्युत् गृहसम्मका सबै उपकरणको परीक्षण गरिरहेको छ । उत्पादित बिजुलीलाई १४ किलोमिटर तल रहेको २५ मेगावाट क्षमताको अपर मादी जलविद्युत् आयोजनाको सबस्टेसनमा जोडिने उनले बताए । त्यहाँबाट लेखनाथस्थित विद्युत् प्राधिकरणको सबस्टेसनमा यसअघि नै प्रसारण लाइन जडान भइसकेको छ । आयोजना रन अफ दि रिभर प्रकृतिको हो ।

    आयोजना करिब २ अर्ब ५ करोड रुपैयाँको लागतमा सम्पन्न भएको केसीले बताए । यसमा पोखराको चर्चित केसी ग्रुपको मुख्य लगानी छ । अन्य लगानीकर्तामा पोखरेली व्यवसायी र एनआरएन उपाध्यक्ष कुल आचार्यलगायत गैरआवासीय नेपाली पनि छन् ।

    नेपाल बैंकको अगुवाइमा ७ बैंकले आयोजनामा लगानी गरेका छन् ।

    दुई वर्षमा सक्ने भन्दै चार वर्षअघि निर्माण सुरु भए पनि भूकम्प र नाकाबन्दीका कारण डेढ वर्ष ढिला भएको केसीले बताए । उनका अनुसार आयोजनाका लागि पोखरादेखि पर्यटकीय गाउँ सिक्लेससम्मको ४४ किलोमिटर सडकसमेत बनाउनुपरेको र अहिले नियमित मर्मत भइरहेको छ । आयोजनाले ९ मेगावाट ९ सय ६८ किलोवाट विद्युतको सुख्खायाममा ७ रुपैयाँ र वर्षायाममा ४ रुपैयाँ प्रतियुनिट छ भने बाँकी ३ मेगावाट ३२ किलोवाट बिजुली भने सुख्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा बिक्री गर्ने गरी सम्झौता भएको केसीले बताए ।

    स्रोत:कान्तिपुर