माघ १४, २०७६
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोक्ताका लागि विद्युत् महसुल दर परिवर्तन गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो ।
घरायसी उपभोक्ताले जति बढी विद्युत् उपभोग गर्यो, उति कम महसुल लाग्ने गरी दर निर्धारण गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । प्राधिकरणले यो दरलाई विद्युत् नियमन आयोगबाट स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।
प्राधिकरणको हालको विद्युत् महसुल दरअनुसार घरायसी उपभोक्ताले जति बढी विद्युत् महसुल उपभोग गर्यो, उति महँगो दर लागू हुँदै जाने व्यवस्था छ । यो व्यवस्था परिवर्तन गरेपछि घरायसी उपभोक्ताले बढी विद्युत् खपत गर्ने प्राधिकरणको विश्वास छ । घरायसी प्रयोजनका लागि विद्युत् माग बढाउन प्राधिकरणले यस्तो निर्णय गरेको हो । बढी विद्युत् खपत गर्ने ग्राहकलाई सस्तोमा विद्युत् उपभोग गर्न दिँदा खाना पकाउने ग्यास विस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । आगामी वर्षदेखि वर्षायाममा खपतभन्दा बढी विद्युत् उत्पादन हुने अनुमानसहित प्राधिकरणले विद्युत् खपत बढाउने उपायको खोजी गरिरहेको छ । अघिल्लो महिना प्राधिकरणले उद्योगलाई महँगो शुल्क लिएर दिइँदै आएको डेडिकेटेड विद्युत्को महसुल हटाएको थियो । अब डेडिकेटेड लाइनबाट विद्युत् लिने उद्योगले पनि उद्योगका लागि लागू हुने सामान्य विद्युत् महसुल दरभन्दा करिब १५ प्रतिशत मात्रै बढी शुल्क तिर्नुपर्नेछ । यसअघि यस्तो शुल्क ६५ प्रतिशत महँगो थियो । नयाँ दर कायम गर्न ‘ब्लक’ समेत परिर्वत गरिएको प्राधिकरणले जनाएको छ । अब उपभोक्ताले जति बढी विद्युत् खपत गर्छन्, उति नै सस्तो दर तिर्नुपर्नेछ ।
प्राधिकरणले घरायसी उपभोक्ताका लागि ० देखि १०, ११ देखि २०, २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १ सय, १ सय १ देखि १ सय ५० र १ सय ५० देखि २ सय र २ सयदेखि ४ सय युनिटसम्म विद्युत् खपत गर्नेलाई वर्गीकरण गरी नयाँ शुल्क निर्धारणको सिफारिस गरेको हो ।