सन् २०३५ सम्ममा ६६ प्रसारण लाइन

    1750
    • कुल लागत ५ अर्ब १५ करोड अमेरिकी डलर
    • भारत र चीन दुवैतिर जोड्ने योजना

    चैत १९, काठमाडौं । सन् २०३५ सम्ममा निर्माण पूरा हुनेगरी विद्युत् प्रसारण लाइनसम्बन्धी ६६ ओटा आयोजना अघि बढाइएका छन् । त्यसमध्ये ४७ आयोजना निर्माणाधीन छन् भने १९ ओटा निर्माणको विभिन्न चरणमा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रणाली योजना विभागले जानकारी दिएको छ । निर्माणाधीन ४७ मध्ये केही नेपाल सरकारको लगानीमा निर्माण भइरहेका छन् भने केहीमा दातृ निकायको लगानी रहेको छ । त्यसअन्तर्गत १९ ओटा आयोजना सरकारको मात्रै लागतमा निर्माण भइरहेका छन् । त्यस्तै ७ ओटामा एशियाली विकास बैङ्क (एडीबी) र ५ ओटामा विश्व बैङ्कको लगानी रहेको छ ।

    यसैगरी ६ ओटा आयोजना संयुक्त लगानीमा बनिरहेका छन् । संयुक्त लगानीमा बनिरहेका आयोजनामध्ये चारओटामा नेपाल सरकार र भारतको संयुक्त लगानी रहेको छ भने २ ओटामा जर्मन विकास बैङ्क र यूरोपेली इन्भेष्टमेण्ट बैङ्कको लगानी रहेको छ । निर्माणाधीनमध्येका ६ ओटा आयोजना स्वयं परियोजना व्यवस्थापनबाट बनिरहेका छन् । त्यस्तै चारओटा प्रसारण लाइन भने सिमेण्ट उद्योगलाई लक्षित गरेर निर्माण भइरहेका छन् । प्रसारण लाइनसम्बन्धी ती सबै आयोजना पूरा गर्नका लागि करीब ५ अर्ब १५ करोड अमेरिकी डलर लाग्ने अनुमान छ । उक्त रकममध्ये करीब १ अर्ब ९० करोड अमेरिकी डलर प्रसारण लाइनमा र करीब १ अर्ब ७५ करोड अमेरिकी डलर सबस्टेशन निर्माणमा लाग्ने बताइएको छ ।

    नेपाल–भारत करिडोरमा ११ प्रसारण लाइन
    नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन गुरु योजनाअनुसार सन् २०३५ सम्ममा ६ ओटा करिडोरबाट ११ क्रशबोर्डर प्रसारण लाइन बनाइने छन् । त्यसमध्ये एक ढल्केवर–मुजप्mफरपुर प्रसारण लाइन निर्माण भइसकेको छ । यो प्रसारण लाइन हुँदै अहिले नेपालले १४५ मेगावाट विद्युत् आयात गरिरहेको छ ।

    नेपाल–चीन प्रसारण लाइन पनि प्रस्ताव
    नेपाल–चीन क्रशबोर्डरको विषय यतिबेला प्रारम्भिक प्रस्तावका रूपमा रहेको छ । चीनको एक टोलीले प्राधिकरणमा सम्पर्क गरी दुई देशबीचको विद्युत् प्रसारण लाइनका लागि बाटोसहितको सम्भाव्यता अध्ययनका लागि तथ्याङ्क माग गरेको थियो । त्यसअन्तर्गत सम्भावित मार्गका रूपमा चीनको केरुङस्थित जिलोङमा सबस्टेशन–रसुवागढी–चिलिमे हब सबस्टेशन हुँदै गल्छी हब सबस्टेशनसम्मको ४०० केभी प्रसारण लाइन तान्ने भन्ने योजना रहेको छ । यो प्रसारण लाइन जम्मा १ सय १५ किलोमिटरको हुनेछ ।

    त्यसैगरी भारतसँगको अर्को अन्तरदेशीय प्रसारण लाइनका रूपमा रहेको नयाँ बुटवल–गोरखपुर ४०० केभी रहेको छ । हाल यसको २२० केभीको सबस्टेशन निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले बताएको छ । त्यसका लागि प्रसारण लाइन अध्ययन प्रतिवेदन (डीपीआर)समेत पेश भइसकेको छ ।

    भविष्यमा अन्य ४ स्थानबाट समेत भारतसँगको अन्तरदेशीय प्रसारण लाइन विस्तार गर्ने योजना रहेको छ । त्यसमा अत्तरिया–बरेली ४०० केभी, लम्की–बरेली ४०० केभी, कोहलपुर (छिन्चु)–लखनउ ४०० केभी र इनरुवा (दुहबी)–पूर्णियाँ ४०० केभी प्रसारण लाइनहरू रहेका छन् । यी सम्पूर्ण प्रसारण लाइनबाट विद्युत् आयात तथा निर्यात दुवै गर्ने योजना रहेको छ ।

    ५ प्रसारण आयोजना सम्पन्न
    देशका विभिन्न पाँचओटा प्रसारण लाइनको काम सम्पन्न भएको छ । त्यसमध्ये एक मुजप्mफरपुर–ढल्केवर–खिम्ती अन्तरदेशीय प्रसारण लाइन रहेको छ भने बाँकी आन्तरिक तथा औद्योगिक प्रसारण लाइनहरू छन् । यसैक्रममा एउटा ग्रीडको सुदृढीकरण पनि गरिएको प्रणाली योजना विभागले बतायो ।

    सम्पन्न प्रसारण लाइन
    – ढल्केवर–मुजफ्फरपुर ४०० केभी (नेपाल खण्ड)
    – हेटौंडा–कुलेखानी–स्युचाटार १३२ केभी दोस्रो
    – बुटबल–कोहलपुर १३२ केभी
    – भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी
    – मिर्चैया–कटारी १३२ केभी
    – हेटौंडा–कमाने १३२/३३ केभी
    – ग्रीड सुदृढीकरण

    स्रोत:अभियान