कालीगण्डकी करिडोरमा जलविद्युत् आयोजनाको काम तीव्र

    2313

    बेनी : म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी सबस्टेसन र प्रसारण लाइन निर्माण हुने भएपछि कालीगण्डकी करिडोर क्षेत्रमा लामो समयसम्म रोकिएका जलविद्युत् आयोजनाको कामले गति लिएको छ । म्याग्दी र मुस्ताङका आधादर्जन जलविद्युत् आयोजना सबस्टेसन र प्रसारण लाइनको अन्योलताका कारण निर्माण चरणमा प्रवेश गरे पनि पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको थिएन ।

    नेपाल विद्युत् प्राधिकरणले यी दुवै ठाउँमा रहेको जग्गाको मुआब्जा विवाद टुंगाएर ठेकेदार छनोट गरी कार्यक्षेत्रमा काम सुरु गरेपछि म्याग्दीको नारच्याङमा निर्माणाधीन ४२ मेगावाटको मिरिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला, मुस्ताङको टुकुचेमा निर्माणाधीन १४ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणको कामलाई तीव्र बनाएको छ भने म्याग्दीको घारमा १४ मेगावाटको घारखोला, वेगखोलामा ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, नारच्याङमा ३८ मेगावाटको निलगिरि पहिलो र ६५ मेगावाटको निलगिरि दोस्रो आयोजनालेसमेत कानुनी प्रक्रिया अघि बढाएका छन् ।

    निर्माणधीन थापाखोलाको ८५ प्रतिशत र घलेम्दी खोलाको ७० प्रतिशत काम सम्पन्न भइसकेका छन् । सन् २०१६ को फेब्रुअरीमा सम्पन्न गर्ने लक्ष्य रहे पनि सबस्टेसन र प्रसारण लाइन निर्माणको सुनिश्चितता नभएका कारण निर्माण प्रक्रिया अल्झिएको मिरिस्त्रीले गत असोजदेखि सुरुङ, पावरहाउस, इन्टेक निर्माणलाई तीव्रता दिएको जनाएको छ । आयोजनाका प्रबन्ध निर्देशक डोलराज शर्माले सरकारले समयमै सबस्टेसन र प्रसारण लाइन निर्माण नगर्दा आयोजनाको निर्माण कार्य स्वभाविक हिसाबले पछि सरेको बताउनुभयो ।

    ‘अब हामीले सन् २०१९ भित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरेका छौं । यो अवधिमा सम्पन्न गर्न सरकारले अहिले जसरी सबस्टेसन र ट्रान्समिसनको काम गरिरहेको छ, त्यसलाई निरन्तरता दिनुपर्छ’, उहाँले भन्नुभयो । कालीगण्डकीसँग सहायक नदीका रूपमा मिसिने घारखोला, मिरिस्त्री, घलेम्दीखोला र थापाखोलाबाट सहज रूपमा विद्युत् उत्पादन गर्न सकिने भए पनि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन नहुँदा आयोजनाका लागि अनुमति लिने तर काम नहुने समस्या छ ।

    सरकारले यस क्षेत्रमा निर्माण हुने जलविद्युत्लाई दाना-खुर्कोट हुँदै नवलपरासीको बर्दघाट जोड्ने गरी बहुप्रतिक्षित आयोजना अघि सारेको छ । सोही अनुरूप दाना-खुर्कोटमा ३८ किलोमिटर प्रसारण लाइन बन्नेछ । जहाँ ११० वटा टावर निर्माण हुनेछ । टावर निर्माणस्थलका विषयमा केही स्थानमा समस्या भए पनि त्यसलाई तत्काल समाधान गर्न सकिने बताइएको छ । प्रसारण लाइनको क्षमता १२ सय मेगावाटको हुनेछ । प्राधिकरणले २०७५ साल साउनभित्र दुवै स्थानमा सबस्टेसन र प्रसारण लाइन निर्माण गरिसक्ने गरी दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ ।

    सरकारले आफ्नो तर्फको कामलाई तीव्रता दिएपछि कालीगण्डकी करिडोर क्षेत्रमा जलविद्युत् आयोजनाका कामले तीव्रता पाएको घलेम्दी हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । ‘घलेम्दी, मिरिस्त्री र थापाखोलाले देखिने गरी नै कामलाई तीव्र बनाएका छन् । अबको डेढ वर्षभित्र यी आयोजना सम्पन्न हुनेछन्’, उहाँले भन्नुभयो, ‘अरु अनुमति लिएका आधा दर्जनभन्दा बढी आयोजनाले पनि आन्तरिक तथा बाह्य कामलाई तीव्र बनाएका छन् ।’ लामो समयदेखि अवरुद्ध बनेको आयोजनाले काम अघि बढाउँदा नारच्याङ, टुकुचे, घार, दाना, भुरुङतातोपानीलगायतका क्षेत्रमा स्थानीयबासीले रोजगारसमेत पाउन थालेका छन् ।

    ‘सरकारी कामको तीव्रताले लगानीकर्तामा नयाँ उत्साह थपिएको छ, नयाँ लगानीकर्ता पनि आउन लागेका छन्’, महासंघका उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सरकारले जति छिटो सबस्टेसन र प्रसारण लाइन बनाउँछन् त्यति नै छिटो आयोजना सम्पन्न हुनेछन् ।’

    स्रोत:अन्नपूर्ण पोस्ट