लोडसेडिङ हटेपछि अर्थतन्त्रमा उत्साह

    3721

    राजधानीमा लोडसेडिङ हटेको र बाहिर पनि कम भएसँगै अर्थतन्त्रका सबै क्षेत्रमा सकारात्मक प्रभाव 

    कर्पोरेट क्षेत्रमा इन्धन खपत घट्यो
    अजित अधिकारी/नयाँ पत्रिका
    काठमाडौं, १० पुस

    विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रलाई लोडसेडिङमुक्त गराएपछि कर्पोरेट क्षेत्रले विद्युत्का लागि उपयोग गर्दै आएको इन्धन खपतमा कमी आएको छ । आवश्यकताअनुसार विद्युत् पाएपछि उपत्यका र आसपासमा रहेका बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, विमान कम्पनी, दूतावास, निर्माण कम्पनी, अस्पताल, उद्योग, होटेल, दूरसञ्चार सेवा प्रदायकलगायतले आयल निगमको थानकोट डिपोबाट सोझै खरिद गर्ने इन्धन परिमाण घटाएका छन् । केहीले थानकोटबाट खरिद गर्नै छाडेका छन् । ठूलो परिमाण (बल्क)मा इन्धन खरिद गर्ने उद्योग, कलकारखानालगायतलाई थानकोट डिपोले ट्यांकरबाट सोझै उपलब्ध गराउने गरेको थियो ।

    कहिले कति खपत ?

    थानकोट डिपोको तथ्यांकअनुसार मंसिरमा कर्पोरेट क्षेत्रले कुल ३ लाख ४ हजार लिटर डिजेल लगेका छन् । जुन परिमाण लोडसेडिङ रहँदाको तुलनामा कम हो । गत साउनमा थानकोटबाट कर्पोरेट क्षेत्रले ५ लाख ३२ हजार ४ सय लिटर र भदौमा ४ लाख ६३ हजार ७ सय लिटर डिजेल लगेका छन् । दसैँ बिदाका कारण उद्योग, कलकारखाना र व्यावसायिक संघसंस्था थोरै दिन सञ्चालन भएका कारण असोजमा २ लाख ९४ हजार ७ सय लिटर डिजेल खपत भएको छ । कात्तिकमा ३ लाख ५८ हजार लिटर डिजेल थानकोटले कर्पोरेट क्षेत्रलाई बिक्री गरेको छ ।

    धेरैले किन्न छाडे

    गत साउनमा थानकोट डिपोबाट ५५ कम्पनीले सोझै आफ्ना उद्योग, प्रतिष्ठानमा बल्कमा डिजेल खरिद गरी लगेका थिए । तर, मंसिरमा ३८ कम्पनीले मात्रै डिजेल लगेको थानकोट डिपोले जनाएको छ । लोडसेडिङ हुन छाडेपछि १७ कम्पनीले डिजेल लैजान छाडेको देखिन्छ । तथ्यांकअनुसार चौधरी ग्रुप मातहतको सिजी फुड्सले मंसिरमा डिजेल लगेको छैन । साउनमा ४ हजार, भदौ र असोजमा समान ६ हजार लिटर डिजेल खपत गरेको सिजीले कात्तिकमा ३ हजार मात्रै डिजेल लगेको देखिन्छ । प्रत्येक महिना ३ हजार लिटर डिजेल खपत गर्ने सानिमा बैंक लिमिटेडले मंसिरमा लगेको छैन ।

    धेरै लैजानेले थोरै लिन थाले

    उद्योग सञ्चालनका लागि धेरै डिजेल खपत गर्ने उद्योगले कम लैजान थालेका छन् । प्रत्येक महिना ६ हजार लिटर डिजेल खपत गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) ले मंसिरमा ३ हजार लिटर मात्रै लगेको छ । त्यस्तै १२ हजार लिटर खपत गर्दै आएको देउराली जनता फार्मस्युटिकल्स् प्रालिले मंसिरमा ६ हजार लिटर मात्रै लगेको छ । दरबारमार्गस्थित पाँचतारे होटेल डे ला अन्नपूर्णले साउनमा ३० हजार र भदौमा २४ हजार लिटर डिजेल लगेको थियो । सोही क्षेत्रमा रहेको होटल रोयल सिंगीले साउन र भदौमा समान ६ हजार लिटर लगेकोमा मंसिरमा ३ हजार लिटर डिजेल लगेको छ । मंसिरमा १२ हजार लिटर डिजेल लगेको छ । साउन र भदौमा समान १२ हजार लिटर डिजेल लगेको लाजिम्पाटस्थित सांग्रिला होटेलले मंसिरमा ९ हजार लिटर लगेको छ ।

    बल्कमा लैजाने यी संस्थाले नियमित डिजेल लान छाडे

    पहिले नियमित रूपमा टूलो मात्रामा डिजेल खरिद गर्ने ब्रिटिस गोर्खाज नेपाल, बुद्ध एयर, चक्र–तीर्थ ग्रुप, चाइना रेलवे सिसिइसिसी ग्रुप कर्पोरेसन, डिडिसी, देउराली जनता फार्मास्युटिकल्स्, द्ववारिका होटेल, ग्यालेक्सी पब्लिक स्कुल, होटेल डे ला अन्नपूर्ण, होटेल रोयल सिंगी, होटल सांग्रिला, इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन, कालिका डेरी, काठमाडौं ढुंगा वितरण आयोजना, किस्ट मेडिकल कलेज, नेपाल वायुसेवा निगमलगायतले नियमित किन्न छाडेका छन् । नेपालस्थित अमेरिका, भारत, जापन, डेनमार्क, इजरायललगायत विभिन्न मुुलुकका दूतावासले पनि बल्कमा डिजेल लैजाने गरेको थानकोट डिपोले जनाएको छ ।

    बल्कको बिक्री घटेको छ
    नेत्र काफ्ले
    प्रमुख, थानकोट डिपो, आयल निगम

    लोडसेडिङ हटेपछि थानकोट डिपोबाट कन्जुमर (डिपोबाट सोझै इन्धन लैजाने उद्योग, प्रतिष्ठान) शीर्षकमा इन्धन बिक्री धेरै घटेको छ । पहिले सिंगै ट्यांकर डिजेल लैजाने धेरै उद्योगले १–२ च्याम्बर गर्दै तेल लैजान थालेका छन् । तसर्थ, कन्जुमर शीर्षकको इन्धन बिक्री घटेको छ । पम्पलाई वितरण गर्ने इन्धनको परिमाण बढेको छ ।

    बैंकको सञ्चालन लागत घट्यो
    विनय बञ्जारा/नयाँ पत्रिका
    काठमाडौं,१० पुस

    नेपाल विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्न छाडेपछि बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्चमा कमी आएको छ । यसले ऊर्जा खर्च झन्डै ५० प्रतिशत घट्ने बैंकरहरूले बताएका छन् । कुल सञ्चालन खर्चमा ऊर्जाको हिस्सा करिब २ प्रतिशतभन्दा कम हुने भए पनि अंकमा भने यो रकम निकै ठूलो हुने उनीहरुले बताए । तर, यसको वास्तविक तथ्यांक भने बैंकहरूसँग छैन ।

    ‘लोडसेडिङ नभएपछि स्वाभाविक रूपमा सञ्चालन खर्च घटेको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने । उनले विगत लामो समयदेखि नै बैंकहरूले सौर्य ऊर्जाजस्ता वैकल्पिक स्रोतको व्यवस्थापन गरेर पेट्रोलियमको खर्च कटौती गर्ने प्रयास गर्दै आएको पनि जानकारी दिए । त्यति हुँदाहुँदै पनि पेट्रोलियममा बैंकहरूले ठूलो खर्च गरिरहेका थिए ।

    ‘हामीले मात्रै मासिक एक डेढ लाख रुपैयाँको इन्धन विद्युत् उत्पादनमा खर्चिरहेका थियौ,’ कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले भने, ‘लोडसेडिङ नभएपछि जेनेरेटरको खर्च जोगिएको छ ।’ विद्युत् कटौती बन्द हुँदा ऊर्जा उत्पादन मात्र नभई युपिएस ब्याट्रीको ‘लाइफ टाइम’समेत बढ्ने भएकाले दीर्घकालीन रूपमा पनि बैंकहरूको सञ्चालन लागत बचाउन सहयोगी भएको उनले बताए । यसले ऊर्जा ब्याक अप प्रणालीको व्यवस्थापनमा बैंकहरूले गर्ने लगानीसमेत कम हुने लामिछानेले बताए ।

    होटेलको सञ्चालन खर्च ३०% घट्यो

    मुख्य पर्यटकीय सिजनमा विद्युत् आपूर्ति नियमित भएपछि होटेलको सञ्चालन खर्च घटेको छ । होटेल व्यवसायीहरूको छाता संगठन होटेल संघ नेपाल (हान)का अनुसार होटेलको कुल सञ्चालन खर्चमध्ये २५ देखि ३० प्रतिशतसम्म ऊर्जाका लागि हुने गर्छ । लामो लोडसेडिङमा पनि नियमित विद्युत् आपूर्ति गरी सेवा सञ्चालन गर्नुपर्दा होटेलले जेनेरेटर चलाएर विद्युत् आपूर्ति गरिरहेका थिए । लोडसेडिङ घटेपछि इन्धनका लागि गर्नुपर्ने रकम बचत हुने गरेको हानको भनाइ छ । हानले गरेको प्रारम्भिक सर्भेका अनुसार लोडसेडिङ नभएपछि अहिले होटेलले खपत गर्ने कुल डिजेलमध्ये दैनिक १ हजारदेखि १२ सय लिटरसम्म बचत हुन्छ । तिहारयता होटेलहरूको सञ्चालन खर्च घटेको हानका कार्यकारी प्रमुख प्रवेश अर्याल बताउँछन् ।

    नेपालमा अहिले ९ पाँचतारे (१० मध्ये एभरेष्ट बन्द अवस्थामा) सहित १ सय १६ वटा तारे होटेल सञ्चालनमा छन् । यसबाहेक देशभर पर्यटकीय स्तरका होटेलको संख्या १ हजार हाराहारी छन् । राजधानीका ठूला होटेलले हिउँदको समयमा हुने लामो लोडसेडिङमा दैनिक ३ हजार लिटरसम्म खपत गरेको तथ्यांक छ । नेपालमा थुप्रै विदेशी चेन होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । उनीहरूको सेवा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनुपर्छ । चेन होटेलले अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सकेनन् भने एकातर्फ होटेलसहित मुलुकको छवि धमिलिन्छ भने अर्कोतर्फ ग्राहकले मुद्दामामिलासमेत गर्न सक्छन् । सोही कारण स्तरअनुसारको सेवा दिन ऊर्जा खपत बढी हुने गर्छ । होटेलले आफ्ना उपकरण २४सै घन्टा दुरुस्त अवस्थामा राख्नुपर्छ ।

    वायुसेवामा प्रत्यक्ष प्रभाव छैन

    लोडसेडिङले वायुसेवा कम्पनीलाई भने प्रत्यक्ष फाइदा गर्दैन । वायुसेवा सञ्चालन गर्न सामान्यतया विमानस्थलमा बढी बिजुली आवश्यक पर्छ । नेपालका सबैजसो विमानस्थलमा या त नियमित विद्युत् आपूर्ति हुने या विमानस्थल कार्यालयले वैकल्पिक ऊर्जाको जोहो गर्ने भएकाले लोडसेडिङको प्रत्यक्ष प्रभाव नपर्ने वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन)का प्रवक्ता घनश्याम आचार्यले बताए ।

    उद्योगको वृद्धिदर उच्च हुने संकेत
    कृष्ण रिजाल /नयाँ पत्रिका
    काठमाडौं, १० पुस

    नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि मुलुकभरका उद्योगहरू आफ्नो क्षमताअनुसार चल्न थालेका छन् । विद्युत् आपूर्ति सहज भएसँगै चरम लोडसेडिङबाट थलिएको समग्र उद्योग क्षेत्र नै तंग्रिने देखिएको छ । लोडसेडिङ घटेकै कारण उद्योग क्षेत्रको उत्पादन बढ्ने देखिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए ।

    सरकारले चालू आर्थिक वर्षमा उद्योग क्षेत्रको वृद्धिदर ६ दशमलव ९ प्रतिशत हुने लक्ष्य राखेको छ ।  राष्ट्र बैंकको चालू आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले उक्त लक्ष्य पूरा हुने संकेत गरेको छ । खासगरी लोडसेडिङ न्यूनीकरण भएकै कारण समग्र उद्योग क्षेत्रको वृद्धि उच्चदरमा हुने देखाएको राष्ट्र बैंकले संकेत गरेको छ । ‘कच्चा पदार्थको आपूर्ति सहज रहेको, लोडसेडिङमा केही सुधार आएको तथा बन्द–हडतालसमेत नभएका कारण उद्योग क्षेत्रको क्षमता उपयोग बढेको छ,’ समीक्षामा भनिएको छ । क्षमता उपयोग बढेसँगै उत्पादनसमेत बढेको उद्योगीले बताएका छन् ।

    आव ०७१-७२ मा उद्योग क्षेत्रको वृद्धिदर १ दशमलव ५० प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षमा उद्योगको वृद्धिदर ६ दशमलव ३ प्रतिशतले घटेको सरकारको अनुमान छ । तर, लोडसेडिङ घटेको तथा अन्य अवस्थासमेत अनुकूल भएपछि उद्योग क्षेत्रको वृद्धिदरले ‘युटर्न’ लिने अर्थात् उच्च वृद्धि हुने सम्भावना देखिएको उनीहरूको भनाइ छ ।

    अहिले विद्युत् प्राधिकरणले कम्तीमा दुई सिफ्ट उद्योग सञ्चालन गर्न सक्ने गरी बिजुली उपलब्ध गराइरहेको उद्योगीले बताएका छन् । ‘धेरै वर्षदेखि मुलुकको औद्योगिक क्षेत्र लोडसेडिङ र अनियमित विद्युत् आपूर्तिको समस्याबाट हैरान हुँदै आएको थियो,’ गोल्छाले भने, ‘अहिले अवस्था सुध्रिएको छ, उद्योगीहरू पनि उत्साहित छन् ।’

    नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष महेश गोर्खालीले लोडसेडिङ न्यूनीकरणबाट उद्योगले राहत महसुस गरेको बताए । नियमित विद्युत् आपूर्तिले मुलुकको समग्र औद्योगिक उत्पादन बढाउने संकेत गरेको उनको भनाइ छ । ‘लोडसेडिङ घटेसँगै अधिकांश उद्योग आफ्नो क्षमताअनुसार चल्न थालेका छन्,’ उनले भने, ‘यसले एकातर्फ उत्पादन बढाएको छ भने अर्कातर्फ डिजेल प्रयोग गर्न नपर्दा उत्पादन लागतसमेत घटाएको छ ।’

    प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अहिले उद्योगलाई ‘पिक आवर’को तीन घन्टाबाहेक अरू समयमा नियमति विद्युत् आपूर्ति गरिरहेको जानकारी दिए । मुलुकभरका उद्योगमा अब पहिलेजस्तो विद्युत् अभावको विकराल समस्या नरहेको उनले बताए । ‘साँझको समयमा उद्योगलाई ३ घन्टा विद्युत् कटौंती गरिरहेका छौँ, वितरणलाई पनि अझ चुस्त बनाइरहेका छौँ,’ उनले भने, ‘यसबाट उद्योगीहरू पनि खुसी छन्, उनीहरूले राम्रो प्रतिक्रिया दिएका छन् ।’

    उद्योगलाई २ सय ५० मेगावाट विद्युत्

    केन्द्रीय प्रसारण ग्रिडमार्फत अहिले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ र रसुवामा रहेका उद्योगका लागि करिब १२ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । अन्य प्रसारण लाइनबाट मुलुकभरका उद्योगका लागि २ सय ५० मेगावाट विद्युत् आपूर्ति भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

    – नयाँ पत्रिका