माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना – प्राधिकरणको प्रस्ताव गर्ने प्रारूपमा लगानी गर्ने के-वाटरको प्र

    2064

    काठमाडौं, ७ माघ – कोरिया वाटर रिसोर्स कर्पोरेसन (के–वाटर) ले नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गर्ने प्रारूपमा ४७ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनामा लगानी गर्ने स्पष्ट पारेको छ ।
    प्राधिकरणलाई एक साताअघि पेस गरेको प्रस्तावमा उसले लगानीको प्रारूप स्पष्ट भएपछि एसियाली विकास बैंक(एडीबी) बाट सहुलियत कर्जा ल्याउने जानकारी गराएको छ । अब बस्ने सञ्चालक समितिको बैठकले यो प्रस्तावलाई अनुमोदन गर्ने बताइएको छ ।
    के–वाटरले आयोजनामा ४९ प्रतिशत मात्र लगानी गर्ने इच्छा देखाएको छ । यसअघि के–वाटरका अध्यक्ष उ क्या कङले ५१ प्रतिशत सेयर लिने प्रस्ताव गरिसकेका छन् । प्रस्तावअनुसार के–वाटरले आयोजनामा ३१ प्रतिशत लगानी घटाउन चाहेको छ । अब गत वर्ष चैतको दोस्रो साता माथिल्लो मोदीमा विद्युत् प्राधिकरणले २० प्रतिशत र के–वाटरले ८० प्रतिशत लगानी गर्ने गरी संयुक्त आयोजना विकास सम्झौता (जेडीए) भएको थियो । के–वाटर कोरिया सरकारको स्वामित्वको कम्पनी हो ।
    उसले ४० प्रतिशत सेयर र बाँकी ६० प्रतिशत कर्जा लगानी गर्ने प्रस्ताव गरेको छ । अध्ययनले आयोजना बनाउन निर्माण अवधिको ब्याजबाहेक १३ अर्ब ६६ करोड रुपैयाँ लाग्ने देखाएको छ ।
    उसको प्रस्तावको विषयमा छलफल भइरहेको प्राधिकरणका निर्देशक लीलानाथ भट्टराईले बताए । उनले यस विषयमा चाँडै टुङ्गो लगाइने जानकारी दिए । प्राधिकरणले आयोजनाको अध्ययन पूरा गरिसकेको छ भने के–वाटरले अध्ययन जारी राखेको छ ।
    के–वाटरले प्रस्ताव गरे पनि आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्र यस विषयमा निर्णय हुनेछ । हाल प्राधिकरण र के–वाटरले संयुक्त रूपमा आयोजनाको अध्ययन गरिरहेका छन् ।
    के–वाटरले एसियाली विकास बैंक(एडीबी) र एक्जिम बैंक अफ कोरियासँग ०.०५ प्रतिशत सहुलितय दरमा कर्जा लिन प्रक्रिया सुरु गरेको छ । एडीबी र एक्जिम बैंकबाट सहुलियत दरमा कर्जा पाए आयोजना आर्थिक रूपमा सम्भाव्य हुने अध्ययनले देखाएको छ ।
    आयोजना आन्तरिक खपतका लागि निर्माण हुन लागेको हो । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत् प्राधिकरणले खरिद गर्नेछ । स्थानीय बासिन्दाले मागेमा कोरिया वाटरले १० प्रतिशत सेयर दिने सहमति भएको छ ।
    आयोजना नदीको बहाव(रन अफ दि रिभर) मा आधारित छ । आयोजना बनाउन ७ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्ने देखिएको छ । उत्पादन हुने बिजुली जोड्न प्रसारणलाइन निर्माणका साथै प्राधिकरणबाट लगानी गर्नुपर्ने रकम आयोजनाको अध्ययनपछि निश्चित हुनेछ ।
    पर्वत जिल्लामा पर्ने आयोजना हालको मोदीभन्दा माथि छ । आयोजनाको बाँध कास्कीको घान्द्रुकनजिक नयाँ पुल बजार र विद्युत्गृह सोही जिल्लाको स्याउलेमा बन्नेछ । सन् २००० मा प्राधिकरणले पहिचान गरेको सो आयोजनाको विद्युत् न्युमोदी सबस्टेसन जोडिनेछ ।

    प्रस्तुति: कारोबार

    Photo : newsis.com