माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना सम्पर्क मार्गको निर्माण सेप्टेम्बरमै थालिँदै

    2496

    भदौ १९, काठमाडौं ।

    trishuli-1-road माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाअन्तर्गत सम्पर्क मार्गको निर्माण सेप्टेम्बर महीनामै थालिने भएको छ । सो आयोजनाको निर्माण नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी (एनडब्ल्यूईडीसी) लिमिटेडले गर्न लागेको हो । सो मार्गअन्तर्गत १२ किलोमिटर सम्पर्क मार्ग र ३ किलोमिटर ‘सर्जशाफ्ट’ मार्ग हुनेछ । सम्पर्क मार्ग रसुवा जिल्लाको धुञ्चे गाविसअन्तर्गतको मैलुङ दोभानबाट शुरू भई आयोजनाको इण्टेकसम्म पुग्छ । सो इण्टेक त्रिशूली खोला र भोटेकोशीको दोभानभन्दा २ सय मिटर तल रहेको छ ।

    आयोजनाको इञ्जिनीयरिङ डिजाइन तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको कम्पनीका कार्यकारी अध्यक्ष किम क्युङ सिकले अभियानलाई बताए । उनका अनुसार कम्पनीले आयोजनाका ड्रिलिङ तथा ड्रिफ्टिङ कार्य पनि थालिसकेको छ । सो कार्यअन्तर्गत सानो सुरुङ बनाएर आयोजनास्थलको भौगर्भिक स्थितिबारे अध्ययन गरिन्छ । कम्पनीले आयोजनाका लागि आवश्यक पर्ने जग्गा जग्गाधनीहरूबाट अधिग्रहण गर्ने काम पनि पूरा भइसकेको बताएको छ । अधिग्रहण गरिएको जग्गा करीब ७४ रोपनी रहेको छ । त्यस्तै आयोजनास्थलका लागि २० रोपनी जग्गा लिजमा लिइएको छ । कम्पनीका अनुसार आयोजनास्थलमा भएका रूख काट्ने स्वीकृति पनि लिइसकिएको छ । कम्पनीले गुठी जग्गा अधिग्रहण गर्ने काम पनि भइरहेको जानकारी दिएको छ । स्रोतका अनुसार आयोजनाका लागि करीब ८० हेक्टर सरकारी जग्गा लिजमा लिइनेछ ।

    कार्यकारी अध्यक्ष किमका अनुसार सम्पर्क मार्गका लागि ट्र्याक खोल्ने काम भने पूरा भइसकेको छ । स्वदेशी तथा विदेशी लगानीकर्ताको लगानीमा निर्माण हुन लागेको सो आयोजनाको क्षमता २ सय १६ मेगावाट रहेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग कनेक्शन एग्रीमेण्ट भइसकेको पनि जानकारी दिएको छ । २०१३ अगष्टमा भएको शेयर खरीद प्रतिबद्धता सम्झौताका लागि उद्योग विभाग तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भइसकेकाले शेयरसम्बन्धी वित्तीय व्यवस्था पनि पूरा भइसकेको कम्पनीले बताएको छ । आयोजनाको ऊर्जा उत्पादन केन्द्रदेखि माथिल्लो त्रिशूली–३ बी हबसम्म पुग्ने १० किमी इण्टरकनेक्टिङ ट्रान्समिशन लाइनबारे आईईई प्रतिवेदन तयार पार्ने काम पनि भइरहेको बताइएको छ ।

    आयोजनाको प्रवर्द्धकमा कोरियाली कम्पनीहरू कोसेप, डायलिम र क्येर्योङ्का साथै इण्टरनेशनल फाइनान्स कर्पोरेशन र नेपाली प्रवर्द्धक रहेका छन् । आयोजनाले १ हजार ४ सय ५६ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । आयोजनाको निर्माण कार्य सन् २०१९ मार्चसम्ममा पूरा भई विद्युत् उत्पादन शुरू हुने अनुमान गरिएको छ । आयोजनाबाट प्रभावित स्थानीय जनता तथा स्थानीय प्रशासनसँग सुमधुर सम्बन्ध कायम रहेको कम्पनीले बताएको छ । एक स्थानीय बासिन्दाले जनता आयोजना निर्माण भएको हेर्न चाहेको बताए । आयोजनाले ५ सय जना स्थानीय बासिन्दालाई रोजगारी उपलब्ध गराउनेछ । काठमाडौंबाट ७० किमी उत्तर पश्चिममा रहेको सो आयोजनाले देशमा हाल जडित जलविद्युत् क्षमतामा करीब एक तिहाइ (२ सय १६ मेगावाट) थप गर्ने छ । आयोजनाबाट उत्पादन हुने विद्युत् सुक्खा याममा पनि १ सय ४ मेगावाट हुनेछ ।

    Source : Abhiyan