ऊर्जामा लगानी आएनः प्रधानमन्त्री

    3196
    Prime Minister Dr. Baburam Bhattarai
    Prime Minister Dr. Baburam Bhattarai

    काठमाडौं, ७ माघ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल ऊर्जाको स्रोतमा सम्पन्न भएपनि यस क्षेत्रमा पर्याप्त लगानी नआएको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्धारा आयोजित नवीकरणीय ऊर्जा सप्ताह २०६९ उद्घान कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री भट्टराईले नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएपनि हालसम्म ७ सय मेगावाट मात्र उत्पादन हुनुले लगानी नआएको स्पष्ट भएको बताए । उनले नेपालको ऊर्जा संकट समधान गर्न स्वदेशी एवम् विदेशी लगानी आवश्यक भएको बताए ।
    “हाल व्यवसायिक रुपमा ७ सय मेगावाट विद्युत् उत्पादन भएपनि हिउँदमा ३ सय मेगावाट मात्र आपुर्ति भएकोले मुलुकमा ऊर्जा संकट भएको हो,” उनले भने । उनले हालसम्म कम्तीमा ४ हजार मेगावाट विद्युत् उत्पादन भइसक्नुपर्नेमा लक्ष्य भएपनि लगानी नआएपछि देशमा ऊर्जा संकट बढेकोे बताए । हालसम्म वैकल्पिक ऊर्जा पनि गाम्रीण क्षेत्रमा मात्र लक्षित भएकोले अब सहरमा पनि आवश्यक रहेको समेत उनले औल्याए ।
    ऊर्जाको दिगो विकासका लागि उचित स्रोत साधनको प्रयोग गरी नवीकरणीय ऊर्जा उत्पादन र प्रयोग बढाउनुपर्नेमा जोड दिदैं उनले भने, “नवीकरणीय ऊर्जा प्रभावकारी प्रवद्र्धनका लागि सरकार सहयोग गर्न सकरात्मक र तयार छ ।”
    कार्यक्रममा मुख्य सचिव लीलामणी पौडेलले मुलुकमा ऊर्जा क्षेत्रको प्रचुर सम्भावना उपयोग हुन नसकेको बताए ।
    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले नेपालमा वैकल्पिक ऊर्जा प्रवद्र्धनका कार्यहरू सफल हुदैं गएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री डा. केशवमान शाक्यले ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा ऊर्जा संकट बढ्दै गएकोले शहरी क्षेत्रमा समेत वैकल्पिक ऊर्जा प्रयोग बढाउनु पर्नेमा जोड दिए ।
    मुलुकको ऊर्जा संकटलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले आइतबारबाट नवीकरणीय ऊर्जा सप्ताह २०६९ को आयोजना गरिएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. गोविन्दराज पोखरेलले बताए । उनका अनुसार यो मेला राजधानीलगायत मुलुकका ७२ जिल्लामा समेत आयोजना गरिएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजित मेलामा लोडसेडिङको विकल्पमा प्रयाग गर्न सकिने सोलार, व्याट्री, बायोग्यासलयातका विभिन्न १ सय ८ वटा स्टल रहेका छन् ।
    यस सप्ताहको मुख्य उद्देश्य तीनवटा भएको बताउँदैं पोखरेलले भने, “नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिलाई शहरी क्षेत्रमा समेत उपलब्ध गराउनु, दोस्रो नीजि क्षेत्र तथा बैंकको लगानी गर्न प्रोत्साहित गर्ने र तेस्रो लगानीका लागि नीतिगत सुधारका लागि नीतिनिर्माता तहमा झक्झकाउनु हो ।”
    सरकारले सन् २०१७ सम्ममा देशका सम्पुर्ण घरमा स्वच्छ ऊर्जाको प्रविधिहरू पु¥याई घरभित्र धुवाँमुक्त गर्ने लक्ष्य लिएकोे प्रधानमन्त्रीले भट्टराईले औपचारिक घोषणा गरेका थिए । दाताको सहयोगमा केन्द्रले नविकरणीय ऊर्जा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    प्रस्तुति: कारोबार