एआइआइबीले नेपालमा ३८ अर्ब रुपैयाँ लगानी गर्ने

    1207

    संस्थापकमध्येको एक नेपालले अघि सारेका ६ मध्ये दुई आयोजनामा लगानी गर्ने बैंक अध्यक्षको जवाफ

    एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपालले प्रस्ताव गरेका दुई आयोजनामा करिब ३८ अर्ब रुपैयाँ (३ सय ८० मिलियन अमेरिकी डलर) लगानी गर्ने भएको छ । नेपालले गत वर्ष प्रस्ताव गरेका ६ मध्ये सहरी पूर्वाधार विकास कार्यक्रम र विद्युत् वितरण प्रणाली सुधार कार्यक्रमका लागि सहयोग गर्न एआइआइबी तयार भएको हो ।

    दक्षिण कोरियामा सम्पन्न बैंकको बोर्ड अफ गभर्नर्सको दोस्रो बैठकका क्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा एआइआइबीका अध्यक्ष जिन लिक्युनले नेपालले प्रस्ताव गरेकामध्ये दुई आयोजना प्राथमिकतामा रहेको र यसलाई छिट्टै टुंग्याउने बताएका हुन् । उनले अन्य आयोजना अघि बढाउन पनि बैंक सकारात्मक रहेको जानकारी अर्थमन्त्रीलाई गराएको भ्रमणटोलीका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए ।

    ‘सहरी पूर्वाधार विकास कार्यक्रमका लागि २८ अर्ब र विद्युत् वितरण प्रणाली सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ,’ अर्यालले भने । एआइआइबीको टोलीले पहिलो चरणको अध्ययनसमेत गरिसकेको यो आयोजनाको ऋण सम्झौता छिट्टै गर्ने तयारी अर्थ मन्त्रालयको छ ।

    नेपालले यी दुईबाहेक ८० मेगावाटको शारदा बबई जलाशययुक्त आयोजना, पोखरा–बेनी–मुस्ताङ सडक स्तरोन्नति, टोखा–छहरे सुरुङ मार्ग र तराईका सहरी पूर्वाधार सुधार कार्यक्रममा लगानीको प्रस्ताव एआइआइबीसमक्ष गरेको थियो ।

    एआइआइबीले नेपाललाई सुरुदेखि नै कम विवादित र तयारी अवस्थामा रहेका आयोजना प्रस्ताव गर्न आग्रह गरेको थियो । तत्काल लगानी गर्न सकिने आयोजना नभएपछि पहिलो चरणमा ६ आयोजनामा लगानीका लागि नेपालले आग्रह गरेको थियो । अघिल्लो वर्ष असारमा सम्पन्न एआइआइबीको पहिलो वार्षिक बैठकमा नेपालले ती आयोजनामा लगानीका लागि प्रस्ताव पठाएको हो । साढे दुई वर्षअघि स्थापना भएको बैंकको संस्थापक नेपाल पनि हो । चीनको मुख्य लगानी रहेको बैंकमा नेपालसहित ५७ राष्ट्र संस्थापक छन् ।

    आठ महिनाअघि नै स्थलगत अध्ययन
    एआइआइबीले ती आयोजनाको स्थलगत अध्ययन गरेको थियो । गत कात्तिकमा नेपाल आएको टोलीले यी आयोजनाको स्थलगत अध्ययन गरेको हो । एआइआइबीका के छ्वाङको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले यी आयोजनाको स्थलगत अध्ययन गरेको थियो । टोलीले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरासँग पनि भेट गरेको थियो । भेटमा बैंकका प्रतिनिधिले नेपालमा लगानीका लागि आफूहरू सकारात्मक रहेको जवाफ दिएका थिए ।

    नेपालमा लगानी गर्नुस् : अर्थमन्त्री

    बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्रीले नेपालमा पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता रहेको भन्दै लगानी गर्न आग्रह गरेका छन् । उनले नेपाल राजनीतिक स्थिरतातर्फ उन्मुख रहेको भन्दै आर्थिक कार्यसूचीलाई दलहरूले प्राथमिकतामा राखेको जानकारी गराएका छन् । उनले यातायात, जलविद्युत् उत्पादन तथा प्रसारण, खानेपानी, हवाई तथा सूचनाप्रविधिको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

    एआइआबी बोर्ड अफ गभर्नर्सको दोस्रो बैठकको अन्तिम सत्रमा कार्कीले नेपालमा पूर्वाधार विकासका लागि कुल गार्हस्थ उत्पादनको ९ देखि १० प्रतिशत लगानी गर्नुपर्ने आवश्यकता भए पनि अहिले ४ प्रतिशत मात्रै लगानी भइरहेको जानकारी गराए । उनले यो अन्तर कम गर्न एआइआबीलगायतका संस्थाले लगानी गर्नुपर्नेमा पनि जोड दिए ।

    स्रोत:नयाँपत्रीका