लोडसेडिङ घटाउन ६ सय एनआरएनद्वारा १ अर्ब संकलन

    2196

    बुधबारसम्म परियोजना टुंगो लाग्ने, लगानी जलविद्युतमा मात्रै

    ८ माघ, काठमाण्डौ । मुलुकमा दैनिक १४ घण्टासम्म लोडसेडिङ भइरहेका बेला गैरआवासीय नेपालीहरुले जलविद्युत उत्पादनका लागि सामूहिक लगानी जुटाएका छन् ।

    गैरआवासीय नेपाली संघको आह्वानमा विश्वभर छरिएका ६ सय नेपालीहरुले रकम संकलन गरेका हुन् । गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको अध्यक्षतामा खुलेको ‘एनआरएन इन्भेष्टमेन्ट कम्पनी’मार्फत् लगानी गर्न ६ सय जना गैरआवासीयहरुले रकम संकलन गरेका हुन् ।

    ‘अहिलेसम्मको जानकारीअनुसार करिव १ अर्ब रकम उठिसकेको छ’ अध्यक्ष जीवा लामिछानेले आइतबार अनलाइनखबरसँग भन्नुभयो-’लगानीकर्ताहरुको संख्या ६ सय नाघेको जानकारी पाएको छु, अन्तिम विवरण आउन अझै केही समय लाग्छ ।’

    डिसेम्बर ३१ तारिखसम्मको समय दिएर संस्थापक सेयरधनीका लागि कम्पननीद्वारा आह्वान गरिएको थियो । त्यसमा सहमत गैरआवासीय नेपालीहरुले न्यूनतम १ लाखदेखि १ करोड रुपैयाँसम्म जम्मा गरेका छन् । तीमध्ये अधिकांशले आफुले कबुल गरेको रकमको २५ प्रतिशत नेपालस्थित कम्पनीको बैंक खातामा रकम जम्मा गरिसकेका छन् । ‘समय सकिएको तीन साता भइसक्यो, प्राविधिक कारणले अझै केही साथीहरुको रकम आइरहेको छ’- लामिछानेले भन्नुभयो ।

    नेपालमा १ सय मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउने उद्देश्यसहित कम्पनी स्थापना भएको हो । पाँच अर्ब रुपैयाँ भए १ मेगावाट विद्युत उत्पादनका लागि इक्वीटी पुग्ने भन्दै लामिछानेले अहिले जम्मा भएको १ अर्ब रुपैयाँले २५ मेगावाटको विद्युत आयोजनामा लगानी गर्ने तयारी भइरहेको बताउनुभयो । ‘हाम्रो बहुमत सेयर रहने गरी लगानी गर्न तीन चारवटा सम्भावित परियोजनाहरुसँग छलफल भइरहेको छ, लामिछानेले भन्नुभयो- ‘मंगलबार बस्ने बोर्ड बैठकले दुई आयोजना पारित गरी बुधबारसम्म कम्तिमा दुईवटा परियोजनामा लगानी गर्ने औपचारिक घोषणा हुने छ ।’ बोर्ड वैठकमा भाग लिन इन्भेष्टमेन्ट टास्क फोर्सका सदस्य र बोर्ड सदस्यहरु सोमबार साँझसम्म काठमाण्डौ आइपुग्ने उहाँले जानकारी दिनुभयो । प्रति मेगावाट १५ करोड रुपैयाँमा बिद्यूत उत्पादन गर्न सकिने अनुमान गरिएको छ ।

    लगानी जलविद्युतमा मात्रै

    गैरआवासीय नेपालीहरुबाट संकलित सबै रकम तत्कालका लागि जलविद्युत आयोजनामै लगानी गर्ने कम्पनीको योजना छ । लगानी जुटाउन विभिन्न देशमा भएका अन्तरक्रियाका क्रममा कृषि, पर्यटन लगायतका क्षेत्रमासमेत लगानी गर्नुपर्ने माग भए पनि बोर्डले तत्कालका लागि विद्युतलाई मात्र प्राथमिकताका राखिएको लामिछानेले बताउनुभयो । ‘अन्य क्षेत्रमा भन्दा यसमा जोखिम कम र उच्च प्रतिफल भएकाले विद्युतलाई रोज्यौं’ उहाँले भन्नुभयो-’मुलुक लोडसेडिङबाट आक्रान्त भएकाले यसमा लगानी गर्दा मुलुकप्रति हाम्रो योगदान पनि ठहर्ने भो ।’

    परियोजनामा ७० देखि ७५ प्रतिशत बैंकहरुले लगानी गर्ने बताउँदै उहाँले आफ्नो समूहलाई सबैभन्दा बढी सम्भावना बोकेको समूहका रुपमा वित्तीय संस्थाहरुले लिएको जानकारी दिनुभयो । ‘अबको परियोजना हामीलाई दिनुस् भनेर धेरै राम्रा बैंकहरुले मागिरहनुभएको छ, हामीप्रति लगानीकर्ता, नीति निर्माता र वित्तीय संस्था सबैको विश्वास छ ।’ उहाँले भन्नुभयो ।

    सामूहिक लगानीको माहौल बनाउन विभिन्न मुलुक घुम्दा केही ठाउँमा अवरोध र आलोचना भोगे पनि लामिछानेले त्यसलाई ‘स्वभाविक र अपेक्षित’ रहेको बताउनुभयो । ‘त्यसो हुन सक्छ भनेर म तयारै थिएँ, तर मैले सोचेभन्दा धेरै एनआरएन साथीहरुले हामीलाई विश्वास गर्नुभयो । टेष्टमा पास भएको अनुभव गरेको छु ।’

    नेपालमा सामूहिक लगानी भित्राउने मुख्य नारासहित एनआरएनको नेतृत्वमा आएका लामिछानेले त्यसमा आफु सफल भएको महसुस गर्नुभएको छ । ‘यो एउटा सुरुवात मात्र हो, परियोजनाको काम सुरु हुनासाथ अन्य धेरै परियोजनाका लागि सामूहिक लगानी आउन थाल्छ ।’ लामिछानेले भन्नुभयो-’मपछि आउने अध्यक्षहरुलाई पनि यो अभियानलाई अगाडि बढाउने बाध्यता हुन्छ ।’

    सुरुङ मार्गमा लगानी छैन

    काठमाण्डौ-हेटौडा जोड्ने सुरुङमार्गमा पनि एनआरएनले सामूहिक लगानी गर्न लागेको चर्चा भइरहेका बेला लामिछानेले त्यसमा संस्थागत संलग्नता नरहेको जानकारी दिनुभयो ।

    ‘त्यो निकै राम्रो परियोजना हो, नेपालमा स्थापित उद्योगपतिहरु संलग्न प्रोजेक्ट भएकाले हामीले लगानीका लागि प्रचार गरिदिने भनेका मात्र हौ’- लामिछानेले भन्नुभयो-’उहाँहरुको सन्देश एनआरएन कम्युनिटीसम्म पुर्‍याई सहयोग गर्ने मात्र भनेको हो, कुनै सम्झौता वा सहकार्य छैन ।’

    एक लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गर्न सक्ने प्राबधान रहेकाले सुरुङ मार्गमा आफु र अन्य केही साथीहरुले १०/१० लाख लगानी गरेको बताउँदै उहाँले त्यसमा एनआरएनको संलग्नता ब्यक्तिगत तवरमा मात्र हुने बताउनुभयो ।

    Source : Online Khabar