रेजबोरिङबाट माथिल्लो तामाकोसीको पेनस्टक साफ्ट सुरुङ खन्ने काम सुरु

    2185

    rayjboring२९ बैशाख। माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा रेजबोरिङ मेसिनबाट पेनस्टक साफ्ट सुरुङ खन्ने सुरु भएको छ। तीन महिना तातोपानी भन्सारमा रोकिएको मेसिन आएपछि शुक्रबारबाट पेनस्टक सुरुङ निर्माण सुरु भएको हो ।

    रेजबोरिङ मेसिन भन्सारमा रोकिँदा माथिल्लो तामाकोसीको पेनस्टक सुरुङ निर्माणको काम ५ महिनादेखि रोकिएको थियो। पेनस्टक अडिट सुरुङ पूरा भएको लामो समय विते पनि मेसिन नहुँदा पेनस्टकको ठाडो सुरुङ निर्माणको काम रोकिएको हो । आयोजनाको तालिका अनुसार पेनस्टक सुरुङ निर्माणको काम दुई महिना अघि नै सुरु हुनु पर्ने थियो।

    पहिलो चरणमा २५ सेमीको ठाडो प्वाल बनाउने कार्य शुक्रबार विहानबाट सुरु भएकोमा आइतबार दिउँसोसम्म २० मिटर खनिसकेको छ । एक घण्टामा एक मिटर खन्नुपर्नेमा कामले गति लिइनसकेको आयोजनाका उप प्रबन्धक मोहनप्रसाद गौतमले बताए । एक महिनाभित्रमा पेनस्टक सुरुङको प्वाल खनिसकिने उनले बताए । सो ठाडो पेनस्टक लम्बाइ ३७२ मिटर छ ।

    अन्य सुरुङ निर्माण भन्दा पेनस्टकको ठाडो सुरुङ निर्माण गर्न कठिन हुने भएकाले त्यसका लागि रेजबोरिङ मेसिन प्रयोग गर्न लागिएको हो । चीनीया कम्पनी सिनो हाइड्रो कर्पोरेसनले मेसिन झिकाएको हो । उसले पछि फिर्ता लैजाने गरी चीनबाटै मेसिन ल्याएको हो ।

    मेसिनको बारेमा भन्सारसँग कुरा नमिलेपछि तातोपानी भन्सारमै रोकिएको थियो। फिर्ता हुने गरी ल्याएको मेसिनमा पनि भन्सारले अन्य सामान जस्तै मूल्याङ्कन गरेर भन्सार शुल्क मागेपछि मेसिन रोकिएको हो । लामो समयसम्म भन्सारमा मेसिन रोकिएर आयोजनाकै काम प्रभावित हुने भएको थियो । सिनोले भन्सार वापतको रकम बैंक ग्यारेन्टी बुझाएपछि मेसिन छुटेको हो । मेसिन फिर्ता हुँदा रकम फिर्ता हुने र अन्यथा रकम जफत हुने आयोजनाका सहायक प्रबन्धक विमल गुरुङले बताए । काम सकेर फिर्ता लैजाने मेसिन अर्थ मन्त्रालयको स्वीकृति लिएर शुन्य भन्सारमा ल्याउन पाउने व्यवस्था छ ।

    आयोजनाका सहायक प्रबन्धक विमल गुरुङका अनुसार ठाडो सुरुङ निर्माणलाई सहज रुपमा गर्नका लागि अहिले ल्याएको रेजबोरिङले पहिलो चरणमा २५ सेमीको पावरहाउससम्म ठाडो प्वाल पार्छ । दोस्रो चरणमा त्यसलाई डेढ मिटर ब्यासको बनाउँछ र तेस्रो चरणमा ४ दशमलव ४० मिटरको साफ्ट सुरुङ तयार गर्छ । आयोजनामा ३ सय ७२ मिटरको पेनस्टक साफ्ट र ४ सय ४० मिटरको सर्जसाफ्ट सुरुङ निर्माण गर्नुपर्छ । मेसिन भन्सारमा रोकिएर ढिला हुँदा एउटै मेसिनले दुवै साफ्ट सुरुङ निर्माण समय तालिका अनुसार पूरा गर्न कठिन हुने भएको छ । पेनस्टक सुरुङ पूरा भएपछि सर्जसाफ्टको काम सुरु हुने गुरुङले बताए । यस अघि कालिगण्डकीमा पनि यस्तै रेजबोरिङ मेसिनको प्रयोग भएको थियो ।

    आयोजनाका लागि ल्याएका सवारी साधन पनि ५ महिनादेखि कलकत्ता बन्दरगाहमा रोकिएका छन् । ती सामान समेत आयोजनाका लागि सिनो हाइड्रोले नै ल्याएको हो। आयोजनाका सहायक प्रबन्धक गुरुङले दुवै भन्सारबाट सामान छुटाउनका लागि आयोजनाले निरन्तर पहल जारी राखेको बताए ।

    स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको लागत ३५ अर्ब २९ करोड छ । सिभिलको काम २४ सैं घण्टा भइ रहेको छ । आयोजनाका लागि आवश्यक १६ किलोमिटर सुरुङ मध्ये हालसम्म ९ दशमलव ४ किलोमिटर पूरा भएको । आयोजनाको सिभिल निर्माणको काम ४६ प्रतिशतभन्दा बढी पूरा भएको छ ।