लघु जलविद्युत् सम्मेलन सम्पन्न, प्रविधिको एकरूपतामा जोड

    1933

    मङ्सिर ११, काठमाडौं । लघु जलविद्युत् आयोजनामा प्रयोग गरिने प्रविधिमा एकरूपता ल्याउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौंमा आयोजित लघु जलविद्युत् सम्मेलन सकिएको छ । दक्षिण तथा पूर्वी दक्षिण एशियाका लघु जलविद्युत् सम्बद्ध १२ देशको उक्त तेस्रो सम्मेलन शुक्रवार सकिएको हो । सम्मेलनले हाल प्रयोग भइरहेका प्रविधिमध्ये उच्चस्तरीय प्रविधिमा जोड दिई एकरूपता ल्याउने प्रयास अघि बढाइने निर्णय गरेको छ । सम्मेलनको आयोजना नेपाल लघु जलविद्युत् विकास संस्थाले गरेको थियो ।

    संस्थाका प्रमुख कार्यकारी अधिकृत पूर्ण रञ्जितकारले सम्मेलनमा सबै देशका सहभागीले आआफ्ना देशमा भइरहेका लघु जलविद्युत् उत्पादनको अनुभव आदानप्रदान गरेको बताए । उनका अनुसार सम्मेलनमा नेपालका तर्फबाट लघु जलविद्युत् विकासका नीति, कार्यविधिदेखि वित्तीय व्यवस्था, लघु जलविद्युत् सञ्चालनका अनुभव प्रस्तुत गरिएको थियो ।

    सम्मेलनको दोस्रो दिन बुधवार नेपालसम्बन्धी विशेष प्रस्तुति राखिएका थिए । विशेष प्रस्तुतिअन्तर्गत विनरक इण्टरनेशनलका विकास पाण्डेले नेपालको लघु जलविद्युत्को नीतिको उद्विकास सम्बन्धमा र विश्व बैङ्कका प्रतिनिधि तोमोयुकी यामाशिताले लघु जलविद्युत्सम्बन्धी वर्तमान राष्ट्रिय नीतिका बारेमा प्रस्तुति दिएका थिए । त्यसका अतिरिक्त लगानीका बारेमा लघु जलविद्युत्का लगानीकर्ता एनएमबी बैङ्क, माइक्रो हाइड्रो डेब्ट फण्ड तथा केन्द्रीय नवीकरणीय ऊर्जा कोषका प्रतिनिधिहरूले जानकारी प्रस्तुत गरेका थिए ।

    उत्पादनमा लघु जलविद्युत्को योगदान, आयोजनाहरूमा भूकम्पले पारेका असर तथा बारपाकस्थित लघु जलविद्युत् आयोजनाको सफल अनुभवजस्ता प्रस्तुतिहरू पनि नेपालका तर्पmबाट समेटिएका थिए । लघु जलविद्युत्लाई प्रभावकारी कार्यान्वयनमा लैजान उपभोक्ताको क्षमता अभिवृद्धि, आयोजनाहरूबीच मिनी–ग्रीडको व्यवस्थाका साथै राष्ट्रिय प्रसारणमा लघु जलविद्युत्को जोडका सम्बन्धमा नेपालमा रहेका अभ्यास तथा गर्नुपर्ने कार्यका बारेमा सम्मेलनमा जोड दिइएको थियो ।

    आयोजकद्वारा बुधवारै सहभागीहरूलाई संस्थाद्वारा दक्षिणकाली नगरपालिकाको वडा नम्बर ५ मा विकास हुँदै गरेको ४७ किलोवाटको मोडेल माइक्रो हाइड्रो प्रोजेक्टको अवलोकन भ्रमण गराइएको थियो । दुईओटा टर्वाइनसहितको उक्त आयोजनाबाट ३७ किलोवाट र १० किलोवाट विद्युत् उत्पादन हुने संस्थाका अध्यक्ष कृष्ण देवकोटाले बताए । कुल लागत रू. १ करोड ५० लाख रहेको आयोजनाका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा अन्तर्गतको आरईआरएल प्रोजेक्टमार्पmत रू. ३० लाख अनुदान प्रदान गरिएको बताइएको छ । त्यसैगरी आयोजनामा प्रयोग भएका सम्पूर्ण उपकरण विभिन्न संस्थाले सहयोग गरेको पनि अध्यक्ष देबकोटाले बताए । ‘विगत ५ वर्षदेखि निर्माणको क्रममा रहेको आयोजनाका दुईओटै टर्वाइनबाट उत्पादित विद्युत् संयुक्त रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना रहेको छ,’ उनले भने, ‘त्यसका लागि करीब १ महीनामा बाँकी रहेको काम सकी प्राधिकरणसँग विद्युत् खरीद सम्झौता (पीपीए) गर्नेछौं ।’ काठमाडौंको सबैभन्दा नजीक रहेको उक्त लघु जलविद्युत् आयोजना तालीम तथा अवलोकनका लागि निर्माण गरिएको संस्थाले बताएको छ ।

    उक्त आयोजनाबाट उत्पादित विद्युत्बाट हुने आम्दानीको ३५ प्रतिशत स्थानीय बासिन्दालाई, ३५ प्रतिशत सञ्चालन तथा मर्मत सम्भारलाई र ३० प्रतिशत संस्थालाई हुने बताइएको छ ।

    Source: Abhiyan