चालू आवमा ४४ मेगावाट विद्युत् थप्ने लक्ष्य

    2579

    ” जडित क्षमता ८०२ मेगावाट पुग्ने “

    काठमाडौं, ६ भदौ-

    NEA_Bulding चालू आर्थिक वर्षमा सरकारले राष्ट्रिय प्रसारण प्रणालीमा ४४ मेगावाट विद्युत् उत्पादन थप गर्ने लक्ष्य लिएको छ । विभिन्न साना र ठूला आयोजनाबाट यो लक्ष्य पूरा हुनेछ । यी आयोजना स्वदेशी लगानीमा सम्पन्न हुनेछन् ।  हाल थर्मलप्लाटसमेत गरी जडित क्षमता ७ सय ५८ मेगावाट पुगेको छ । सरकारको यो लक्ष्य पूरा भएमा यो वर्षको अन्त्यसम्ममा जडित क्षमता बढेर ८ सय २ मेगावाट पुग्नेछ । यसमध्ये नेपाल विद्युत् प्राधिकरणले ४ सय ७३ मेगावाट र निजी लगानीबाट २३२ मेगावाट विद्युत् उत्पादन भएको छ । ५३ मेगावाट थर्मलप्लान्टबाट विद्युत् आपूर्ति भइरहेको छ ।
    हाल विद्युत्को माग वार्षिक साढे ८ प्रतिशतका दरले बढ्ने गरेको छ । गत आवमा राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् उत्पादन ४० मेगावाट थप भएको थियो । आयोजना थप भए पनि देशमा लोडसेडिङ जारी रहने प्रक्षेपण प्राधिकरणको छ । चालू आवमा भारतबाट थप २ सय ४० मेगावाट विद्युत् आयात गरेर लोडसेडिङ घटाउने योजना प्राधिकरणको छ । मागअनुसार विद्युत् उत्पादन गर्न नसक्दा दैनिक १४ घण्टासम्म लोडसेडिङ भइरहेको छ । हालसम्म ६७ प्रतिशत जनसंख्याले मात्र विद्युत् उपयोग गर्न पाएका छन् ।
    चालू आवमा सरकारले विभिन्न २८ आयोजना सञ्चालन गर्दैछ । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना (७० मेगावाट) पछि ठूला आयोजना निर्माण सम्पन्न भएका छैनन् । यो वर्षदेखि सुरु भएको तेह्रौं योजनामा १ हजार ४ सय २६ मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य छ ।
    यसैगरी चालू आवमा प्रतिव्यक्ति विद्युत् खपत १ सय २० युनिट पु¥याउने तयारी सरकारको छ । गत आवसम्म प्रतिव्यक्ति विद्युत् खपत १ सय ८ युनिट थियो । तेह्रौं योजनाको अन्त्यसम्म विद्युत् खपत बढाएर प्रतिव्यक्ति १ सय ४० युनिट पु¥याउने लक्ष्य सरकारको छ । समीक्षा आवमा ९५ किलोमिटर लामो विभिन्न क्षमताको प्रसारणलाइन निर्माण गर्ने लक्ष्य लिइएको छ । हालसम्म विभिन्न क्षमताका गरी २ हजार ६ सय ४० किलोमिटर लामो प्रसारणलाइन निर्माण भइसकेको छ । तेह्रौ योजनाको अन्त्यसम्म थप ४ सय किलोमिटर लामो प्रसारणलाइनको काम सक्ने योजना छ ।
    यो आवदेखि सरकारले तनहुँ जलाशययुक्त विद्युत् आयोजना (१ सय ४० मेगावाट), बूढीगण्डकी (६ सय मेगावाट) नलसिंहगाड (४ सय मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको काम थाल्ने लक्ष्य लिएको छ । यसमध्ये तनहुँको परामर्शदाता नियुक्तिको प्रक्रिया सुरु भएको छ । आगामी पुससम्म परामर्शदाताको नियुक्तिपछि आयोजनको सिभिल निर्माणको काम सुरु हुनेछ । यो आयोजना बनाउन लगानी जुटसकेको छ ।
    यस्तै आछाम जिल्लामा रहेको बूढीगंगा विद्युत् आयोजना (२० मेगावट) पनि यो वर्षदेखि निर्माण थाल्ने सरकारको योजना छ । यो आयोजनाका लगि आंशिक लगानी जुटिसकेको छ । तर, औपचारिक रूपमा लगानी सम्झौता हुन बाँकी छ । बूढीगण्डकी र नलसिंहगाड दुवै जलाशययुक्त आयोजनाको विकास समिति गठन गरेर सम्भाव्यताको अध्ययन सुरु भएको छ । यी आयोजनाको काम सुरु हुन अझै केही वर्ष लाग्नेछ । यस्तै तामाकोसी पाँचौं आयोजना (८७ मेगावाट) को पनि सम्भाव्यता अध्ययन सुरु हुनेछ ।
    यस्तै नेपाल भारत विद्युत् प्रसारण तथा व्यापार योजनाअन्तर्गत हेटौंडादेखि दुहवीसम्म ३ सय किलोमिटर र ढल्केबरदेखि मुज्जफपुरसम्म ४० किलोमिटर लामो प्रसारणलाइनको काम पनि यो वर्षदेखि सुरु हुँदैछ ।
    प्राधिकरणले चमेलिया (३० मेगावाट) कुलेखानी तेस्रो (१४ मेगावाट) राहुघाट (३० मेगावाट) र त्रिशूली ३ ‘ए’ (६० मेगावाट) आयोजना निर्माण गरिरहेको छ । यस्तै सहायक कम्पनीअन्तर्गत माथिल्लो तामाकोसी (४५६ मेगावाट) मध्यभोटेकोसी( १०२ मेगावाट), रसुवागढी (१११ मेगावाट) सान्जेन (४२ मेगावाट) र माथिल्लो सान्जेन (१४ मेगावाट) आयोजना निर्माणधीन छन् ।

    प्रस्तुति: कारोबर