वर्षौंअघि दर्ता विद्युत् आयोजनाको काम भएन

    1015

    फाल्गुन १९, २०७३- जलविद्युत्का लागि खोला दर्ता गरेको वर्षौं बिते पनि आयोजनाले काम थालेका छैनन् ।

    उत्तरी षडानन्द नगरपालिका, कुदाकाउले र नेपालेडाँडा गाविसको बीचमा पर्ने चिर्खुवा खोलामा ९ मेगावाटको विद्युत् उत्पादनका लागि ०६६ मा दर्ता गरेको थियो । ०७६ मा सम्पन्न गर्ने गरी चिर्खुवाखोला हाइड्रो कम्पनीले दर्ता गरे पनि काम थालेको छैन ।

    उत्पादन गरिएको विद्युत् केन्द्रीय प्रसारण लाइन (ग्रिड लाइन) मा जोड्न समस्या भएकाले आयोजना ढिला भएको निर्देशक गणेश बुढाथोकीले बताए । एक मेगावाटदेखि माथिका जलविद्युत् आयोजना ग्रिड लाइनमा जोडेपछि मात्र प्रयोग गर्न सकिन्छ ।

    १ अर्ब ६२ करोडको लागतमा निर्माण हुन लागेको चिर्खुवाको प्राविधिक काम सकिएको ६ वर्ष बितेको छ । विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) असारमा सम्पन्न भइसकेको छ । लगानी व्यवस्थापनका लागि बैंक र नेपाल बंगलादेश बैंकसँग सम्झौता भइरहेको छ । बैंकले ७० प्रतिशत र जनताले ३० प्रतिशत व्यहोर्नेछन् ।

    संखुवासभाको तुम्लिङटारमा कोसी करिडोर बनाइरहेको हुँदा ग्रिड लाइनका लागि सहज हुने भएको छ । चिर्खुवाले निर्माण कार्य चाँडै सुरु गर्न लागेको छ । एक महिनाभित्र राजनीतिक दल, सरोकारवाला पक्षसँग बसेर सर्वपक्षीय भेला डाकेलगत्तै काम थाल्ने निर्देशक बुढाथोकीले बताए । ‘प्रभावित क्षेत्रका जग्गाको मुआब्जा, नगद र सेयर दिनेबारे र सेयर बाँडफाँटका सम्बन्धमा भेला सक्ने बित्तिकै काम सुरु हुन्छ,’ उनले भने । दर्ता भएको ७ वर्ष पछाडि निर्माणमा कम्पनी जुटेको छ । तोकिएको म्याद सालाखाला एक वर्ष मात्र बाँकी छ । जलविद्युत् ऐनको प्रक्रिया लामो भएका कारण प्रक्रिया पुर्‍याउँदै ढिला भएको जनाएको छ । प्रक्रिया पुगिसकेकाले एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीको दाबी छ ।

    नेपालेडाँडा र कुलुङ गाविसको बीचमा पर्ने इखुवामा जलविद्युतका ३ वटा योजना दर्ता भएका छन् । १५, १२ र १५ मेगावाटका ३ वटा आयोजना दर्ता भएको वर्षौं बितेको छ । दुईवटा ०६९ मा दर्ता भए । काम थालेका छैनन् । एउटा केही समयअघि दर्ता भएको थियो । कुलुङ र संखुवासभा जोड्ने संखुवाखोलामा
    ३५ र २५ मेगावाटका आयोजना दर्ता भएका छन् । संखुवामा ०६७ मा व्यक्तिको नाममा दर्ता भएको थियो ।

    लाइसेन्स नभएपछि विद्युत् विकास बोर्डले निर्माणको जिम्मा लिएको छ । यसले समेत निर्माण थालेको छैन । पिखुवाखोलामा इस्टर्न हाइड्रोपावर कम्पनीले वर्षौंअघि थालेको निर्माण अझै सकेको छैन । कम्पनीले लागत व्यवस्थापन गर्न नसकेर निर्माणाधीन अवस्थामा डेढ वर्ष बन्द गरेको थियो । लगानी जुटाएर केही समययता कामलाई निरन्तरता त दिएको छ । सम्पन्न होला/नहोला भन्नेमा सर्वसाधारणलाई आशंका छ । जिल्लामा ठूला मेगावाटका जलविद्युतले विद्युत् आपूर्ति र आर्थिक उन्नतिको अपेक्षा राखिए पनि आयोजना बन्न नसक्दा सर्वसाधारणमा निराशा छाएको छ । आयोजना कम्पनीले राजस्व तिर्दै खोला ढाकेर बसेका र नियमनकारी निकायले कारबाही गर्न नसक्दा विकासको आशा बोकेका सर्वसाधारणमा निराशा छाएको सावित्रा मावि कुदाककाउलेका शिक्षक सन्तोष राईको भनाइ छ । खोला दर्ता गर्ने बेला आयोजना कम्पनी आफू सक्षम नभईकन दर्ता गर्ने, भौगोलिक विकटतालगायतका समस्या देखा पर्न थालेपछि कम्पनी हराउने गरेका छन् ।

    ‘दर्ता गर्नेबेलामा कसले चाँडो दर्ता गर्ने होडबाजी गरे, दर्ता भएका वर्षौं बिते, अहिलेसम्म कसैले निर्माण गर्न सकेका छैनन्,’ नेपालेडाँडाका चन्द्रप्रकाश भण्डारीले बताए । काम देखाउनकै लागि असार महिनामा आएर डोजर हान्ने, त्यसपछि वर्षातको कारण देखाउँदै आयोजना कम्पनीहरू महिनौं हराउँछन् । केही आयोजना निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुज्रनै लागेकाले काम थाल्ने सुरसारमा देखिन्छन् । अधिकांश आयोजनालाई सकिन लागेको म्यादका बारेमा हेक्का छैन ।

    पिखुवा, इर्खुवा, चिर्खुवा, कावा, सेराखोला, अखुवाखोला, छिन्तालुङ, बुवा, जुके, नेवासुखे, घट्टे, बल्खुलगायत ३० भन्दा बढी खोला जलविद्युत् आयोजनाका लागि उपयुक्त छन् । सबै खोला जलविद्युत् तथा लघुजलविद्युत् आयोजनाले ओगटेका प्राविधिक कार्यालयका सब–इन्जिनियर नवराज लम्सालले बताए । ‘आयोजनाका लागि दर्ता नभएका खोला कुनै छैनन्,’ उनले भने । जलस्रोतको संशोधन ऐन २०६६ अनुसार २०५७ देखि विद्युत् प्रयोजनका लागि खोला दर्ता सुरु भएको थियो ।

    स्रोत:कान्तिपुर