कालिगण्डकी ए पछि गतवर्ष सबैभन्दा बढी बिजुली उत्पादन, जडित क्षमता ९७७ मेवा पुग्यो

    1718

    काठमाडौं । असारसम्म विद्युत उत्पादन बढेर जडित क्षमता ९७७ मेगावाट पुगेको छ ।

    गत आर्थिक वर्षमा १२२ मेगावाट क्षमताका विभिन्न ११ आयोजना सम्पन्न भई जडित क्षमता ९७७ मेगावाट पुगेको हो । यसमध्ये बाढीले ठुलो क्षति पु¥याएपछि १४ महिनादेखि ४५ मेगावाटको माथिल्लो भोटेकोसी बन्द छ । हाल आयोजनाको पुननिर्माणको काम भइरहेको छ ।

    अघिल्लो वर्षसम्म कुल जडित क्षमता ८५५ मेगावाट थियो । ११ आयोजना निजी लगानीमा निर्माण सम्पन्न भएका हुन । निजी लगानीबाट मात्र हालसम्म ६१ आयोजना सम्पन्न भई ४४६ मेगावाट बिजुली उत्पादन भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । गतवर्ष विद्युत प्राधिकरणको अवस्था शुन्य भएको छ ।

    गत असारसम्म २ मेगावाटको झ्याडीखोला, ४.३ मेगावाटको टुङगन ठोस्ने, ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए, ६ मेगावाटको दरौदीखोला ए, २ मेगावाटको खानीखोला, ९९६ किलोवाटको मियाखोला, २५ मेगावाटको माथिल्लो मादी, १५ मेगावाटको हेवाखोला ए, ७.६ मेगावाटको जोगमाई र ३.७ मेगावाटको द्धारीखोला आयोजना छन् । यस्तै ५ मेगावाटको माथिल्लोमाई सी आयोजना गत असार अन्तिमसातादेखि परीक्षण उत्पादन थालेको छ । यो महिनाभित्र यो आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिँदैछ ।

    ठुलो परिमाणमा बिजुली थप भए पनि गत आर्थिक वर्षमा लक्ष्य भन्दा कम विद्युत उत्पादन भएको हो । प्राधिकरणले १५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरेकोमा २८ मेगावाट कम उत्पादन भएको छ । सम्पन्न भएका सबै आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका हुन् ।

    १४४ मेगावाटको कालिगण्डकी ए पछि सबैभन्दा बढी बिजुली उत्पादन गत वर्ष भएको छ । गतवर्ष निर्माण भएको सबैभन्दा ठुला आयोजना ५० मेगावाटको माथिल्लो मस्र्याङदी हो । लक्ष्य प्राप्ति नभए पनि झण्डै १५ वर्षपछि बढी बिजुली उत्पादन भएको छ । गत आवमा सरकारले २ सय मेगावाट बिजुली उत्पादन थप गर्ने लक्ष्य लिएको थियो ।

    लक्ष्यमा राखिएका २.८ मेगावाटको छ्याकेखोला, ११.२ मेगावाटको थापाखोला, ३.२ मेगावाटको गेलुनखोला, ६ सय किलोवाटको ढुंगेजिरी,  ४ मेगावाटको सर्दिखोला र ३ मेगावाटको मिदिम करापु र ५ मेगावाटको पुवाखोला आयोजना यो आर्थिक वर्षमा सम्पन्न हुँदैछन् ।

    यो आर्थिक वर्षमा जलविद्युतबाट मात्र थप साढे २ सय मेगावाट बिजुली उत्पादन बढाउने लक्ष्य लिएको छ । यस्तै सोलार प्रविधिबाट थप ६१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    विद्युत प्राधिकरणबाट ४४ र निजी क्षेत्रबाट २ सय मेगावाट बढी बिजुली उत्पादन हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनका अनुसार यो ४५६ मेगावाटको माथिल्लो तामाकोसी बाहेकको हो । गतवर्ष लक्ष्यमा राखिएका आधा दर्जन आयोजना सम्पन्न नभएपछि यो वर्ष पुरा हुने उनले जानकारी दिए । अधिकारीकाअनुसार माथिल्लो तामाकोसी आयोजना पनि असार अन्तिममा एउटा युनिट सञ्चालनमा आउने जानकारी दिए ।

    यो वर्ष सरकारले थप ८ सय मेगावाट बिजुली उत्पादन गर्ने महत्वकाँक्षी लक्ष्य लिएको छ । यो विद्युत उत्पादन ८ सय मेगावाट थप भई कुल जडित क्षमता १ हजार ७ सय मेगावाट पु¥याउने लक्ष्य सरकारको छ ।

    प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया आउँदो भदौ असोजमा सम्पन्न हुनेछ । यस्तै १४ मेगावाटको कुलेखानी आयोजना पनि यो वर्ष सम्पन्न नहुने देखिएको छ । यी मध्ये २ आयोजना नेपाली र चिनियाँको संयुक्त लगानीमा बनेका हुन् ।

    ५० मेगावाटको माथिल्लो मस्र्यागदी आयोजना चीनको सिनो हाइडो कर्पोरेशन र नेपालको सगरमाथा पावर कम्पनी प्रालिको संयुक्त लगानीमा निर्माण भएको हो । यसमा सिनोको ९० र सगरमाथाको १० प्रतिशत लगानी छ । यस्तै मादीमा चाइना वाटर एन्ड इलेक्टिक कर्पोरेशन (सीडब्यूई) को ८० र २० गोरखा कन्टक्सनको छ ।

    हालसम्म २ हजार ७३१ मेगावाट क्षमताका १४३ आयोजना निर्माण भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । ३ हजार मेगावाट बराबर विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । गत वर्ष निजी क्षेत्रबाट मात्र बिजुली उत्पादन भएको छ ।

    अहिले विद्युत माग १ हजार २९० मेगावाट रहेको छ । विद्युत् प्राधिकरण निजी क्षेत्र र भारतबाट आयात गरी ९९० देखि १ हजार मेगावाट बिजुली आपूर्ति भइरहेको छ । ३ सय मेगावाट बिजुली अझै अपुग छ ।
    भारतबाट पनि ३ सय मेगावाट हाराहारीमा बिजुली आयात भइरहेको छ ।

    स्रोत:बाह्रखरी