खिम्ती विद्युतको खुद नाफा तीन अर्ब ७ करोड

    855

    नर्वेजियन लगानी रहेको ६० मेगावाटको खिम्ती–१ विद्युत् आयोजनाले गत आर्थिक वर्ष (आव) ०७२-७३ मा ३ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी हिमाल पावरले अघिल्लो ०७१-७२ को तुलनामा १४ करोड रुपैयाँले खुद नाफा बढाएको हो । कम्पनीको खुद सम्पत्ति (नेट वर्थ) साढे ४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

    वार्षिक रूपमा यति धेरै नाफा कमाउने कम्पनीले नयाँ कुनै आयोजना भने निर्माण गरेको छैन । हिमाल पावरमा नर्वेजियन सरकारको समेत स्वामित्व रहेको स्टेटक्राफ्टको ५७ प्रतिशत, नर्वेजियन कम्पनी बिकेकेको २६ प्रतिशत र नेपालको बुटवल पावर कम्पनी (बिपिसी)को १६.९ प्रतिशत सेयर छ ।

    डलर मूल्यसँगै आम्दानी प्रभावित

    विद्युत् प्राधिकरणले आयोजनाको विद्युत् अमेरिकी डलरमा किन्दै आएको छ । नेपाली बजारमा डलरको सटही मूल्यमा उतारचढाव आएसँगै हिमाल पावरको आम्दानी प्रभावित हुने गरेको छ । खिम्तीबाट किन्ने बिजुलीको ९७ प्रतिशत डलर र ३ प्रतिशत नेपाली मुद्रामा रकम प्राधिकरणले भुक्तानी गर्दै आएको छ । डलरको अंश भुक्तानी दिनको विनिमयदर र नेपाली अंशको सीधै नेपाली रुपैयाँमा भुक्तानी हुने व्यवस्था छ । आयोजनाले सरकारलाई बुझाउनुपर्ने रोयल्टी तथा कर, भुक्तानी गर्दा लाग्ने बैंक शुल्क र वैदेशिक मुद्राको विनिमय जोखिम पूरै प्राधिकरणले व्यहोरिरहेको छ ।

    ४ वर्षपछि आधा स्वामित्व प्राधिकरणमा

    प्राधिकरण र हिमाल पावरबीच भएको २० वर्षे विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)को २७ असार ०७७ मा सकिँदै छ । त्यसपछि कम्पनीको आधा स्वामित्व एक रुपैयाँमा प्राधिकरणलाई हस्तान्तरण हुने छ । आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको २० वर्षपछि कम्पनीको आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने व्यवस्था छ ।

    आयोजनाले २७ असार ०७७ बाट व्यापारिक रूपमा विद्युत् उत्पादन सुरु गरेको थियो । प्राधिकरण र कम्पनीले स्वामित्व हस्तान्तरणका प्रक्रिया अगाडि बढाइसकेका छन् । हस्तान्तरण भएपछि आयोजनाको नयाँ पिपिए हुने प्राधिकरणले जनाएको छ । माघ ०५१ मा पाएको आयोजनाका उत्पादन लाइसेन्स ५० वर्षसम्म अर्थात् माघ २१०१ सम्म रहनेछ । त्यसपछि आयोजना चालू हालतमा सरकारलाई हस्तान्तरण हुने छ ।

    बिपिसीले पायो ५२ करोड ८५ लाख लाभांश

    बुटवल पावर कम्पनी (बिपिसी)ले हिमाल पावरको गत वर्षको नाफाबाट ५२ करोड ८५ लाख रुपैयाँ लाभांश पाएको छ । अघिल्लो वर्षको तुलनामा यो लाभांश ९ करोड रुपैयाँभन्दा बढी हो । बिपिसीको हिमाल पावरमा १६.९ प्रतिशत सेयर छ । पिपिसीले गत आवमा ६१ करोड ७२ लाख रुपैयाँ कारोबार गरेको छ । कम्पनीको खुद मुनाफा ५७ करोड ५९ रुपैयाँ पुगेको छ । कम्पनीले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिँदै छ ।

    स्रोत : नया पत्रिका