रेलमार्गको सम्भाव्यता अध्ययन सुरु

    905

    सरकारले रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको निर्माण एक वर्षभित्र सुरु गर्ने घोषणा गरेकै दिन चीनले रेलमार्गको अध्ययन थालेको छ । चीनले प्राविधिकहरूको टोली पठाएर रेलमार्गको प्रारम्भिक अध्ययन सुरु गरेको हो । सरकारले नीति तथा कार्यक्रममार्फत सोमबार रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको निर्माण एक वर्षभित्र सुरु गर्ने घोषणा गरेको थियो । चाइना रेल्वे फस्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटको प्राविधिक टोली अध्ययनका लागि मंगलबार केरुङतर्फ प्रस्थान गरेको छ । चिनियाँ टोलीसँग रेल विभागका अधिकृतहरू पनि छन् । टोलीले केरुङदेखि काठमाडौंमा पर्ने विभिन्न भागको भौगोलिक अवस्थाको अध्ययन गर्ने छ ।
    रेल विभागका प्रवक्ता प्रकाशचन्द्र उपाध्यायले टोलीले मंगलबार नुवाकोटको विदुर क्षेत्रको अवलोकन गरेको जानकारी दिए । चिनियाँ टोलीले सोमबार काठमाडौंका विभिन्न स्थानको अवलोकन गरेको थियो । चिनियाँ टोलीले केरुङको रेल काठमाडौंमा ल्याउन सम्भव भए÷नभएको बारेमा आगामी भदौ १५ गतेसम्म प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्ने छ । सम्भाव्यता अध्ययनको खर्च चीनले नै बेहोर्ने छ । सम्भाव्यता अध्ययनपछि लगानीको मोडालिटीबारे छलफल गर्ने सरकारको तयारी छ । केरुङ–काठमाडौं ७५ किलोमिटर रेलमार्ग बनाउन ३ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
    यसैबीच, चिनियाँ सहयोगमा काठमाडौंको कोटेश्वर–कलंकी सडक खण्डको काम अन्तिम चरणमा पुगेसँगै कलंकी–महाराजगञ्ज सडक तत्काल विस्तार गरिने भएको छ । चक्रपथ सुधार आयोजनाले चीनको अनुदान सहयोगमा दोस्रो चरणअन्र्तगत कलंकीदेखि महाराजगञ्जसम्मको ८ दशमलव ६ किलोमिटर लामो सडक तत्काल विस्तार गर्ने भएको हो ।
    सडक विस्तारमा ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनाले सडक विस्तारका लागि सडकको सीमामा पर्ने संरचनाहरू हटाउन मंगलबार सूचना जारी गरेर १५ दिनको समय दिएको छ । आयोजनाले आफूले दिएको समयभित्र सडकमा परेका घर टहरा भत्काउन अटेर गरे सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम ‘राइट अफ वे’ खाली गर्ने नियमानुसार काठमाडौं उपत्यका विकास प्राधिकरणबाट हटाउने र हटाउँदा लाग्ने खर्च संरचना धनीबाट असुल गर्ने चेतावनी दिएको छ ।
    आयोजनाले कलंकी–महाराजगञ्ज खण्ड विस्तारका लागि ढल, खानेपानीका पाइप, विद्युतका पोल र टेलिफोनका तार हटाउन सम्बन्धित निकायलाई यसअघि नै पत्राचार गरिसकेको छ । चिनियाँ पक्षले संरचना हटाएलगत्तै विस्तारको काम सुरु गर्ने बताएपछि आयोजनाले सम्बन्धित निकायलाई पत्राचार गर्नुका साथै संरचना धनीका लागि सूचना जारी गरेको हो । २६ महिनाभित्र सम्पन्न गर्ने गरी आगामी भदौबाट सडक विस्तारको काम अघि बढाउने आयोजनाको तयारी छ ।

    कारोबार