अघि बढ्यो मस्र्याङदी करिडोर प्रसारण लाइन निर्माण

    1387
    काठमाडौ । नेपाल विद्युत प्राधिकरणले मस्र्याङदी करिडोर विद्युत प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया अगाडि बढाएको छ । मस्र्याङदी तथा त्यसका सहायक नदीमा रहेका विभिन्न जलविद्युत आयोजनाको करिब १६ सय मेगावाट विद्युत प्रवाहका लागि मस्र्याङदी करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।
    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सव स्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्रतिबद्धता जनाइसकेका छन् ।
    उनले केही महिना अघि प्रसारण लाइन तथा त्यस भेगमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका थिए । घिसिङले मस्र्याङदी करिडोर प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेका छन् । मस्र्याङदी करिडोर अन्तर्गतको लमजुङको उदिपुर र चितवनको भरतपुरमा २२०÷१३२÷३३ केभी सबस्टेसन बनाउन ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रश्पिर्धामा रहेका कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङकन गरी सारभूतरुपमा प्रभावग्राही कम्पनीको आर्थिक प्रस्ताव खोलिसकिएको छ । अहिले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव मूल्याङकनको चरणमा रहेको आयोजनाले जनाएको छ ।
    प्राधिकरणले करिडोरको पहिलो खण्डमा पर्ने मनाङ (धारापानी)–खुदी–उदीपुर (लमजुङ) प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि ठेकेदार छनोटका लागि टेण्डर निकालेको छ ।
    प्राधिकरणले मनाङको धारापानी र लमजुङको खुदी तथा उदिपुरमा २२०÷१३२÷३३÷ केभीको सबस्टेसन निर्माण गर्ने छ । इच्छुक कम्पनीलाई आवेदन दिन १८ मंसिरसम्मको समयसीमा दिइएको आयोजनाले जनाएको छ । छनोट भएको कम्पनीले तीन वटा सबस्टेसन र धारापानी–उदिपुर करिव ४६ किलोमिटर प्रसारण लाइनको निर्माण गर्ने छ । उदिपुर–भरतपुर खण्डमा पर्ने करिव ६४ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोट गरी काम सुरु भइसकेको छ । युरोपेली लगानी बैकको सहुलियतपूर्ण ऋणमा  मस्र्याङदी करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।
    आयोजनाको अनुमानित लागत ९ करोड अमेरिकी डलर रहेको छ । यसको निर्माण आर्थिक वर्ष २०७८÷७९मा सक्ने लक्ष्य राखिएको छ । स्थानीयबासीले प्रसारण लाइनको रुट परिवर्तन गर्नु पर्ने माग राख्दै खुदी–उदीपुर खण्डमा पर्ने केही क्षेत्रमा बिरोध गरिरहेका छन् । उनीहरुको मागलाई सम्बोधन गर्न बार्ता भइरहेको आयोजनाले जनाएको छ ।
    यता दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन बनाउन ठेक्का सम्झौता गरी निर्माण सुरु भइसकेको छ । अब उदिपुरमा सबस्टेसन निर्माणका लागि ठेकेदार छनोटको अन्तिम चरणमा पुगेकाले दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत खेर नजाने अवस्था देखिएको छ ।उदीपुरमा सब स्टेसन र उदिपुर– मार्किचोक (तनहुँ) प्रसारण लाइन निर्माण भएमा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्न नसकी खेर जाँदैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनाको एक युनिट विद्युत पनि खेर जान नदिने प्रतिबद्धा जनाइसकेका छन् ।उक्त प्रसारण लाइनमा २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख लगायतका जलविद्युत आयोजनाको विद्युत जोडिने छ ।
    उदिपुर–मार्किचोक (तनहुँ)–भरतपुर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोट भइ काम सुरु भइसकेको छ । मार्किचोक र काठमाडौंको मातातीर्थमा सबस्टेसन निर्माण भइरहेको छ । मस्र्याङदी करिडोर प्रसारण लाइनबाट प्रवाहको भएको विद्युत मार्किचोकबाट मस्र्याङदी र काठमाडौं आउने छ । मार्किचोक–काठमाडौं २२० केभी प्रसारण लाइनको निर्माण धमाधम भइरहेको छ । प्रसारण लाइन तथा सबस्टेसनको निर्माण जुलाई २०१९भित्र सक्ने लक्ष्य राखिएको छ ।