‘हेवा ए’को परीक्षण प्रसारण : १ साताभित्र राष्ट्रिय प्रसारणमा थप १० मेवा

    1038

    मङ्सिर ११, पाँचथर । पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवाखोलामा निर्माण गरिएको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारण थालेको छ । आयोजना प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राइ टेष्ट सकिएको छ भने अहिले पानी जम्मा गर्ने काम भइरहेको छ । आयोजनाले यसअघि नै सूचना जारी गरी मङ्सिर १० देखि मङ्सिर मसान्तभित्र उत्पादन र परीक्षण प्रसारण गर्ने बताएको थियो । परीक्षणका क्रममा हेवा खोलाको पानीको बहाव परिवर्तन भइरहने भएकाले सावधानी अपनाउन पनि आयोजनाले स्थानीयलाई आग्रह गरेको छ । आयोजना प्रमुख ढुङ्गानाका अनुसार आयोजना अन्तिम चरणमा पुगेकाले साता दिनभित्रै राष्ट्रिय उत्पादनमा ९ देखि १० मेवा बिजुली थपिने छ ।

    सानिमा बैङ्कको नेतृत्वमा ११ ओटा बैङ्कले लगानी गरेको सो आयोजनाको कुल लागत रू. २ अर्ब १६ करोड अनुमान गरिए पनि निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा लागत बढेर २ अर्ब ५० करोड पुगेको ढुङ्गानाले जानकारी दिए । आयोजनामा बैङ्कका अतिरिक्त व्यवसायीको पनि लगानी रहेको छ । नेपाल सरकारबाट भाडामा लिइएको ९२, स्थानीयसँग लिइएको ७५ र वन कार्यालयबाट सट्टाभर्नाबापत प्राप्त १५ गरी कुल १ सय ८२ रोपनी क्षेत्रफल आयोजनाले ओगटेको छ ।

    काबेली कोरिडोर समयमा सम्पन्न नहुँदा प्रारम्भिक चरणमा आयोजनाले घाटा बेहोर्नुपर्ने स्थिति रहेको आयोजनाले बताएको छ । ढुङ्गानाका अनुसार कोरिडोर निर्माण नहुँदा उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जडान नहुने हुँदा वार्षिक १५ करोडदेखि २० करोड  रुपैयाँसम्म घाटा हुने अवस्था छ । हाल निर्माणकै चरणमा रहेको काबेली कोरिडोर तत्काल निर्माण सम्पन्न हुने देखिँदैन । पछिल्लोपटक २०७४ वैशाख १० गतेभित्र कोरिडोर निर्माण सम्पन्न गरिसक्ने सम्झौता भए पनि पूरा हुने सम्भावना भने छैन । यसअघि पनि पटकपटक म्याद थपिएकाले कोरिडोर निर्माण सम्पन्न हुनेमा शङ्का देखिएको हो । काबेली कोरिडोरको निर्माणमा भएको ढिलाइका कारण आयोजना निर्माणमा समेत केही ढिलाइ गरिएको आयोजनाले बताएको छ ।

    वार्षिक ८ करोड १० लाख युनिट विद्युत् बेच्ने आयोजनाको लक्ष्य रहेको छ । गत भदौबाटै परीक्षण थाल्ने भनेको आयोजनाले काबेली कोरिडोर विद्युत् प्रसारण लाइन निर्माण नसकिँदा परीक्षणमा समेत ढिलाइ गरेको हो । उत्पादित सम्पूर्ण विद्युत् विक्री नहुने भएपछि आयोजना निर्माण र परीक्षणमा ढिलाइ गरिएको आयोजनाले जनाएको छ । हाल हेवा ‘ए’ आयोजना निर्माण भएको ठाउँमा त्यसअगावै नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्नेगरी अध्ययन गरेको थियो ।

    तर, प्राधिकरणले साना आयोजना निर्माण नगर्ने नीति लिएपछि २०६८ सालमा पाँचथर पावर कम्पनीले प्राधिकरणको अध्ययन खर्च १ करोड १५ लाख रुपैयाँ तिरेर आयोजनाको लाइसेन्स लिएको थियो ।

    २०६८ मै आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) सकेर २०६९ चैतदेखि आयोजनाको निर्माण थालिएको थियो । निर्माण कार्य थाल्दादेखि नै स्थानीयसँग भएको विवाद, बन्दहडताल र भारतीय नाकाबन्दीका कारण आयोजनाको निर्माण अवधि लम्बिएर ५ वर्ष बित्दा मात्रै पूरा भएको निर्माता पाँचथर पावर कम्पनीका निर्देशक वसन्तकुमार नेम्वाङले बताए । आयोजनामा ४ किलोमिटर टनेल (सुरुङ), बाँध, इलेक्ट्रिक जडान, विद्युत्गृह र ट्रान्समिशन लाइनलगायत मुख्य पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ । काबेली कोरिडोर बनिनसकेकाले तत्कालका लागि ३३ केभीएको पुरानै लाइनबाट बिजुली विद्युत् प्राधिकरणले लैजाने सहमति भएको कम्पनीले जानकारी दिएको छ ।

    आयोजना निर्माण अवधिमा आयोजनाले स्थानीय बासिन्दालाई मोटरबाटो, पुल, खानेपानी र विद्युतीकरणलगायत क्षेत्रमा सुविधा उपलब्ध गराएको छ । स्थानीय बासिन्दाले भने आपूmहरूले पाउनुपर्ने शेयर हालसम्म पनि निष्कासन नगरेको भन्दै काममा अवरोध गर्ने चेतावनी दिएका छन् ।

    Source: Abhiyan