विद्युत् वितरण भूमिगत: पहिलो चरणमा रत्नपार्क–महाराजगञ्ज

    1925

    काठमाडौँ, असोज १९ गते । सरकारले उपत्यकाभित्रको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने योजना अघि सारेसँगै पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रको विद्युत् प्रवाह भूमिगत गर्ने कार्ययोजना बनाएको छ । यस कार्यका लागि प्राधिकरणले ग्लोबल टेन्डर आह्वान पनि गरिसकेको छ । यही असोज महिनाको अन्तिम साताभित्र बोलपत्र पेस गरिसक्नुपर्ने समयावधि
    दिइएको छ ।

    ‘बोलपत्रदाताले भूमिगत वितरण प्रणालीको डिजाइन, आवश्यक सामग्रीको आपूर्ति, वितरण गरिने विद्युतीय तार प्रणालीको जडान तथा सञ्चालनसम्म गर्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका मूख्य सडक ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत तथा अटोमेसनमा लैजानुपर्ने छ ।

    वितरण प्रणालीलाई व्यवस्थित तथा अत्याधुनिक प्रविधिबाट भूमिगत बनाउनुका साथै अप्टिकल फाइबर बिछ्याउने र बिजुली वितरणको सबै तथ्याङ्कलाई व्यवस्थित गर्नका लागि दुवै वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्माट मिटर) पनि जडान गरिने भएका छन् । यो प्रणाली जडान भएपछि विद्युत् वितरण प्रणालीमा सहजता आउनुका साथै गुणस्तरीय विद्युत् आपूर्तिमा पनि तुलनात्मक फरक देखिने दाबी प्राधिकरणको रहेको छ ।

    प्राधिकरणका अनुसार दुईवटा वितरण केन्द्रसहित उपत्यकाका अन्य नौवटा वितरण केन्द्रमा पनि तारलाई भूमिगत गर्ने र दोस्रो चरणमा देशका अन्य प्रमुख सहरमा पनि यो प्रणालीको विस्तार गर्दै लैजाने योजना बनाएको छ । प्राधिकरणका एक अधिकारीले भन्नुभयो, अब भूमिगत लाइनको विकास नगरेर सुख्खै छैन । उपत्यकामा मात्र होइन, देशका प्रमुख सहरमा यसको आवश्यकता छ । प्राधिकरणले दीर्घकालीन योजना बनाएर काम गर्ने सोचमा छ । लाइनलाई आधुनिकीरण गर्दै स्मार्ट मिटर जडान गर्नका लागि प्राधिकरणले ऊर्जा मन्त्रालयमा प्रस्ताव पठाइसकेको बताइएको छ ।
    प्राधिकरणले बिजुलीका तारको व्यवस्थापन गर्न भूमिगत प्रणालीको विकास गर्न खोजी रहेका बेला इन्टरनेट, केबल टिभी तथा टेलिफोनको सेवा प्रवाह गरिरहेका अन्य सरकारी तथा गैरसरकारी निकायले पनि प्राधिकरणको सँगै अन्य सेवा प्रवाह गर्ने तारलाई पनि भूमिगत गर्न सरकारसँग माग गरेका छन् ।
    सूचना तथा सञ्चार मन्त्रालयलाई त्यसतर्फ योजना बनाउन सरोकारवाला सेवा प्रदायकले आग्रह गरेका छन् । बिजुली तथा टेलिफोनका पोल प्रयोग गरेका इन्टरनेट तथा केबल टिभी सञ्चालकहरूरुले आफ्ना सेवाहरूलाई पनि भूमिगत तार व्यवस्थापनका माध्यामबाट प्रवाह गर्नसके सहरको सुन्दरतामा असर नपर्ने र सुरक्षाको चुनौती कम हुने धारणा राखेका छन् ।

    स्रोत:गोर्खापत्र