ग्रामीण अर्थतन्त्रको आधार वैकल्पिक ऊर्जा

    1158

    काठमाडौं । सरकारले जलविद्युत् क्षेत्रको विकासलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको बेला वैकल्पिक ऊर्जालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिइएको छ ।

    नेपाल इन्जिनियरिङ एसोसिएसन र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज ललितपुरमा आयोजना गरेको सङ्घीय संरचनामा वैकल्पिक ऊर्जाको विकास र विस्तार विषयक कार्यक्रमका सहभागीले जलविद्युत्को कुरा गर्दा वैकल्पिक ऊर्जाको विषयलाई छाड्न नहुने धारणा राखे ।

    लगानी र समयको हिसाबले पनि जलविद्युत् आयोजना अगाडि बढाउन लामो समय लाग्ने भएकाले छोटो समयमा नै अगाडि बढाउन सकिने ऊर्जाको माध्यम नै वैकिल्पक ऊर्जा भएको र केही वर्षभित्रै सौर्य, वायु जस्ता ऊर्जाको माध्यमले जलविद्युत्लाई जित्ने स्पष्ट पारे ।

    कुल ७४४ वटा स्थानीय निकायमा योजनावद्ध तवरले ऊर्जाका विभिन्न स्रोतको पहिचान, सञ्चालन तथा विकासले मात्रै आर्थिक समृद्धि, रोजगारीको सिर्जना तथा ग्रामीण अर्थतन्त्रको विकासमा सहयोग पुग्ने भएकाले साना लगानीको वैकल्पिक ऊर्जामा ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

    नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक अधिकारले मात्रै जनताको जीवनस्तर नउठ्ने भएकाले ग्रामीण अर्थतन्त्रको विकासका लागि वैकिल्पिक ऊर्जाको समुचित प्रयोग गर्ने गरी नै संविधानमा नै वैकल्पिक ऊर्जाको विषयलाई समेटिएको धारणा राखे ।

    उनले ठूला आयोजनाको साथसाथै सौर्य, वायु, थर्मल जस्ता ऊर्जाको स्रोतको समुचित प्रयोगमा ध्यान दिनुपर्ने र सरकारले उल्लेख्य लगानी गर्नुपर्नेमा जोड दिए ।

    नेकपा एमालेका सांसद रामेश्वर फुँयालले वैकल्पिक ऊर्जाको स्रोत पहिचान, लगानी विस्तार तथा नागरिक सचेतनाका लागि धेरै गर्न बाँकी रहेको बताए ।

    ठूला आयोजना अगाडि बढाउन लामो समय लाग्ने अवस्थाका कारण पनि छोटो समयमा नै सहज रुपमा अगाडि बढाउन सकिने र उच्च प्रतिफल भएको क्षेत्र नै वैकल्पिक ऊर्जा मात्रै रहेको उनीको कथन थियो ।

    नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री गणेशमान पुनले स्थानीय तहमा ऊर्जाको उपलब्धताका लागि रणनीतिक योजना बनाएर लागु गर्नुपर्ने बताए ।

    उनले सरकारले विद्युत् भार कटौती अन्त्य गरेर सहरी क्षेत्र तथा केन्द्रीय प्रसारण लाइन पुगेका क्षेत्रमा सहज भए पनि ग्रामीण क्षेत्रमा अझै पनि ऊर्जाको पहुँच पुग्न नसकेको सन्दर्भमा वैकल्पिक ऊर्जा नै उत्तम विकल्प रहेको स्पष्ट पारे ।

    कार्यक्रममा ऊर्जा विद् डा अमृतमान नर्कमी, वैकल्पिक ऊर्जा प्रवद्र्ध केन्द्रका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद धितालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले ऊर्जा क्षेत्रको विकासका लागि इन्जिनियरहरुले आफ्नो योग्यता र क्षमताको उचित प्रयोग गर्ने धारणा राखे । रासस