उद्योग दुई सिफ्ट चल्नेगरी बिजुली

    1186

    नियमितरूपमा विद्युत् आपूर्ति हुन थालेपछि मुलुकभरका उद्योग आफ्नो क्षमताअनुसर सञ्चालन हुन थालेका छन् । लोडसेडिङकै कारण क्षमता उपयोग गर्न नपाएका उद्योग अहिले पूर्ण क्षमतामा सञ्चालन हुन थालेका हुन् । अहिले विद्युत् प्राधिकरणले कम्तीमा दुई सिफ्ट उद्योग सञ्चालन गर्न सक्ने गरी बिजुली उपलब्ध गराइरहेको उद्योगीले बताएका छन् ।

    प्राधिकरणले तोकिएको समयमा नियमित विद्युत् उपलब्ध गराउन थालेपछि अहिले मुलुकभरका उद्योग कम्तीमा दुई सिफ्टमा सञ्चालन हुन थालेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए । अहिले सर्वसाधारणलेझैँ उद्योगले पनि नियमित विद्युत् पाइरहेको उनले जानकारी दिए । ‘धेरै वर्षदेखि मुलुकको औद्योगिक क्षेत्र लोडसेडिङ र अनियमित विद्युत् आपूर्तिको समस्याबाट हैरान हुँदै आएको थियो,’ उनले भने, ‘अहिले अवस्था सुध्रिएको छ, उद्योगीहरू पनि उत्साहित छन् ।’

    प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले अहिले उद्योगलाई ‘पिकआवर’को तीन घन्टाबाहेक अरू समयमा नियमति विद्युत् आपूर्ति गरिरहेको जानकारी दिए । मुलुकभरका उद्योगहरूमा अब पहिले जस्तो विद्युत् अभावको विकराल समस्या नरहेको उनले बताए । ‘साँझको समयमा उद्योगलाई ३ घन्टा विद्युत् कटौती गरिरहेका छौँ, वितरणलाई पनि अझ चुस्त बनाइरहेका छौँ,’ उनले भने, ‘यसबाट उद्योगी पनि खुसी छन्, उनीहरूले राम्रो प्रतिक्रिया दिएका छन् ।’

    उद्योगलाई कति बिजुली ?
    केन्द्रीय प्रसारण ग्रिडमार्फत अहिले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ र रसुवामा रहेका उद्योगका लागि करिब १२ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । अन्य प्रसारण लाइनबाट मुलुकभरका उद्योगका लागि २ सय ५० मेगावाट विद्युत् आपूर्ति भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

    वेला–वेला काटिँदा समस्या
    लोडसेडिङ घटे पनि वेला–वेला विद्युत् नआउने (काटिने) समस्या भने अझै घट्न नसकेको उद्योगीले बताएका छन् । काठमाडौं, भैरहवा, पोखरा आसपासमा यस्तो समस्या कम रहे पनि मोरङ–सुनसरी र बारा–पर्सा औद्योगिक करिडोरमा अनियमित विद्युत् कटौतीको समस्या टड्कारै रहेको उद्योगीहरू बताउँछन् । ‘उद्योग चलिरहेका वेलामा छिन–छिनमा विद्युत् जाने आउने समस्या अझै पनि घट्न सकेको छैन,’ गोल्छाले भने, ‘तालिकाअनुसार मात्रै लोडसेडिङ गराउन प्राधिकरणलाई भनेका छौँ ।’

    उत्पादन बढ्ने, लागत घट्ने
    नियमित विद्युत् आपूर्तिले मुलुकको समग्र औद्योगिक उत्पादन बढाउने संकेत गरेको नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका उपाध्यक्ष देवराज तामाङले बताए । ‘विद्युत् आपूर्ति नियमति हुन थालेपछि उद्योगहरू आफ्नो क्षमताअनुसार चल्न थालेका छन्,’ उनले भने, ‘एकातर्फ यसले हाम्रो उत्पादन बढाएको छ भने अर्कातर्फ डिजेल प्रयोग गर्न नपर्दा उत्पादन लागत घटेको छ ।’

    मिलोमतो रोकिएको छ

    यसअघि प्राधिकरणका उच्च तहका कर्मचारीले व्यापारीसँगको मिलोमतोमा केही उद्योगलाई मात्रै नियमति विद्युत् उपलब्ध गराउँदै आएका थिए । ठूला स्टिल तथा सिमेन्ट उद्योगलाई २० देखि ५० मेगावाटसम्म विद्युत् मिलोमतोमा नियमित उपलब्ध गराउँदै आएको पाइएको थियो । उद्योगीकै उजुरीपछि त्यस्ता उद्योगमा पनि तालिकाअनुसार मात्रै विद्युत् उपलब्ध गराउँदै आएको अधिकारीले बताए । ‘अहिले सबै उद्योगलाई समान रूपमा विद्युत् आपूर्ति गराइरहेका छौँ,’ उनले भने, ‘त्यस्ता चोरी चकारी तथा मिलोमतोमा हुने कार्यको समेत छानबिन तथा अनुगमन गरिरहेका छौँ ।’

    सरोकारवाला भन्छन्
    उद्योगमा तीन घन्टा मात्रै विद्युत् कटौती
    प्रबल अधिकारी, प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण

    अहिले मुलुकभरका उद्योगमा साँझको समय (पिक आवर)मा मात्रै विद्युत् कटौती गरिरहेका छौँ । उद्योगहरू आफ्नो क्षमताअनुसार कम्तीमा दुई सिफ्ट सञ्चालन हुन सक्ने गरी विद्युत् आपूर्ति गराइरहेका छौँ । संरचनागत सुधार अझै बाँकी रहेकाले वितरणमा केही समस्या देखिने गरेको गुनासो आएको छ । तर, प्राधिकरणले त्यसलाई पनि सुधार गरिरहेको छ । उद्योगीसँग पनि निरन्तर छलफलमा छौँ । उद्योगको शतप्रतिशत समस्या हल नभए पनि नियमति विद्युत् आपूर्तिले ठूलो राहत दिएको छ ।

    उद्योगी उत्साहित छन्
    शेखर गोल्छा, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

    नियमति विद्युत् आपूर्तिबाट सर्वसाधारणझैँ हामी उद्योगी व्यवसायी पनि उत्साहित छौँ । अहिले तोकिएको समयमा करिब ४ घन्टाजति मात्रै विद्युत् कटौती हुने गरेको छ । यसबाट उद्योगहरू दुई सिफ्ट सञ्चालन भइरहेका छन् । यद्यपि, ठूला औद्योगिक करिडोर र औद्योगिक क्षेत्रमा कतिपय अवस्थामा छिन–छिनमा विद्युत् काटिने, लाइन आउने जाने समस्या भइरहेको छ । यसलाई पनि सुधार गर्नेतर्फ सरकारको ध्यान जाओस् । सरकारलाई सहयोग गर्न निजी क्षेत्र तयार छ ।

    Source:Nayapatrika